कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एयर ब्याडमिन्टनको सुरुआत

भाद्र १२, २०८१
एयर ब्याडमिन्टनको सुरुआत

काठमाडौँ — नेपाल ब्याडमिन्टन संघले युरोपमा लोकप्रिय रहेको विश्व ब्याडमिन्टन महासंघको मान्यताप्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ लाई नेपालमा पनि सुरुआत गर्ने उद्देश्यले एकदिने प्रदर्शनी खेलको आयोजना गरिएको छ ।

दक्षिण एसियामा नै पहिलो पटक जस्तोसुकै खुला मैदानमा रमाइलो खेलको रूपमा खेल्न सकिने यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन कोर्टमा खेलाइएको थियो ।

‘एयर ब्याडमिन्टन द न्यू ब्याडमिन्टन गेम २०२४’ नामाकरण गरिएको प्रदर्शनी खेलमा पुरुषतर्फ १०८ र महिलातर्फ ३४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुष र महिला युगलतर्फ खेलाइएको खेलमा लगनखेलका विलन मलान र उज्ज्जल दाहालको जोडी पुरुषतर्फ विजेता भयो । ललितपुरका मनीष वज्राचार्य र राकेश शाक्यको जोडी दोस्रो तथा आयुष प्रजापती (भक्तपुर) र एलिश थापा (चितवन) तथा अजय महर्जन र साजन महर्जन (थसी) को जोडी तेस्रो स्थानमा रहे ।


महिलातर्फ नुमा लिम्बू (नखिपोट) र नविना (एपीएफ) को जोडीले शर्मिला केसी र पार्वती राई (पीएफसी) को जोडीलाई हराएर उपाधि जित्यो । पीएफसीका मैयाँ भट्टराई र सीता कार्कीको जोडी तथा भक्तपुरका लीना सिपाईं र शुभेक्षा श्रेष्ठको जोडी संयुक्त तेस्रो भए ।

नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाही र निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त उद्घाटन गरेको प्रदर्शनी खेलको विजेतालाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, पूर्व प्रमुख प्रशिक्षक रजनी जोशी, सहायक मुख्य प्रशिक्षक किरण थापालगायतले पुरस्कृत गरे ।

कस्तो हो एयर ब्याडमिन्टन ?

बिश्व ब्याडमिन्टन महासंघले खुला मैदानमा सबै समूहका लागि उपयुक्त हुने नयाँ प्रकारको ब्याडमिन्टनलाइ जनसमक्ष परिचयात्मक रूपमा प्रस्तुत गरेको छ । ‘एयर ब्याडमिन्टन द न्यु ब्याडमिन्टन’ नामाकरण गरिएको ब्याडमिन्टन परम्परागत ब्याडमिन्टनभन्दा केही फरक छ । यसमा एकल, युगल र तीन जनाको समूहमा खेलाडी सम्मिलित भएर प्रतिस्पर्धा गर्न सकिने छ ।

यसको मैदान र सटल कक परम्परागत ब्याडमिन्टन खेलको भन्दा फरक छ । कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको हुन्छ । नेटबाट २ मिटरको स्थानलाइ डेड जोन मानिन्छ । उक्त स्थानमा सटल कक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाइनक्रस गरेमा फाउल मानिनेछ ।

डेड जोनबाट ३ मिटर पर सर्भिस लाइन रहने र ३ मिटरको सर्भिस जोनबाट सर्भिस गर्नुपर्ने हुन्छ । विपक्षीमा जुनसुकै खेलाडीले रिसिभ गर्नु पाउँछ । खुला मैदानमा खेलाइने भएकोले हावाको चापलाई मध्यजर गर्दै भिन्न प्रकारको सटल कक बनाइएको छ ।

प्रकाशित : भाद्र १२, २०८१ २१:४५
x
×