कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

एरिकासहित ११ खेलाडीले एसियाली कराते खेल्ने

आश्विन १, २०८१
एरिकासहित ११ खेलाडीले एसियाली कराते खेल्ने

Highlights

  • एसियाडमा रजत जितेको स्थानमा सिनियर कराते च्याम्पियनसिप खेल्दै नेपाल

काठमाडौँ — चीनको हाङचाउस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा हुने २० औं संस्करणको एसियाली सिनियर कराते च्याम्पियनसिप हुने भएको छ । 

सोही स्थानमा गत वर्ष १९ औं एसियाली खेलकुद भएको थियो । त्यसमा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् । सेप्टेम्बर २० देखि २२ सम्म हुने च्याम्पियनसिपमा एरिकासहित नेपालका ११ खेलाडीले भाग लिने छन् । त्यसका लागि १८ सदस्यीय नेपाली कराते टोली मंगलबार त्यसतर्फ जानेछ ।

एरिकाले एसियाडको महिला ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले भाग लिनेछन् । एसिलाले एकल कातामा प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । सबै खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले पनि १९ औं एसियाली खेलकुद खेलेका थिए ।

टोलीको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ तथा प्रशिक्षकमा सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन् । १९ औं एसियाडमा प्रशिक्षकको भूमिका निभाएका कुशलले एसियाली सिनियर करातेमा सहभागिता जनाएका छन् ।

व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह र सदस्य रवि महर्जन छन् । एसियाली सिनियर करातेमा नेपाल पदकविहीन छ । प्रतियोगिताअघि हाङचाउमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कंग्रेसमा भाग लिन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि जाने छन् । प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सोमबार बिदाइ गरे ।

सदस्य–सचिव घिसिङले व्यवस्थित तयारीका साथ कराते टोलीले प्रतियोगिता खेल्न लागेकाले खेलाडीलाई उच्च प्रदर्शन गर्न सुझाए । उनले यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित रणनीतिक तयारीका लागि राष्ट्रिय टिम तयारीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एरिकाले एसियन च्याम्पियनसिप खेल्न पाउनु ठूलो अवसर भएको बताउँदै विश्व च्याम्पियनहरूले खेल्ने भएकाले हामी सबै खेलाडीका लागि अनुभव बटुल्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म भएको बताइन् । एरिकाले तयारी राम्रो भएकाले सबैजना उत्साहित रहेको बताइन् ।

प्रकाशित : आश्विन १, २०८१ ०६:३३
x
×