कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

रुस–युक्रेन युद्ध झन् चर्किंदै

जेष्ठ ३०, २०८०
रुस–युक्रेन युद्ध झन् चर्किंदै

Highlights

  • दोनेत्स्क क्षेत्रका चार गाउँ पुनः नियन्त्रणमा लिएको युक्रेनको दाबी, हतियार र युद्ध रणनीतिमा पुनर्विचार गर्दै रुस

किभ — एक साताअघि दक्षिण युक्रेनस्थित रुस नियन्त्रित खेरसोन क्षेत्रमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएपछि दुई देशबीचको युद्ध झनै चर्किएको छ । निप्रो नदीमा रहेको उक्त विशाल बाँध भत्किँदा हजारौं स्थानीय प्रभावित भएका थिए । तर, हालसम्म पनि बाँध भत्किनुमा दुवै देशले एक अर्कालाई दोष दिँदै आएका छन् । 

बाँध भत्किएको घटनापछि युक्रेनले रुसविरुद्ध जवाफी आक्रमण सुरु गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाविरुद्ध जवाफी कारबाही गरिरहेकोबारे बताए पनि कहाँ के गरिरहेको जनाएका छैनन् । सोमबार युक्रेनले जवाफी आक्रमणपछि दोनेत्स्क क्षेत्रका केही गाउँ पुनः हासिल गरेको दाबी गरेको छ । ती गाउँ युक्रेनको दक्षिण–पूर्वी इलाकामा पर्छ । यद्यपि, रुसले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

युक्रेनी सेनाका प्रवक्ता भ्यालेरी सेरसनले जापोरिज्जिया क्षेत्रमा रुसी सेनाले अर्को एउटा बाँधमा विस्फोट गरेको पनि दाबी गरेका छन् । विस्फोटपछि त्यस क्षेत्रको मोक्री नदीमा बाढी आएको पनि उनले बताए । युक्रेनी सेनालाई अघि बढ्न नदिन रुसले बाँधमा विस्फोट गराएको युक्रेनको आरोप छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनले

जवाफी आक्रमण सुरु गरेको स्विकारेका छन् । टेलिग्राममा शुक्रबार प्रसारित अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

युक्रेनी सेना पूर्वी क्षेत्रका बाख्मुत सहरनजिक अघि बढिरहेको छ । लामो दूरीसम्म मार हान्न सक्ने मिसाइल र तोपबाट उसले रुसका महत्त्वपूर्ण हतियार र सामानलाई नोक्सान पुर्‍याइरहेको छ । बेलायती रक्षा मन्त्रालयले युक्रेनले पछिल्लो ४८ घण्टामा धेरै पूर्वी र दक्षिणी भागहरूमा महत्त्वपूर्ण कारबाहीहरू सञ्चालन गरेको पनि जनाएको छ । युक्रेनले जवाफी कारबाहीका लागि पश्चिमबाट प्रशिक्षित र हतियारबाट सुसज्जित हजारौं सेनाहरू प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

जवाफी आक्रमणमा समय पनि अर्को ‘फ्याक्टर’ हो । युक्रेनी सेना वर्षात्को मौसम आउनुअघिसम्म मात्र जमिनबाट अगाडि बढ्न सक्छ । वर्षातको मौसम आउन अब करिब पाँच महिना मात्र बाँकी छ । वर्षाका कारण जमिन दलदल हुँदा युद्ध वाहनहरू अघि बढ्न सक्दैनन् । यदि यसबीचमा युक्रेनी सेना रुसी रेखा पार गरेर अजोभ समुद्र नजिक पुग्छन् भने पश्चिमतर्फ रुसी सेना कमजोर हुनेछन् । उनीहरू क्राइमियाबाट पुग्ने खाद्यान्नमा मात्र निर्भर हुने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यतिबेला युक्रेनले रुस र क्राइमिया जोड्ने पुल तथा समुद्री जहाजमा आक्रमण गरेमा सफलता हासिल गर्न सक्ने विश्लेषण गरिएको छ ।

विश्लेषकहरूले १५ महिनायताको युद्धमा रुस पनि आफ्नै गल्तीका कारण रक्षात्मक अवस्थामा आइपुगेको जनाएका छन् । त्यसैले रुसले पनि आफ्नो हतियार र युद्ध रणनीतिमा पुनर्विचार थालेको छ, जसका कारण युक्रेनलाई कुनै पनि क्षेत्रमा ठूलो जित हासिल गर्न कठिन हुनेछ । पश्चिमा देशका सञ्चारमाध्यमले भने रुसी सेनाको मनोबल खस्किँदै गएको दाबी गरेको छ । रुसी सेनाका इकाइहरूबीच समन्वयको कमी देखिएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनको हवाई आक्रमण विफल बनाउन उनीहरू असफल हुँदै आएको दाबी गरिएको छ ।

बेलायतलगायत पश्चिमा देशहरूको हतियार सहयोगपछि युक्रेनको जवाफी आक्रमण झन् बलियो बनेको हो । गत महिना बेलायतले २५० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइल युक्रेनलाई सहयोग गरेको थियो । यस्तै, नेटोको मापदण्डअनुसार युद्ध ट्यांक र ड्रोन पनि युक्रेनलाई दिएको थियो । यस्तै, जर्मनी र अमेरिकाले पनि युक्रेनलाई हतियार दिँदै आएको छ ।

यसबीचमा युक्रेनसँगको लडाइँमा सहभागी निजी सैन्य समूह ‘वाग्नर’ लाई प्रत्यक्ष नियन्त्रणमा लिने तयारी रुसले गरेको छ । रुसको रक्षा मन्त्रालयले उक्त समूहसँग प्रत्यक्ष सम्झौता गर्न लागेको हो । तर वाग्नर समूहका प्रमुख येभ्जेनी प्रिगोजिनले उनको सैन्य समूहले कुनै सम्झौता नगर्ने जनाएका छन् । रुसी पक्षबाट युद्ध लडिएको यो समूहले प्रमुख भूमिका निर्वाह गरिरहेको छ । युक्रेनमा लडिएको रुसको सैन्य इकाइहरूलाई अझ प्रभावकारी बनाउनका लागि सम्झौता गर्न खोजिएको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३०, २०८० ०८:४४
x
×