कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भलिबल फ्रेन्चाइज लिग कान्तिपुर म्याक्समा

भाद्र २१, २०८१
भलिबल फ्रेन्चाइज लिग कान्तिपुर म्याक्समा

काठमाडौँ — कान्तिपुर टेलिभिजनले एभरेस्ट महिला भलिबल फ्रेन्चाइज लिगको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल असोज १४ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।

नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिसँग प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्फिनिटी र कान्तिपुर टेलिभिजन म्याक्सबीच शुक्रबार प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ ।

इन्फिनिटीकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईं र कान्तिपुर टेलिभिजनका सीईओ शिशिर पछाईंले सम्झौतापत्रमा हस्ताक्षर गरे । अहिले पहिलो संस्करणका लागि सम्झौता भए पनि आगामी वर्षको प्रतियोगितालाई सम्झौता थप्न सकिने इन्फिनिटीकी चापागाईंले बताइन् ।

लाइभको सम्पूर्ण इकुप्मेन्ट र प्रविधिक टोली आयोजक इन्फिनिटी ड्रिम्सकै हुनेछ भने लाइभ प्रसारण कान्तिपुर म्याक्सबाट हुने सीईओ पछाईले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

मधेश युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स र कर्णालीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । चितवनमा अरुणा शाही, गण्डकीमा सरस्वती चौधरी, काठमाडौंमा उषा भण्डारी, ललितपुरमा सलिना श्रेष्ठ, मधेशमा निरुता ठगुन्ना र कर्णालीमा सुमित्रा रेग्मी मार्की खेलाडी रहेका छन् ।

प्रकाशित : भाद्र २१, २०८१ २०:३७
x
×