कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

कीर्तिमानी रोनाल्डो

भाद्र १०, २०८१
कीर्तिमानी रोनाल्डो

Highlights

  • ‘यूआर क्रिस्टियानो’ नामक च्यानलमार्फत युट्युब छिरेका रोनाल्डोले तीव्र गतिमा ८९ मिनेटभित्रै १० लाख, १२ घण्टामा १ करोड फलोअर बटुलेर पिच बाहिर पनि रेकर्डमाथि रेकर्ड राखिरहेका छन्

काठमाडौँ — सात वर्षको छँदै १५ सय पाउन्ड पारिश्रमिक लिएर व्यावसायिक फुटबल थालेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो त्यसयता करिब ३२ वर्षदेखि अनवरत फुटबल खेलिरहेका छन् । सर्वकालीन महान् फुटबलरमध्येका एक उनी फुटबल कौशलका कारण सधैं ‘लाइम लाइट’मा रहँदै आएका छन् । तर यस साता भने उनी युट्युब प्रवेशले चर्चाको शिखरमा छन् । 

बुधबार मात्रै उनले आफ्नै युट्युब च्यानल ‘यूआर रोनाल्डो’ लन्च गरे । ९० मिनेटको फुटबल खेलले दिलाएको उपलब्धिलाई नै माथ खुवाउने गरी उनले युट्युब च्यानलमा मात्र ८९ मिनेटमा १० लाख सब्स्क्राइबर्सको कोसेढुंगा पार गर्दै नयाँ रेकर्ड बनाए । यो रेकर्डको सिलसिला अझै जारी छ । सम्भवतः ५ दिनभित्रै उनले ५ करोड सब्स्क्राइबर जुटाएर अर्को इतिहास रच्न सक्नेछन् ।

क्लब स्पोर्टिङबाट व्यावसायिक फुटबल सुरु गरेका रोनाल्डो हाल साउदी अरबियन क्लब अल नासरबाट फुटबल खेलिरहेका छन् । पाँच पटकका बालेन डीओर विजेता रोनाल्डो फुटबलमा कीर्तिमानका पर्याय नै हुन् भन्दा फरक पर्दैन ।

हालसम्म क्लब र देशका लागि ८ सय ९० गोल गरेर सर्वाधिक गोलकर्तामा आफ्नो नाम लेखाइसकेका उनले च्याम्पियन्स लिगमा समेत सर्वाधिक १ सय ८३ खेल खेलेर १ सय ४० गोल गर्ने अर्को कीर्तिमान पनि आफ्नो नाम गरिसकेका छन् । पोर्चुगल राष्ट्रिय टिमबाट विश्वकपमा सबैभन्दा सानो उमेरमा (सन् २००६ मा २१ वर्षको छँदा) र सबैभन्दा पाको उमेरमा (सन् २०२२ मा ३७ वर्षको छँदा) गोल गरेर बनाएको रेकर्डले पनि जनाउँछ, रोनाल्डोको फुटबलप्रतिको लगाव र सफलता ।

युरोपियन च्याम्पियन्ससिपमा पनि उनले सर्वाधिक ३० खेल खेल्दै १४ गोलसहित कीर्तिमान राखेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोलकर्ताको सूचीमा १ सय ३० गोलसहित उनकै नाम छ भने त्यसका लागि पनि उनले खेलेका २ सय १२ अन्तर्राष्ट्रिय खेलको अर्को छुट्टै रेकर्ड्स छ । अन्तर्राष्ट्रिय पुरुषतर्फ १० ह्याट्रिक गर्ने पहिलो खेलाडीसहित सर्वाधिक ६६ ह्याटिकको रेकर्ड पनि उनै रोनाल्डोकै नाममा छ ।

करिअरमा सात वटा लिगसहित ३३ ट्रफी जितिसकेका रोनाल्डो सामाजिक सन्जालमा विश्वभर सर्वाधिक पछ्याइएका चर्चित सेलिब्रेटी हुन् । सामाजिक सन्जाल ‘एक्स’ मा उनलाई पछ्याउने ११ करोड २५ लाख, फेसबुकमा १७ करोड छन् भने इन्स्टाग्राममा त उनी ६३ करोड ६० लाखभन्दा बढी फलोअर्ससहित विश्वमै सर्वाधिक पछ्याइएकामा पर्छन् । मैदानमा आक्रामक, बाहिर अनुशासित तथा घरमा पारिवारिक व्यक्तित्वका रोनाल्डो स्टाइलिस फुटबलर भएकैले पनि फ्यान फ्लोइङ्ग बढी कमाएका छन् । ड्रिब्लिङ्ग र पावर सुटका लागि बढी चिनिएका उनको गोल सेलिब्रेसन गर्दाको पृथक् शैलीलाई धेरै फुटबलरले समेत पछ्याउने गर्छन् ।

