कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पलेशाले भनिन्- ‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’

भाद्र १९, २०८१
पलेशाले भनिन्- ‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’

काठमाडौँ — नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् ।

अब गर्वपूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन् ।

पलेशाले पेरिस पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा कांस्य पदक जितेकी थिइन् ।

यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ । पलेशाले यो पदक आफ्नो मात्र नभइ देशकै पदक रहेको प्रतिक्रिया दिँदै गर्न अझै धेरै बाँकी रहेको बताएकी छिन् ।

प्रशिक्षक कविराज नेगी लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्नसक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि शुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि यसपल्ट रिपाचेजमा काँस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ । प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनेत गर्‍यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको उनले उल्लेख गरे ।

पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानूनी नै निर्माण गरेको र सो अनुरूपमा पलेशाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ । सदस्यसचिव घिसिङले राज्यलाई पलेशाले मायाको चिनो स्वरूप पदक दिएको र त्यसबापत देशलाई उनलाई यो पुरस्कारबाट सम्मान हुने उल्लेख गरे ।

घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै तयारी शुरु भैसकेको बताए । ओलम्पिकमा पदक जित्ने इतिहासमा पलेशाले खाता खोलेको उनको भनाइ छ । यो खाता पदक थप्न कयैन् खेलाडी लाग्ने उनको विश्वास छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले लर्को लगाएर विदेश जानुभन्दा पनि खेल विकासमा ध्यान दिन संघहरूलाई आग्रह गरे । मन्त्री चौधरीले पलेशाका प्रशिक्षक कविराज नेगी लामाले स्वयम् सेवक प्रशिक्षक अहिलेसम्म काम गर्नु दुःखको क्षण रहेको बताए । एकतवाद्ध भएर काम गर्नसके खेलकुदले देशलाई धेरै दिनसक्ने उनको विश्वास छ ।

प्रकाशित : भाद्र १९, २०८१ १४:३०
x
×