कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

महिला लिग फुटबल : तीज बिर्सेर युरोपको सपना बुन्दै

भाद्र २२, २०८१
महिला लिग फुटबल : तीज बिर्सेर युरोपको सपना बुन्दै

Highlights

  • सुदूरपश्चिम प्रदेशविरुद्ध दीपा न्यौपाने र कप्तान निरु थापाको ह्याट्रिक
  • संकटा ०–० चन्द्रपुर, पुलिस ९–० सुदूरपश्चिम

काठमाडौँ — एन्फा महिला लिग फुटबलमा शुक्रबार दुई फरक खाले खेल भए । जहाँ पहिलो खेलमा कुनै गोल भएन । अर्को खेलमा गोलको वर्षा भयो । त्यसो त महिलाको महान पर्व तीजकै दिन खेल आयोजना गरिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आलोचना नभएको पनि होइन ।

तर दिनको पहिलो खेलपछि खेलाडीले दिएका प्रतिक्रिया दिँदा लाग्थ्यो, खेलकर्मीलाई कहिलेकाहीं चाडपर्वभन्दा आफ्नो खेल नै महत्त्वपूर्ण हुँदोरहेछ र तिनको ध्यान पूर्णतः यसमै केन्द्रित हुने रहेछ ।

संकटा क्लब र चन्द्रपुरबीच भएको दिनको पहिलो खेल धेरै अर्थमा निरस रह्यो । दुवै टिमले आक्रमण नै बुन्न सकेनभन्दा हुन्छ । पूरा ९० मिनेटको खेलमा । तर, खेलपछि तिनै खेलाडीको कुरा सुन्दा लाग्छ, खेलमात्र हुनुपर्छ, यस्ता सकारात्मक भाव त्यसै आउने गर्छ । खासमा यो भाव रह्यो, तीज पनि बिर्सेर बुन्न सुरु भएको सपना रह्यो । यो खेलको प्लेयर अफ द म्याच रहिन्, ममता पुन । मिडियासामु प्रस्तुत हुने क्रममा उनले भनिन्, ‘आज तीज छ भनेर यादै भएन । हामी खेलमै केन्द्रित भयौं ।’

अझ उनको सपना रहेछ, युरोपतिर खेल्ने । दुई दिदी खेलाडीमध्ये सावित्रा भण्डारीले युरोपमा खेलिसकेको र एन्जिला सुब्बाले त्यहीं खेल्नेक्रममा रहेको सुनेकी ममता त्यसबाट उत्साही र प्रेरित रहेछन् । त्यसैले भनिन्, ‘मेरो पनि सपना युरोपमै खेल्ने हो ।’ अब नेपाली महिला फुटबलले ममता र उनीजस्ता धेरै खेलाडीलाई सिकाउनुपर्नेछ, कसरी परिपक्व बनाउने र आफ्नो सपना साकार पार्न मिहिनेत गर्ने भनेर । संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारलाई पनि लाग्छ, आफ्ना खेलाडीले धेरै सिक्न बाँकी छ ।

उनले खेलको विश्लेषण गर्दै भने, ‘हामीले त आफ्ना खेलाडीलाई आफ्नो भूमिकाअनुसार मात्र खेल्नु भनेका छौं ।’ चन्द्रपुरको यो लगातार दोस्रो बराबरी हो र टोलीको २ अंक भएको छ । संकटाले पनि एक अंकसहित खाता खोलेको छ । चन्द्रपुरका सहायक प्रशिक्षक भोजराज घिमिरेले आफ्ना खेलाडीले योजनाअनुसार खेल्न नसकेको प्रतिक्रिया दिए । उनकै छेउ रहेर मिडियासामु प्रस्तुत भएकी सलोनी रानामगर त आत्तिएर बोल्नै सकिनन् । तर, उनको अनुहारमा पनि फुटबलले साँच्न दिएका सपना धेरै थिए ।

दीपा र निरुको ह्याट्रिक

घरेलु महिला फुटबलमा विभागीय टिमले खेल्दा एउटा डर हुन्छ, जुन प्रतियोगिताको नवौं खेलमा आइपुग्दा देखियो । त्यो भनेको विभागीय टिमको ठुल्ठूलो जित । तिनका सामु अन्य प्रतिद्वन्द्वी निरीह साबित हुनु । पुलिसले सुदूरपश्चिममाथि हात पारेको जितको विशेषता यस्तै रह्यो ।

त्यसमाथि सुदूरपश्चिमले टिम निर्माण गर्दा सिर्जित भएको थियो आन्तरिक कलह । यो यस्तो खेल रह्यो, जसलाई हेर्दा न मज्जा आउँछ, न त रोमाञ्चकता नै हुन्छ ।

पुलिस क्लबको दृष्टिकोणले हेर्दा भने यो यस्तो नतिजा रह्यो, जसले उपाधि होडमा गोल अन्तरको गणना हुँदा फाइदा हुनेछ । सुरुदेखि पुलिसले लगातार आक्रमणको शृंखला बुनेको थियो र यो अन्त्यसम्म कायम रह्यो । त्यसमा दीपा न्यौपाने र कप्तान निरु थापाको ह्याट्रिक पनि समावेश रह्यो । निरुले नवौं मिनेटमा गोलको खाता खोलेपछि ६९ र ७८ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन् । दीपाले आफ्नो पहिलो गोल ३१ औं मिनेटमा गरेकी थिइन् ।

त्यसपछि उनले ४६ र ६० औं मिनेटमा गोल थपिन् र तीन गोलको उपलब्धि चुमिन् । त्यसबाहेक पूजा रानाले ३० औं मिनेटमा गोल गरिन् भने घिमकुमारी गुरुङले ७६ र अनुष्का शेर्पाले दोस्रो हाफको इन्ज्युरी समयको

पहिलो मिनेटमा एक–एक गोल थपे । यो जितले प्रशिक्षक भोलानाथ सिलवाललाई धेरै राहत भने दिलाउने छ । पुलिसको पहिलो खेलमा गोल नहुँदा उनको अनुहारमा हल्का चिन्ता देखिएको थियो, त्यो अब कम हुनेछ ।

पुलिसले यसै खेलका क्रममा केही परीक्षण पनि गर्न पाए, विशेषतः नयाँ र बेन्चका खेलाडीलाई अवसर दिएर । पुलिसको दुई खेलबाट ४ अंक भएको छ भने सुदूरपश्चिम लगातार दोस्रो हार बेहोर्दै शून्यमा रह्यो । सुदूरपश्चिमले २ खेलमै १४ गोल खाइसकेको छ । यो टिमका लागि दुःख र पीडा दुवैसम्मिलित नतिजा रहेको छ ।

अबको दिनमा यसले खेलाडीलाई मानसिक रूपमा अझ कमजोर बनाउन सक्नेछ । टिमको प्रदर्शन अझ खस्कने डर हुनेछ ।

प्रकाशित : भाद्र २२, २०८१ ०५:२६
x
×