कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

जियारतको बहादुरीले नेपाल फाइनलमा

भाद्र १०, २०८१
जियारतको बहादुरीले नेपाल फाइनलमा

Highlights

  • भुटानलाई हराउन हम्मे–हम्मे, पेनाल्टी सुटआउटको सहारा

काठमाडौँ — धनगढीका गोलरक्षक जियारत सेखको खेल जीवन ठीकसँग भर्खरै सुरु भयो भन्दा पनि हुन्छ । यत्तिकैमा उनले आइतबार साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा अहिलेसम्मकै सबैभन्दा ठूलो खुसी आत्मसात् गरे । उनले भने पनि, ‘आज नै हो, सबैभन्दा खुसीको दिन । तर फाइनलमा अझै धेरै गर्नु छ ।’ यो हो नि, आत्मविश्वास । अनि यो हो, कर्तव्यबोध । 

नेपाल भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगेको छ । अब बुधबार हुने फाइनलमा नेपालले भारत र बंगलादेशबीचको विजेतासँग खेल्ने छ । जियारत मात्र होइन, खुसी त नेपाली फुटबल नै भएको छ । नत्र एउटा भाष्य तयार हुँदै थियो, फुटबलमा भुटानले नेपाललाई बिस्तारै उछिँदै छ भनेर । डर थियो, कतै नेपाली टिम भुटानसँग हार्‍यो भने ?

तर अहिले प्राप्त जितले अबका दिनमा नेपालले भुटानको सामना गर्दा फेरि आत्मविश्वास दिनेछ, यो प्रिय प्रतिद्वन्द्वीसँग खेल्नु मात्र पर्छ, जित्ने नै हामी नै हौं भनेर । चाहे स्थिति जस्तै किन नहोस् । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उतारचढावपूर्ण खेलले दिएको सन्देश यही हो । यसका खास नायक रहे, तिनै जियारत ।

गोलरहित बराबरीपछि भुटानले ५६ औं मिनेटमा अग्रता लिएको थियो र यसका लागि जेत्सुन दोर्जीले उत्कृष्ट गोल गरे । उनले नेपाली पेनाल्टी एरियाको बाहिरबाट गरेको शक्तिशाली प्रहारले पोस्टको दिशा लिएको थियो र त्यसमा अलि कति दोष नेपाली गोलरक्षक जियारतकै थियो । उनले बल राम्रोसँग अन्दाज लगाउन नसक्दा गोल भएको थियो ।

भुटानी खेलाडीमा अपार खुसियाली छाएको थियो । खेलको निर्णायक मोड ७६ औं मिनेटमा आयो, जति बेला किनजाङ तेनजिन दोस्रो पहेँलो कार्ड खाएर मैदान छाड्न बाध्य भए र टिम दस खेलाडीमा सीमित भयो ।

यस्तोमा नेपालले आक्रमण तीव्र पारेको थियो, पछाडिबाट जियारतले भनिरहेका थिए, ‘सबै अगाडि बढ्नु, डिफेन्समा पनि मै छु ।’ यसको प्रतिफल आयो, ७८ औं मिनेटमा । नीराजन धामीले राम थापाको लामो दूरी तय गरेर आएको पासलाई हेड गर्दै बराबरी गोल गरे । बाँकी समय थप गोल भएन् र खेल गयो, सिधा टाइब्रेकरमा । त्यसमा नेपालका तर्फबाट चारै प्रहार गोलमा परिणत भएको थियो । यसरी गोल गर्ने खेलाडी थिए, राम थापा, अभिनास स्याङताङ, सीमान्त थापा र जियारत नै ।

भुटानका लागि जेत्सुनले मात्र गोल गर्न सकेन । जिग्मे दोर्जी र जिग्ने नामग्यालको प्रहार जियारतले मज्जाले बचाए । पेनाल्टी सुटआउट नेपाल ३–१ ले अगाडि रहेको बेला जियारत आफैं अगाडि आए र निर्णायक गोल गरे । यससँगै नेपाली टिम र समर्थकमा ‘युफोरिया’ छाएको थियो । भुटानी खेलाडीले भने स्थिति सहनै सकेनन्, लगभग सबै मैदानमै ढले । तर तिनीहरू बहादुर खेलाडी थिए, उठेर हातेमालोमा बाँधिएर दर्शकलाई अभिवादन गरे । प्रतिउत्तरमा दर्शकले पनि नारा लगाए, ‘भुटान, भुटान ।’

