कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : रोहित र एरिका वर्षका उत्कृष्ट खेलाडी

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : रोहित र एरिका वर्षका उत्कृष्ट खेलाडी

Highlights

  • क्रिकेटका विनयराज पाण्डेलाई ‘लाइफ टाइम एचिभमेन्ट’ र भलिबलका कुमार राईलाई ‘स्पेसल अवार्ड’

काठमाडौँ — एरिका गुरुङ कराँतेका उम्दा खेलाडी त हुन नै, उनका एउटा अर्को ठूलो विशेषता पनि छ । त्यो हो, मीठो बोली । वर्ष २०८० मा उनले त्यस्तो उपलब्धि चुमेकी थिइन्, जसलाई नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलोमध्ये एक हो भनेर मज्जाले मान्न सकिन्छ । 

एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तोमा वर्ष ०८० मा महिलातर्फ उनी वर्ष खेलाडी नभएको को हुने थियो त ? यो त ‘ओपन सेक्रेट’ जस्तै थियो ।

नभन्दै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एरिका नै महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । अनि उत्तिकै मीठो भाषामा भनिन्, ‘यो अवार्डले सपना देख्नलाई प्रोत्साहन गर्नेछ ।’ भएको के थियो भन्दा त्यो एसियाली खेलकुदमा रजत पदक जित्न अगाडिसम्म उनी खासै धेरै सुनिएको नाम थिएन् । तर उनले एउटा ठूलो सपना भने त्यही बेला बुनेकी थिइन्, कराँतेबाट ठूलो उपलब्धि आत्मसात् गर्ने । उनले एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगितामा रजत नै जितिन् ।


त्यसैले उनले बारम्बार भन्ने गरेकी थिइन्, केही ठूला प्राप्त गर्न सपना देख्नुपर्छ । यसका लागि मिहिनेत पनि गर्नुपर्छ । फल एक दिन त एक दिन पाइन्छ नै । शुक्रबार आयोजित अवार्ड कार्यक्रममा उनले जसरी आफूलाई प्रस्तुत गरिन्, त्यो गज्जब थियो, आत्मविश्वासले पूरापूर भरिएको थियो । उनको थप भनाइ थियो, ‘रजत जित्नु त ठूलो उपलब्धि भयो नै । जति बेला मेरो अगाडि धेरै चुनौती थिए, त्यति बेला सहयोग गर्ने सबैलाई पनि धन्यवाद ।’

उत्कृष्ट पुरुष खेलाडीको अवार्ड भने नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलको नाममा रह्यो । उनी अहिले क्यानाडामा विश्वकप लिग २ का खेल खेल्ने क्रममा छन्, त्यसैले आफैं उपस्थित हुन सकेनन् । उनको प्रतिनिधित्व गर्दै उनकी आमा र दाजु आएका थिए । रोहितले यो अवार्ड पाउनु पनि उत्तिकै स्वाभाविक थियो । वर्ष ०८० मा उनको नेतृत्वमा रहेको नेपालले विश्व क्रिकेटमा एउटा ठूलै सफलताको कथा बुनेको थियो र यो थियो, ट्वान्टी/ट्वान्टी विश्वकपमा छनोट ।


नेपालले दस वर्षको लामो अन्तरालपछि ट्वान्टी/ट्वान्टी विश्वकपमा आफ्नो स्थान निश्चित गरेको थियो । अनि उनकै कप्तानमा नेपाल वर्ष ०८० मा एसीसी प्रिमियर कपको च्याम्पियन पनि भएको थियो । उनले नेतृत्व पाउन अगाडि नेपाली क्रिकेटले एक प्रकारले उल्टो बाटो तय गरिरहेको थियो । तर उनको नेतृत्वमा नेपाली टिमले यस्तो बाटो तय गर्‍यो, जसले अन्ततः सुल्टो दिशा दियो । त्यसैले त उनी निर्विवाद वर्षका खेलाडी भए ।

भाग्यमानी कुशल

एसियाली खेलकुदमा एरिकाले जितेको रजत पदकका एक नायक हुन्, उनका प्रशिक्षक कुशल श्रेष्ठ । खेलाडी छँदा उनी आफैंमा कराँतेका उत्कृष्ट थिए । उनले दुईपल्ट दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिते । तर उनले कहिल्यै यो अवार्ड जित्न सकेनन् । भाग्यले उनलाई कतिसम्म साथ दिएको थिएन भने मनोनयनमा समेत परेनन् । तर वर्ष ०८० मा भने उनलाई भाग्यले पूरा साथ दिएको थियो । त्यसैले उनको प्रशिक्षणमा एरिकाले ऐतिहासिक सफलता चुमिन् ।


त्यसकै परिणाम हो, कुशल वर्ष ०८० का उत्कृष्ट प्रशिक्षक भए । त्यसैले जति बेला अवार्ड विजेताका रूपमा उनको नाम घोषित गरियो, उनी भावुक भए । उनको सुरुआती प्रतिक्रिया थियो, ‘स्पिच लेस’ । अर्थात् उनीसँग बोल्न शब्दै नै थिएन । तर जति बेला उनले सम्हालेर बोल्ने प्रयास गरे, लामै बोले । खासमा उनले पनि आफूले खेल्दा यो अवार्ड जित्न नसकेको तथ्य भुलेका थिएनन् । तर अब उनलाई यो तथ्यले बिझ्ने छैन । अन्ततः यो अवार्डमा उनको नाम लेखिएको छ ।

