कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

कांस्य विजेता पलेशालाई भव्य स्वागतसहित नगरपरिक्रमा गराइने

भाद्र १८, २०८१
कांस्य विजेता पलेशालाई भव्य स्वागतसहित नगरपरिक्रमा गराइने

काठमाडौँ — पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहित नेपाली टोली बुधबार बिहान नेपाल आइपुग्ने भएको छ ।

ऐतिहासिक पदक जितेकी पलेशासहित प्रशिक्षक कविराज नेगी लामासहित टोलीलाई राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, पारा ओलम्पिक कमिटीले त्रिभुवन विमानस्थलमा विशेष स्वागत गर्ने भएको छ ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुदको ओलम्पिक संरचनामा पहिलो पटक आधिकारिक पदक जितेको हो । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि सर्बियाकी मारिया मिसेभलाई १५–८ स्कोरले हराएर कांस्य जितेकी थिइन् ।

नेपालले ग्रीष्मकालीन ओलम्किमा सन् १९६४ को टोकियोदेखि सहभागिता जनाएको हो । त्यसमा अहिलेसम्म पदक जित्न सकेको छैन । सन् १९८८ को सोल ओलम्पिकको प्रदर्शनी खेलमा तेक्वान्दोले कांस्य जितेको थियो । सन् २००४ को एथेन्स पारा ओलम्पिकदेखि नेपालले भाग लिए पनि पदक जित्न सकेको थिएन ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार विज्ञप्तिमार्फत पेरिस पारा ओलम्पिकमा कांस्य जितेको नेपाली तेक्वान्दो टिमलाई नगरपरिक्रमासहित भव्य स्वागत गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाजागाजाका साथ सहर परिक्रमा गराइने भएको छ । र्‍यालीको रुटमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम गरी स्वागत र बधाई ज्ञापन गरिने जनाइएको छ ।

पलेशाको निरन्तरको मिहिनेत, लगन र उच्च मनोबलले गरिएको प्रदर्शनबाट प्राप्त सफलताप्रति नेपाली खेलकुदक्षेत्र हर्षविभोर हुनुका साथै अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको सान शिखरमा पुगेको राखेप प्रचारप्रसार प्रमुख खुशराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र १८, २०८१ २१:१४
x
×