कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मधेशमा बल्ल खेलकुद विधेयक पास

भाद्र २८, २०८१
मधेशमा बल्ल खेलकुद विधेयक पास

जनकपुर — मधेश प्रदेश सरकारले ल्याएको खेलकुद विधेयक प्रदेशसभाको बैठकबाट सर्वसम्मतले पास भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले खेलकुद विधेयकलाई पास गरेको हो । लामो प्रतिक्षापछि खेलकुद विधेयक पास भएपछि मधेश प्रदेशका ८ वटै जिल्लामा खेलाडीहरुले मैनबत्ती बालेर उत्सव मनाएका छन् । 

खेदकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले खेलकुद विधेयक पास भएपछि खेलाडीमा आशा जगाउने काम गरेको बताए । उनले मधेशका खेलाडीहरु निराश रहेकाले र खेलकुद गतिविधिमा कमी आएका बेला विधेयक पास हुनुले आशा जगाउने काम गरेको बताए । ‘विधेयक ल्याउन हामीले निकै मिहिनेत गर्‍यौं,’ मन्त्री जयसवालले भने,‘अरु सबै प्रदेशमा खेलकुद विधेयक आएर कार्यान्वयनसमेत भइसकेको छ । तर, हाम्रो विधेयक संसदीय समितिमा अड्किएको थियो । बल्ल पास भएको छ ।’

विधेयक पास भएपछि मधेश प्रदेश सरकारले आफ्नै मधेश खेलकुद परिषद् गठन गर्नेछ । त्यस्तै, ८ वटै जिल्ला र स्थानीय तहमा पनि खेलकुद विकास समिति गठन गरिने मन्त्री जयसवालले जानकारी दिए । उनले परिषद् र खेलकुद समितिमा खेलाडीहरुकै प्रतिनिधित्व गराइने प्रतिबद्धता जनाए । ‘खेलकुद विधेयक पास भएपछि मधेशमा खेलकुदको सम्भावनाको ढोका खुलेको छ,’ उनले भने,‘खेलकुदको माध्यमबाट पनि प्रदेशको गरिमा र गौरव बढाउन सकिन्छ । मधेशमा त केही खेल हाम्रो संस्कृति र पहिचानसंग जोडिएको छ ।’

खेलकुदमन्त्री जयसवालले पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रतिभा पहिचान र प्रोत्साहनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउँदै मधेश प्रदेशका वीरगन्जमा रहेको नारायणी रंगशाला, राजविराजको राज रंगशाला र जनकपुरमा प्रस्तावित रहेको रामजानकी बहुउद्देश्यीय रंगशालाको मर्मतसम्भार र निर्माणका लागि प्रदेश सरकारले पहल गरिरहेको बताए । उनले मधेशमा रहेका खेलाडीहरुको संख्या, कुन खेलसँग कुन खेलाडी सम्बद्ध रहेको विवरण संकलन भइरहेको बताए ।

मधेशको खेलकुद मन्त्रालयले मधेशमा रहेका खेलस्थलको विवरण पनि संकलन गरिरहेको छ । खेलाडीहरुको सम्मान, खेलाडी बिमाका कार्यक्रम ल्याउन लागिएको मन्त्री जयसवालले जानकारी दिए ।

प्रकाशित : भाद्र २८, २०८१ २२:४६
×