कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

ताप्लेजुङ गोल्डकपको फाइनल आज 

भाद्र १०, २०८१
ताप्लेजुङ गोल्डकपको फाइनल आज 

ताप्लेजुङ — यो वर्ष सिमरा गोल्ड कपबाट सुरु गरेर भोजपुर, पृथ्वीनारायण, राजारानी, भरुवा, इटहरी हुँदै ताप्लेजुङ गोल्डकप खेल्न पुगेको मधेश प्रदेशको सलहेस युथ क्लब सोमबारको ताप्लेजुङ गोल्डकप फुटबलको उपाधि जितेर फर्कने दाउमा छ ।

डेढ दिनको बसयात्रा गरेर ताप्लेजुङ पुगेको सलहेसले नयाँ रणनीतिअनुसार खेल्ने प्रशिक्षक राजीव यादवले बताए ।

‘नयाँ खेलाडी थप्न टाढा छ, हाम्रो प्रतिस्पर्धी चिरपरिचित भएको र त्यहाँका प्लेयरले हाम्रो क्लबबाट र हाम्रा प्लेयरले त्यहाँको क्लबबाट खेलेको हुनाले केही फरक रणनीति बनाएर जित्छौं भन्ने आशा छ,’ यादवले भने । ताप्लेजुङमा छैटौं गोल्डकप खेल्दै गरेको सलहेसले सिमरा गोल्डकपमा ए डिभिजन लिगको चर्चब्वाइजलाई हराएको थियो ।

भोजपुर गोल्डकपमा सेमिफाइनलमा पुगेको थियो । राजारानी गोल्डकपमा जितेको थियो भने भरुवा गोल्डकपमा फाइनलमा पराजित भएको थियो । इटहरी गोल्डकपमा पराजित भएको उसले पूर्वी नेपालको ताप्लेजुङ गोल्डकप भने जित्ने लक्ष्य राखेको जनाएको छ । कप्तान कुलदिप कार्कीले विभागीय टोली त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड क्लब जस्ता बलिया टोलीको समूहबाट फाइनलमा आइपुगेकाले मनोबल उच्च रहेको बताए । ‘दुईवटा म्याच खेलेर फाइनल पुगेका छौं,’ कार्कीले भने, ‘मैदानको पनि अनुभव भयो, एकापसमा चिरपरिचित भएकाले जित्ने लयमा छौं ।’

राजारानी र संखुवासभा गोल्डकपमा ह्याट्रिक गरेर इटहरी गोल्डकप दुई पटक जितेको कोशी प्रदेशको सगरमाथा युथ क्लब मोरङ सिजनको पहिलो गोल्डकप जित्ने लक्ष्यमा छ । बुटवल लुम्बिनी एफसी र गृह जिल्लाको संघर्ष स्पोर्टिङ क्लबलाई घरेलु मैदानमा पराजित गरेको सगरमाथाले उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा रहेको जनाएको छ । सगरमाथाका प्रशिक्षक युवेन गुरुङले आफूहरू खेलको लयमा रहेको बताए । सगरमाथा युथ क्लबका कप्तान अशोक खवासले भने, ‘टिमवर्कका साथ खेल्छौं र उपाधि रक्षाका लागि अधिकतम प्रयास गर्छौं ।’

सलहेससँग अनुभवी विदेशी खेलाडी भए पनि आफूहरूमा अनुभव र मनोबल भएको उनले बताए । दुवै टिमका प्रशिक्षक र कप्तानले एकअर्काका खेलाडीहरू चिरपरिचित रहेको बताए पनि प्रतिस्पर्धालाई कमजोर नठानेको प्रस्ट्याए । दर्शकले भरपुर आनन्द लिने र प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । यस वर्षको गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । आयोजकको व्यवस्थापनप्रति भने उनीहरूले सन्तुष्टि जनाएका छन् ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:०९
x
×