एक साताको पेनाल्टी अभ्यास

कहिलेकाहीं खेलाडीलाई भविष्यमा के हुनेछ, त्यसको अनुमान हुने गर्छ । सायद जियारतलाई यस्तै भएको थियो, त्यसैले त उनले एक सातादेखि पेनाल्टीको अभ्यास गरेको गर्‍यै गरिरहेका थिए । यस पछाडि एउटा ठोस कारण पनि थियो । गत वर्ष काठमाडौंमै भएको साफ यू–१९ च्याम्पिनयसिपमा नेपाल सेमिफाइनलमा पेनाल्टी सुटआउटमै भारतसँग हारेको थियो । त्यति बेला पनि नेपाली टिमको जिम्मा जियारतकै काँधमा थियो । उनले केही बचाउ पनि गरे । तर हार नेपालकै रह्यो ।

‘त्यति बेलाको हारको चोट अझै पनि मनमा छ । त्यसले नै मलाई अझ मिहिने गर्न प्रेरित गरेको थियो । आजको पेनाल्टी सुटआउटका बेला भने म पूरा आत्मविश्वासी थिएँ । भुटानका प्रहार जोगाउन सक्छु भन्ने विश्वास थियो,’ जियारतले भने । प्रशिक्षक उर्जेन श्रेष्ठले पनि आफ्नो गोलरक्षकमा पूरा विश्वास भएको बताए । अझ उनले त बक्समा बसेर भुटानका खास खास खेलाडी पेनाल्टीमा चुक्ने छन् भनेर ठूलै स्वरले कराइरहेका थिए । सायद यो ‘माइन्ड गेम’ पनि थियो ।

तर उनले जे भने, त्यही भयो । पछि उनले भने, ‘म पनि त खेलाडी हुँ, कसले कति बेला के गर्छ, अनुमान गर्न सक्छु । दोर्जी पेनाल्टी प्रहार गर्न अगाडि जाँदा असाध्यै धेरै आत्मविश्वासी भएको देखाइरहेका थिए । फेरि नामग्याल यही कामका लागि अगाडि गएको बेला उनमा आत्मविश्वास भनेकै थिएन् । बढी आत्मविश्वासी हुनु र फेरि आत्मविश्वास नै नहुनु दुवै स्थिति राम्रो होइन ।’ यति भन्दै गर्दा पनि उनले आफ्नो टिमको आलोचना गर्न भने बिर्सेनन् ।

उनको भनाइ थियो, ‘आजको खेल जित्न त जित्यौं, तर प्रदर्शन राम्रो रहेन भन्दा हुन्छ । यसमा सुधार आवश्यक छ ।’ उनको तर्क थियो, कि त नेपाली खेलाडीले भुटानलाई अलिकति बढी नै सम्मान थियो, होइन भने आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । हुन पनि पूरा ९० मिनेटको खेलमा भुटानको तुलनामा नेपालका आक्रमण कम थिए । अनि उनले पनि माने, भुटानको प्रदर्शन राम्रो रह्यो । यसको पनि प्रशंसा गर्नै पर्छ । र, अन्त्यमा यति पनि भने, ‘अब फाइनलमा जो सुकै विपक्षी भए पनि खेल्ने जित्नकै लागि हो । योभन्दा अरू म जान्दिनँ ।’

भुटानी खेलाडीको प्रदर्शनमा गर्व

भुटानी टिमका प्रशिक्षक हुन्, जापानका हिदेहारु ताकाहासी । उनी प्रायः हाँसेर गफिन्छन् । उनले पनि हाँसेर नै पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘आज हामी असाध्यै दुःखी छौं ।’ हुन पनि भुटानको जितको नजिक पुगेर पनि सोच्न बाध्य रह्यो, आखिरमा यो जित कति टाढा रहेछ भनेर । उनले थपे, ‘हाम्रा खेलाडीले राम्रा खेले, यसमा मलाई गर्व छ । यी खेलाडीले भविष्यमा गएर भुटानी फुटबललाई अगाडि बढाउने छन् । त्यस अर्थमा म आफ्ना खेलाडीप्रति सकारात्मक छु ।’

प्रशिक्षक ताकाहासी केही वर्षदेखि यही टिमसँग छन्, त्यसैले उनी आफ्ना खेलाडीप्रति यति आत्मविश्वासी पनि रहे । उनले पूरा प्रतियोगिता नै भुटानी टिमका लागि असाध्यै कठिन सावित भएको पनि माने । भुटानले तीन खेल खेलेकोमा त्यस्तो कुनै खेल रहेन्, जसमा उसले रातो कार्डका कारण खेलाडी गुमाएको नहोस् । यो प्रतियोगितामा भुटान सेमिफाइनल पुगेको यो दोस्रो पल्ट हो र दुवै अवसरमा हार यही टिमको रह्यो । ‘यो तथ्यले भने हामीलाई दुःख दिन्छ,’ उनको निचोड थियो ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:१५
x
×