कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पोसाकका लागि टेबलटेनिसको ३६१ डिग्रीसँग सम्झौता

भाद्र १७, २०८१
पोसाकका लागि टेबलटेनिसको ३६१ डिग्रीसँग सम्झौता

काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघ र नेपालका लागि ३६१ डिग्रीको आधिकारिक बिक्रेता ३६१ डिग्री सर्वसिद्धि इम्पेक्स प्रालिबीच सोमबार प्रायोजक सम्झौता भएको छ ।

सम्झौताअनुसार ३६१ डिग्रीले संघलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीसहित टोलीलाई पोसाक प्रदान गर्नेछ ।

टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र ३६१ डिग्रीका निर्देशक सरोज कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता ४ वर्षका लागि कायम रहने निर्देशक कार्कीले बताए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सम्झौताका दौरान ३६१ डिग्रीले चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी टेबलटेनिस खेलाडीसहितको टोलीलाई पनि पोसाक प्रायोजन गरेको जनाएको थियो ।

एसियाली टेटेमा दुई खेलाडी

एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट दुई खेलाडी भाग लिने भएको छ । टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट १–१ पुरुष/महिला खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।

पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छ्न । दुवै शीर्षस्थानमा रहँदै छनोट भएका हुन् । एसियाली टेबलटेनिस काजकिस्तानमा अक्टोबर ७ देखि १३ सम्म हुनेछ । सोही छनोट प्रतियोगिताबाट पुरुष/महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।

प्रकाशित : भाद्र १७, २०८१ १९:५२
x
×