कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

लिभरपुललाई ब्युँतिने अवसर

आश्विन १, २०८१
लिभरपुललाई ब्युँतिने अवसर

लन्डन — च्याम्पियन्स लिग फुटबलको यात्रा सुरु गर्नेक्रममा रहेको लिभरपुलका कप्तान भर्जिल भान डाइकले सप्ताहन्तमा नोटिङ्घम फरेस्टविरुद्ध प्रिमियर लिगमा पाएको ‘स्वीकार्न नसकिने’ पराजय बिर्सिएर अगाडि बढ्नुपर्ने जनाएका छन् । फरेस्टविरुद्ध १–० को स्तब्धपूर्ण हार बेहोरेको लिभरपुलले मंगलबार एसी मिलानविरुद्ध खेल्दै छ ।

आर्ने स्लटको लिभरपुलका व्यवस्थापक रूपमा च्याम्पियन्स लिगमा यो पहिलो खेल हुनेछ । यसै पनि यस सिजनदेखि च्याम्पियन्स लिग नयाँ सिजनमा हुन लागेको छ । प्रिमियर लिगको सिजनको पहिलो तीन खेलमा कुनै गोल नखर्ची स्लटले लिभरपुलको यात्रा सुरु गरेका थिए । तर चौथो खेलमा शनिबार फरेस्टले यस्तो प्रहार गरेको थियो, जसले लिभरपुललाई घच्घचाइदिएको थियो ।

भान डाइक मिलानविरुद्ध खेलमा लय मिलाउन फरेस्टविरुद्धको हार इन्धनको रूपमा भएको जनाउछन् । ‘हाम्रो राम्रो समूह छ, जसले यो सजिलै बुझ्छ फरेस्टविरुद्धको हार स्वीकार्न त्यति सजिलो छैन,’ डच सेन्टरब्याक भान डाइकले भने, ‘हामी सबैलाई थाहा छ, हामी त्यो भन्दा राम्रो गर्दै मिलानविरुद्धको खेलमा देखाउन सक्छौं । हामी त्यसैका लागि केन्द्रित छौं ।’

उनले अगाडि भने, ‘हामी यस्तो हार र कठिन स्थितिबाट सँगै अगाडि बढ्नुपर्छ र मलाई लाग्छ यस्तो बेलामा शान्त पनि रहनुपर्छ, हामी शान्त पनि रहने छौं । यदि त्यहाँ खेलाडीको चोटको कुनै विषय छैन भने लय त त्यसै मिलिहाल्छ । हाम्रो पूरा टोली फिट रहनुपर्छ । इन्टरनेसनल ब्रेकपछि ३ दिनमात्र समय हुन्छ अर्को खेलका लागि, त्यसैले यस्तो बेलामा सबै खेलाडी उत्कृष्ट लय र फर्ममा हुनुपर्छ ।’

इप्सविच, ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा प्रभावशाली देखिएको लिभरपुलले कुनै गोल पनि खर्चिएको थिएन । तर फरेस्टका फरवार्ड कालुम हडसन ओडोइले भान डाइकको नेतृत्वमा रहेको लिभरपुलको रक्षापंक्ति भत्काइदिएको थियो । लगातार परिश्रम र मिहिनेत गर्ने हो भने सही दिशामा पुग्न समय नलाग्ने भान डाइक बताउँछन् ।

गत सिजनको प्रिमियर लिगमा शीर्ष चारमा पर्न नसकेपछि लिभरपुलले च्याम्पियन्स लिग खेल्न पाएको थिएन । अहिले लिभरपुल च्याम्पियन्स लिगमा फर्किएको छ । भान डाइक च्याम्पियन्स लिगका खेलमा फर्किन आफू आतुर रहेको जनाउँछन् ।

यता एसी मिलान अल्जेरियाका मिडफिल्डर इस्माइक बेनासेरविनै खेल्ने छन् । पिँडुलामा लागेको चोटका कारण उनी चार महिना खेल्न नसक्ने भएको मिलानले जनाएको छ । अल्जेरियाको प्रशिक्षणका क्रममा उनलाई चोट लागेको थियो ।

प्रकाशित : आश्विन १, २०८१ ०६:३२
x
×