कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

मिडफिल्डमा जमेकी फुटबलर प्रीति

भाद्र २२, २०८१
मिडफिल्डमा जमेकी फुटबलर प्रीति

काठमाडौँ — पछिल्लो समय नेपाली महिला फुटबल टिमको ‘अनुहार’ बनेकी छन्, प्रीति राई । यो टिमबारे चर्चा सुरु मात्र गर्नुपर्छ, मनमा आउने खेलाडीको अनुहार भनेको प्रीतिको नै हो । उचाइ धेरै छैन । त्यत्तिकै दुब्ली छिन् ।

तर, मैदानको मिडफिल्डमा उनको प्रस्तुति भने त्यो शरीरले दिने भावभन्दा धेरै फरक छ । जुझारु खेलाडी हुन् उनी । जस्तै परिस्थितिमा पनि जुधेर खेल्न सक्छिन् । फेरि मिडफिल्डमा उनको प्रदर्शन आफैंमा दर्शनीय हुने गर्छ । उनको खुट्टामा बल पर्‍यो कि हेरिरहुँ जस्तो कलात्मक ।

साउदी अरेबियामा भएको वाफ वुमेन्स च्याम्पियनसिप फुटबल २०२४ को सनसनी कसले मात्र बिर्सन सक्छ र ? नेपाली टोली उपाधिको निकै नजिक पुगेको थियो । तर, त्यसलाई हत्याउन सकेन । फाइनलमा नेपाल टाइब्रेकरमा जोर्डनसँग पराजित भएको थियो । नेपाल फेरि एकपल्ट उप–विजेतामै सीमित हुनुपरेको थियो । जसरी नेपाली टिमले पूरा प्रतियोगिता खेलेको थियो, त्यसलाई भने सबैले राम्रो माने । त्यही प्रतियोगितामा नेपालका लागि चम्केकी खेलाडी हुन्, प्रीति ।

त्यही प्रतियोगिताको सेमिफाइनलमा नेपाल लेवनानसँग भिडेको थियो । खेलले दोस्रो हाफको इन्ज्युरी समय छोइसकेको थियो । खेल बराबरीमै । त्यही बेला प्रीतिले यति आकर्षक गोल गरिन् कि जित नेपालको रह्यो । सबैले उनको प्रदर्शनको प्रशंसाको वर्षा नै गरे । फाइनलमा भने उनी घाइते हुँदै मैदान छाड्न बाध्य रहिन् । उनी पूरा समय मैदानमै रहेको भए के हुन्थ्यो होला ? यो प्रश्न नेपाली महिला फुटबलमा सधैं रहिरहने छ । यही त हो, फुटबलको मज्जा ।

वर्ष २०८० मा सबैभन्दा चर्चामा रहने महिला फुटबल खेलाडीमा परिन् प्रीति । त्यसैले उनी अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको प्रत्याशी छन् । यस विधाको विजेता चयन भोटिङबाट हुने गर्छ । त्यसमध्ये ५० प्रतिशत मतभार ई–सेवाबाट हुने भोटिङको छ । सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत हुनेछ ।

‘यो अवार्डको प्रत्याशी हुन पाउँदा खुसी छु । यसअघि मैले यसै विधामा सावित्रा (भण्डारी) र एन्जिला (तुम्बापो) दिदी परेको सुनेको थिएँ । त्यही बेला यो अवार्डप्रति मेरो आकर्षण बढेको थियो । लागेको थियो, कुनै दिन त्यस्तो आउने छ, जुन बेला यो विधाको प्रत्याशीमा मेरो नाम हुनेछ ।’

अहिले एन्फा महिला लिग चलिरहेको छ । उनी एपीएफ क्लबको प्रतिनिधित्व गर्दै त्यसमा खेलिरहेकी छिन् । फेरि उनको नजर अब हुने साफ च्याम्पिनसिप २०२४ मा पनि छ ।

प्रीतिलाई लाग्छ, यसपल्ट नेपालले यो उपाधि जित्ने सम्भावना धेरै छ । यसका अनेक कारण हुन सक्छन् । पहिलो कारण, अब केही हदसम्म नेपाली महिला टिम परिपक्व भएको छ । यो टिमसँग अब अनुभवको कमी रहेन । फेरि त्यही वाफ वुमेन्स च्याम्पियनसिपमा फर्कने हो भने यो त्यस्तो प्रतियोगिता रह्यो, जसले नेपाललाई आत्मविश्वास दिएको छ । अब भारतको सामना गर्दा नेपाल मानसिक रूपमा कमजोर हुने स्थिति पनि रहेन ।


भलै, नेपाली महिला राष्ट्रिय टिमले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन । तर, त्यसतर्फ अग्रसर भने छ । कम्तीमा उपाधि जित्ने बाटोमा हिँड्ने प्रयास त गरेको छ । यो उद्देश्य प्राप्तिका लागि सबैभन्दा महत्त्वपूर्ण साबित हुनसक्ने खेलाडीमा पर्छिन्, प्रीति । मिडफिल्डमा उनी कमाल गर्छिन् नै, पछिल्लो समय उनी लामो दूरीबाट शक्तिशाली प्रहार गर्ने अचूक अस्त्रमा आफूलाई अभ्यस्त राख्ने प्रयासमा छिन् ।

त्यतिमात्र होइन, प्रीति भर्खर १९ वर्षकी भइन् । उनको अगाडि एक दशकभन्दा बढीको फुटबल जीवन छ । उमेर समूहको फुटबलबाट माथि उठेकी प्रीतिलाई त्यसै कारण नेपाली महिला फुटबलको भविष्य भन्न सकिन्छ । उनले पालेको एउटा अर्को सपना पनि छ, युरोपमा खेल्ने । अहिलेसम्म सावित्रा भण्डारीले यो उपलब्धि चुमिसकेकी छन् । यही बाटोमा छिन्, एन्जिला तुम्बापो सुब्बा पनि । प्रीति पनि चाहन्छिन्, युरोपमा खेलेर बहुमूल्य अनुभव बटुल्ने ।

त्यसो त खाडी देशबाट अहिले नै उनलाई प्रस्ताव नआएको होइन । कुराकानी चलिरहकै छ । इन्डियन वुमेन्स लिगमा किक स्टार्टसका लागि खेलिसकेकी छन् । यो सबै अवस्थामा नेपाली फुटबल पारखीको काम भनेको सक्दो भोट हालेर प्रीतिलाई विजेता बनाउने हो । उनी यसका लागि हकदार छिन् । उनी भन्छिन्, ‘नेपाली महिला फुटबलको सम्भावना धेरै छ । नेपाली महिला फुटबललाई माया गर्नुपर्‍यो, प्रोत्साहन गर्नुपर्‍यो ।’

प्रकाशित : भाद्र २२, २०८१ ०५:२१
x
×