कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

फ्रेन्चाइज भलिबल लिगको प्रायोजकमा वात्सल्य

भाद्र १८, २०८१
फ्रेन्चाइज भलिबल लिगको प्रायोजकमा वात्सल्य

काठमाडौँ — एभरेस्ट महिला भलिबल लिगलाई वात्सल्य नेचुरल आईभीएफले प्रमुख प्रायोजन गर्ने भएको छ । नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिसँग मिलेर पहिलो पटक फ्रेन्चाइज अवधारणामा गर्ने महिला भलिबल लिग असोज १४ देखि १९ सम्म आयोजना हुनेछ । 

महिला भलिबल लिगको प्रायोजनका लागि आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्यबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा इन्फिनिटीकी सीईओ स्नेभी चापागाईं र वात्सल्यका संस्थापक एवं प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले हस्ताक्षर गरे । आर्थिक पक्ष नखुलाए पनि सम्झौता दुईवर्षे हुने सुवेदीले जनाए ।

नेपालमा प्रजनन हेरचाह र महिलाको स्वास्थ्यमा उत्कृष्टता हासिल गरिरहेको दाबी वात्सल्यको छ । महिला क्षेत्रमा नै काम गरिरहेकाले महिला भलिबल लिगमा आएको वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले बताए । ‘हामीले प्रतियोगिताको हिस्सा हुन पाएकोमा सम्मानित महसुस गरिरहेका छौं,’ उनले भने, ‘यसले हाम्रो राष्ट्रिय खेलको विकासका लागि एक सशक्त अवसर प्रदान गर्नेछ र खेलकुदमा महिलाहरू पनि समान रूपमा सक्षम छन् भनेर प्रमाणित गर्न सहयोग पुग्ने छ ।’

सीईओ चापागाईंले महिलाको क्षेत्रमा काम गरिरहेको कम्पनी नै प्रमुख प्रायोजक बनेर आएका कारण राम्रो सन्देश जाने विश्वास लिइन् । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले महिला लिग नेपाल भलिबलको इतिहासमा सबैभन्दा ठूलो प्रतियोगिता हुने विश्वास लिएको जनाए । यसैबीच महिला लिगमा प्रतिस्पर्धा गर्न लागेका ६ मध्ये ५ टोलीले आफ्नो नामको टुंगो लगाएका छन् । ६ फ्रेन्चाइज टोलीले विभिन्न सहर रोजे पनि टिमको नाम जुराएका थिएनन् । मधेश युनाइटेड यसअघि नै निश्चित भइसकेको थियो । अन्य चार टोलीमा चितवन शक्ति, गण्डकी थन्डर्स, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्सको नामले फ्रेन्चाइज लिगमा खेल्ने भएका छन् ।

कर्णालीले भने आफ्नो नाम अझै जुराइसकेको छैन । टोलीको मार्की खेलाडीमा सुमित्रा रेग्मी छन् । चितवनमा अरुणा शाही, गण्डकीमा सरस्वती चौधरी, काठमाडौंमा उषा भण्डारी, ललितपुरमा सलिना श्रेष्ठ र मधेशमा निरुता ठगुन्ना मार्की खेलाडी रहेका छन् ।

ललितपुरको लोगो सार्वजनिक

ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । महिला भलिबल लिगमा बलियो उपस्थिति जनाउने उद्देश्यसहित तयारी सुरु गरेर पहिलो कदमस्वरुप लोगो सार्वजनिक गरेको ललितपुर क्विन्सले जनाएको छ । टोलीका प्रशिक्षकमा उत्सव खड्का छन् ।

रुप्से स्पोर्ट्सको स्वामित्वमा ललितपुर क्विन्सले महिला भलिबल लिगमा खेल्न लागेको हो । रुप्से होलिडेजको सहायक कम्पनीको रूपमा रुप्से स्पोर्टस रहेको छ । कोरसिन्क नेपालबाट अनुज एम तिमिल्सिना, अनोज रिमाल र विरोचन खनालले टिम ललितपुर लिएको थियो । तर कोरसिन्कबाट रुप्सेले ललितपुरको स्वामित्व लिएको हो ।

प्रकाशित : भाद्र १८, २०८१ ०५:४४
x
×