फुटबल करिअरको उत्तरार्धमा पुगेका पोर्चुगल राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोनाल्डो बुधबारदेखि युट्युबमा समेत देखापरेका छन् । उनले फुटबलबाट कमाएका फ्यानलाई सम्भवतः रिटायर्डपछि पनि जोगाइराख्न सामाजिक सन्जालको सक्रियता बढाउन खोजेको हुनुपर्छ । उनले युट्युब च्यानल ‘यूआर क्रिस्टियानो’ लन्च गर्दाको समारोहमा भनेका थिए, ‘यो नयाँ यात्रामा मसँगै जोडिनुहोस् ।’

आफ्ना सामाजिक सन्जालका फलोअर्सलाई क्रिस्टियानो परिवारका सदस्य बताउँदै सोहीअनुसारको युट्युब च्यानलको नामकरण गरेको बताएका उनले यसमा मैदान बाहिरका आफ्नो र परिवारको गतिविधिलाई पस्कने बताएका छन् । चौथो दिनसम्म आइपुग्दा चार मिनेटभन्दा छोटा १३ भिडियो र सात ‘सर्ट्स’ मात्रै अपलोड गरेका उनले भनेका छन्, ‘सामाजिक सन्जालमा भएका फ्यानसँगको बलियो सम्बन्धका कारण म सधैं पुलकित हुने गर्छु, त्यसैले युट्युब मेरा लागि अझ ठूलो प्लेटफर्म बन्नेछ भने मेरा शुभचिन्तक, फलोअर्सले यसमा म, मेरो परिवार र विभिन्न विषयवस्तुका बारेमा मेरो धारणा बुझ्न पाउनेछन् ।’

च्यानल लन्चको केवल १२ घण्टाभित्रै एक करोड फलोअर्स पाएर युट्युबको डायमन्ड क्रिएटर अवार्ड जितेका रोनाल्डोले अमेरिकी इन्फ्लुएनसर जेम्स स्टेफन डोनाल्डसन उर्फ मिस्टर बिस्टको नाममा रहेको सर्वाधिक छिटो २ करोड सब्स्क्राइबर्स पुर्‍याएको रेकर्डलाई पनि एक दिनमै तह लगाईदिएका छन् । सन् २०१२ देखि युट्युबमा भिडियो कन्टेन्ट अपलोड गर्न थालेका मिस्टर बिस्ट हालका सर्वाधिक ३१ करोड २० लाख सब्स्क्राइबर भएका युट्युबर हुन् । उनले गत जेठ २० मा मात्रै २६ करोड ७० लाखसहित सर्वाधिक सब्स्क्राइबर भएको भारतीय म्युजिक कम्पनी टी सिरिजलाई उछिनेका थिए भने गत असार २६ मा आफ्नो सब्स्क्राइबर संख्या ३० करोड पुर्‍याएका थिए ।

हाल टी सिरिज २७ करोड २० लाख सब्स्क्राइबरसहित दोस्रोमा, कोकोमेलन नर्सरी राइम्स १८ करोडसहित तेस्रो र सेट इन्डिया १७ करोड ६० लाख सब्स्क्राइबर सहित चौथो स्थानमा छन् । हजारौं भिडियो अपलोडसहित वर्षौं लगाएर यति सब्स्क्राइबर बनाएका यी च्यानलका लागि यतिबेला रोनाल्डोको रफ्तार चुनौती बनिरहेको छ ।

जबकि रोनाल्डोले न उल्लेख्य भिडियो नै अपलोड गरेका छन्, न त लामा र रोचक लाग्ने नै छन् । खैर,रोनाल्डोका लागि पनि अब मिस्टर बिस्टले १४ वर्ष लगाएर बनाएको रेकर्डलाई तोड्दै युट्युबको सर्वाधिक

सब्स्क्राइबरको नयाँ कीर्तिमान राख्नु अर्को चुनौती भने छ नै, त्यो पनि उनले कति दिनभित्रमा पार गर्लान् ? उनका फ्यानका लागि चासो हुनेछ ।

प्रकाशित : भाद्र १०, २०८१ ०७:२७
x
×