कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रामपुरमा खुला फुटबल प्रतियोगिताको तयारी तीव्र

आश्विन १, २०८१
रामपुरमा खुला फुटबल प्रतियोगिताको तयारी तीव्र

पाल्पा — पाल्पाको रामपुरस्थित ज्योति पुञ्ज युवा क्लबले खुला फुटबल प्रतियोगिताको तयारी तीव्र पारेको छ । प्रतियोगिता कात्तिक ४ देखि १० गतेसम्म सञ्चालन हुनेछ । 

रामपुर नगरपालिका–७ किसानबारीस्थित युवा क्लबको खेलमैदानमा हुने ‘दोस्रो ज्योति पुञ्ज कप’ फुटबल प्रतियोगताका लागि सरोकारवालासँग सुझाव संकलन, प्रशासनिक तयारी र खेलमैदान सरसफाइलगायत कामलाई अघि बढाइएको क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिएका छन् । प्रतियोगिता सञ्चालन गर्ने तयारीका लागि स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, क्लबका सल्लाहकारलगायत सरोकारवालासँग सुझाव संकलन गरेको उनले बताए ।


पाल्पा, स्याङ्जा, रुपन्देही, नवलपरासी, तनहुँ, चितवन लगायतका जिल्लाबाट उत्कृष्ट १० फुटबल क्लबले प्रतियोगितामा भाग लिने आयोजकले जनाएका छन् । विजेताले ३ लाख ३ हजार ३ सय ३३ र उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ नगद, ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् ।

उत्कृष्ट मूल्यवान खेलाडीले १५ हजार ५ सय ५५, अधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षकले ७ हजार ७ सय ७७ नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा २५ लाखभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताका लागि रामपुर नगरपालिका, रामपुर उद्योग वाणिज्य संघ, नगर खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिलगायत देश तथा विदेशबाट सहयोग प्राप्त भएको छ । लुम्बिनी प्रदेश उद्योग अर्थ तथा पर्यटन समितिका सभापति एवं प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले रामपुर नगरको खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खेलकुदका गतिविधि बढाउन आफूले सक्दो सहयोग गर्दै आएको बताए ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले नगरभित्र हुने प्रतियोगिताले खेलकुद क्षेत्रमा मात्र नभई पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : आश्विन १, २०८१ १६:३५
x
×