कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दसौं राष्ट्रिय खेलकुद : तयार भए तीन क्रिकेट मैदान

भाद्र ११, २०८१
दसौं राष्ट्रिय खेलकुद : तयार भए तीन क्रिकेट मैदान

सुर्खेत — दसौं राष्ट्रिय खेलकुदको तयारीसँगै धमाधम खेल संरचना तयार भएका छन् । मंसिरमा हुने भनिएको दसौं राष्ट्रियका लागि सुर्खेतमा दुई क्रिकेट मैदान तयार भएको छ भने रुकुम पश्चिमको क्रिकेट मैदान निर्माणाधीन अवस्थामा छ । 

कर्णाली प्रदेश खेलकुद परिष्दका अनुसार वीरेन्द्रनगरमा बनेका दुई मैदान सञ्चालनमा आइसकेको छ । ७ सय मिटरको दुरीमा बनेका दुई मैदानमा महिला र पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुनेछ ।

सुर्खेतमा बनेको मैदानमा प्रतियोगिता हुनेछ भने रुकुम पश्चिममा बनेको मैदानलाई प्रशिक्षणका रूपमा प्रयोग गर्न सकिने प्रदेश खेलकुदले जनाएको छ । महिला क्रिकेट मैदानमा इन्डोर प्रशिक्षण हल र आउटडोर प्रशिक्षण पिचसहित तयार भएको छ । ६५ मिटर रेडियसको क्रिकेट मैदानलाई दुबो उमारेर तयारी अवस्थामा राखिएको छ । मैदानमा २२ यार्डको क्रिकेट पिच बनाइएको छ । ४ करोड ५९ लाख ८० हजार रुपैयाँ लागतमा अभियान कन्ट्रक्सनले यो मैदान निर्माण गरेको हो ।

कालिनचोकस्थित पुरुष क्रिकेट मैदान ७३ लाख १८ हजार रुपैयाँमा निर्माण गरिएको हो । गत वर्षको मंसिर १५ मा केपीडीडी कन्ट्रक्सनसँग सम्झौता भएको थियो । ७० मिटर रेडियसको यस मैदानमा दुबो लगाइसकिएको छ । मैदानमा २२ यार्डको पिच बनाइएको छ । पुरुष क्रिकेट मैदानको नामाकरण ८८४८ र महिला क्रिकेट मैदानलाई +९९७ नामाकरण गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । उक्त मैदानमा मुख्यमन्त्री क्रिकेटलगायतका विभिन्न प्रतियोगिता भइसकेको छ ।

यस्तै रुकुम पश्चिममा निर्माणाधीन चौरजहारी क्रिकेट मैदानका लागि ५० लाख रुपैयाँ खर्च गरिएको छ । मैदानमा घेरबाराको काम बाँकी छ । यसलाई प्रशिक्षण मैदानको रूपमा प्रयोग गरिने जनाइएको छ ।

खेलको भौतिक संरचना अभावले कर्णालीमा खेलकुद गतिविधि नियमित हुन सकेको थिएन । धमाधम संरचना बन्दा खेलाडीसहित आन्तरिक व्यापारमा समेत टेवा पुगेको जिल्ला क्रिकेट संघका अध्यक्ष श्री केसीले बताए । कर्णालीमै सुविधासम्पन्न तीन क्रिकेट मैदान बनेपछि अबका दिनमा कर्णाली प्रतियोगितासँगै क्रिकेट प्रशिक्षण केन्द्रको रूपमा रहने प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्याल बताउँछन् ।

‘अब कर्णालीले खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधारको अभाव खेप्नुपर्ने छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको क्रेज बढेसँगै कर्णालीमा पनि क्रिकेटका खेलाडी थपिएका छन्, अब मैदानले खेलाडीलाई उत्साहित पारेको छ ।’

कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्काले मैदान नहुँदा प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षण गराउन दाङ, भैरहवा, कोहलपुर, चितवन र काठमाडौं लैजानुपर्ने बाध्यता अन्त्य भएको सुनाए । कुनै प्रतियोगितामा भाग लिँदा खेलाडीलाई एक महिनाअघि जिल्लाबाहिर पठाउनुपर्ने समस्याको हल भएको भन्दै उनले खुसी व्यक्त गरे ।