तर उनी यसपल्ट यो अवार्डका लागि पूर्णतः हकदार थिए नै । क्रिकेटका मोन्टी देसाईले उनलाई बलियो चुनौती दिएका थिए नै । तर कुशलले नेपालको मूलधारको खेलकुदमा जुन एसियाली रजत पदकको सफलता दिलाउन मद्दत गरेका छन्, त्यसको तुलना हुन्न । त्यसैले धेरै अर्थमा उनी पनि स्वाभाविक विजेता रहे । अवार्ड पाएपछि उनी राहत महसुस गरिरहेका थिए । त्यसैले उनले भने, ‘म खुसी छु । अवार्डसँग म अन्ततः जोडिएँ पनि ।’

कविताको कमाल

वर्ष ०६४ देखि दिन सुरु भएको हो, पिपुल्स च्वाइस अवार्ड । सुरुमा यसको नाम लोकप्रिय खेलाडीको थियो । पछि यसले नयाँ नाम पायो । यो यस्तो विधा हो, जसमा भलिबलको वर्चस्व रहँदै आएको थियो । भलिबलका मञ्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तण्डुकार, सरस्वती चौधरी, रेश्मा भण्डारी, अरुणा शाही र उषा भण्डारीपछि अब यो अवार्ड जित्ने खेलाडीमा थपिएको नाम हो, कविता भट्ट । वर्ष ०८० को यो अवार्ड जित्दै उनले प्रमाणित गरिन्, भलिबल आफैंमा असाध्यै लोकप्रिय छ ।

विशेषतः महिला भलिबल । अवार्ड जितेपछि कविताले नामअनुसारको छन्द भने मिलाउन सकिनन्, हडबडाएर बोलिन् । किनभने उनी असाध्यै आत्तिएकी थिइन् । तर यसमा अपार खुसी र उमंग लुकेको थियो । सायद उनी धेरै हदसम्म आफूले नै अवार्ड जित्नेमा आत्मविश्वासी पनि थिइन् । त्यसैले उनले आफ्नो ‘विनिङ स्पिच’ पहिले नै तयार पारिसकेकी थिइन् । कार्यक्रमपछि उनको मुखभरि हाँसो थियो र थप प्रतिक्रिया दिइन्, ‘म त साँच्चै धेरै आत्तिएँ ।’

फेरि पलेसा

पारा उत्कृष्ट खेलाडीको अवार्ड फेरि एकपल्ट पलेसा गोवर्धनकै नाममा रह्यो । उनले पनि हाङचाउ पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् । त्यसैले उनी पनि उत्तिकै स्वाभाविक विजेता बने । एरिका जत्तिकै मीठो बोल्नेमा पर्छिन्, पलेसा । उनले एकपल्ट फेरि

आफ्नो खेल यात्रामा सहयोग गर्ने जत्तिलाई धन्यवाद दिइन् । युवा उत्कृष्ट खेलाडी भने भारोत्तोलनका हेमन्त पाल भए, उनले वर्षमा ०८० मा २९ वर्षयता नेपाललाई पहिलो पटक एसियाली स्तरको पदक दिलाएका थिए ।

पाण्डे र राईको योगदानको कदर

यसपल्टको अवार्ड कार्यक्रममा त्यस्ता दुई नामलाई पनि सम्झिएको थियो, जसलाई नेपाली खेलकुदको लिजेन्ड भन्दा हुन्छ । ती थिए, क्रिकेटका विनयराज पाण्डे र भलिबलका कुमार राई । पाण्डेलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड दिइएको थियो भने राईलाई ‘स्पेसल अवार्ड’ । नेपाली क्रिकेट अहिले जुन स्थितिमा पुगेको छ, धेरैलाई लाग्दो हो, यो यात्रा कतै छोटो त छैन ? यो एकाएक प्राप्त भएको सफलताको कथा त होइन ? तर होइन ।


नेपाली क्रिकेटलाई सुरुआती दिनदेखि यहाँसम्म दोहोर्‍याएर ल्याउनेमा एक हुन्, पाण्डे । नेपाल क्रिकेट संघका सुरुआती समयका महासचिव हुन्, उनी । उनले लामै समय नेपाली क्रिकेटको नेतृत्व सम्हाले । जुन बेला नेपाली क्रिकेटमा केही थिएन्, ख्याति र पैसा दुवै, त्यही बेला पाण्डेले नेपाली क्रिकेटलाई हाँके र अहिलेको स्थितिमा पुर्‍याउन मद्दत गरे । अहिले नेपाली क्रिकेट जुन जगमा उभिएको छ, त्यो जगका लागि आधार बनाउने काम गर्नेमा पर्छन्, पाण्डे ।


अनि केहीलाई लाग्दो हो, नेपाली महिला भलिबल एकाएक अहिलेको स्थितिमा पुगेको हो । सायद नेपाली महिला भलिबल टिम बनेको पनि अहिले नै हो । यो पनि होइन । नेपाली महिला भलिबललाई यहाँसम्म पुर्‍याउने असाध्यै धेरै ठूला भूमिका खेल्नेमा पर्छन्, राई । अहिले नेपाली महिला भलिबलमा जति नाम सुनिन्छ, त्यसमध्ये धेरैको खेलाडीका रूपमा उत्पादन गर्ने काम तिनै राईले गरे । यसका लागि उनले के मात्र गरेनन्, आफ्नै धन खर्चे, समय खर्चे । तर जस लिन भने विरलै मात्र अगाडि आए ।

प्रकाशित : भाद्र २९, २०८१ ०५:५९
×