‘मैदान बनेपछि विद्यालयका विद्यार्थीमा क्रिकेट क्रेज बढेको छ । निर्माण भएको क्रिकेट मैदानलाई संघ मातहत राखे झनै व्यवस्थित तरिकाले चल्छ,’ उनले भने, ‘क्रिकेट मैदान बनेसँगै कर्णालीमा क्रिकेटको उत्साह बढेको छ । यी मैदानमा प्रदेशस्तरीय प्रतियोगिता गराइसकेका छौं । समयमै मैदान बनेपछि दसौंको तयारी गर्न सहज भएको छ ।’

क्रिकेट मैदानसँगै रग्बी मैदान निर्माण गरिएको छ । पछिल्लो समय अन्य खेलमा जस्तै रग्बीमा पनि खेलाडीको आकर्षण बढेको छ । गत वर्ष निर्माण भएको रग्बी मैदानमा प्रदेशस्तरीय प्रतियोगितासमेत भइसकेको छ । झन्डै १ करोड लागतमा निर्माण भएको मैदानमा अहिले फुटबल, रग्बी, एथलेटिक्सलगायतका खेलको प्रशिक्षण र प्रतियोगिता हुँदै आएको छ ।

हुम्लामा हक्की मैदान

हुम्लामा पहिलो पटक खेल मैदान बनेको छ । कर्णाली प्रदेश सरकारको ७१ लाख ८५ हजार रुपैयाँमा समुन्द्र निर्माण सेवाले हक्की मैदान निर्माण गरेको छ । खेलपूर्वाधारको अभाव झेलिरहेका हुम्लाका युवाले हक्की मैदान बन्ना साथ खेलमा रुचि देखाउन थालेका छन् ।

विमानस्थलमा कालोपत्रे नहुँदासम्म खेलकुदका विभिन्न प्रतियोगिता विमानस्थलमै गर्ने गरेको अनुभव खेलाडीहरू सुनाउँछन । ‘खेलमैदान नहुँदा खेलाडीको खेलमोह घट्दै गएको थियो,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले भने, ‘हक्की मैदान बनेपछि खेलकुदका प्रतियोगिता र प्रशिक्षण धमाधम भइरहेको छ । बिहान–बेलुका मैदान भरिएको हुन्छ ।’

सिमिकोटमा बनेको उक्त मैदानले गर्दा पालिका–पालिकाका युवाले खेलमैदान माग गरेको उनले बताए । उक्त खेलमैदान निर्माणका लागि ११ हजार ३ सय ५३ वर्गमिटर जग्गा खरिद गर्न ५ करोड रुपैयाँ लागेको उनको भनाइ छ ।

संरचना मर्मतसम्भार

वीरेन्द्रनगर वडा–५ चिसापानीमा फुटबल मैदान निर्माण भएको छ । २ करोड ३१ लाख लागतमा अभियान कन्स्ट्रक्सनले निर्माण गरेको हो । यस मैदानमा महिला फुटबल प्रतियोगिता गर्ने गरी तयारी गरिएको हो । १ सय १० मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान तयार भएको छ ।

दुबो, तारजाली र घेरबारा गरिएको छ । दसौं राष्ट्रियलक्षित गर्दै दैलेख, कालिकोट, रुकुम पश्चिम, जुम्लामा कर्भडहल मर्मत तथा स्तरोन्नति गरिएको छ । जुम्लामा खुला भलिबल कोर्टसहित दर्शक प्यारापिट निर्माणाधीन अवस्थामा छ । रुकुम पश्चिमको बेलटापु खुला मैदान र दर्शक प्यारापिट निर्माण गरी प्रशिक्षण सुरु गरिएको छ । सुर्खेतका विभिन्न स्थानमा पनि मैदान निर्माण र पुरानाको मर्मतम्भार गरिएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ ०६:००
x
×