कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक विजय

भाद्र १०, २०८१
पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक विजय

रावलपिन्डी — स्पिनर मेहिदी हसन मिराज र शकिब अल हसनले एकआपसमा ७ विकेट लिएपछि बंगलादेशले पहिलो टेस्टमा आइतबार रावलपिन्डीमा पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । पाकिस्तानमाथि बंगलादेशको टेस्ट क्रिकेटमा यो पहिलो विजय हो ।

मेहिदीले २१ रन खर्चेर ४ र शकिबले ४४ रन खर्चेर ३ विकेट लिएपछि घरेलु टोली पाकिस्तान पाँचौं तथा अन्तिम दिनको खेलमा ५५.५ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । त्यसपछि बंगलादेशलाई विजयका लागि आवश्यक ३० रन जाकिर हसन र सदमान इस्लामले ६.३ ओभरमा जोडेका थिए । विजयी चौका प्रहार गरेका जाकिर १५ र सदमान ९ रन बनाई अविजित रहे । विजयपछि बंगलादेशका खेलाडीले मैदानमै ठूलो खुसी मनाएका थिए ।

मोहम्मद रिजवानले पाकिस्तानबाट दोस्रो इनिङ्समा सर्वाधिक ५१ रन बनाए । उनले ६ चौका प्रहार गरे । घरेलु टोली भोजनको समयमा १०८–६ को स्थितिमा पुगिसकेपछि नै पराजतर्फ उन्मुख भएको थियो । बिदाको दिन मैदान पुगेका झन्डै ५ हजार दर्शकले पाकिस्तानले टेस्ट बराबरी गर्न आशा राखेका थिए । तर मेहिदीले लगातार दुई ओभरमा अन्तिम दुई ब्याटर रिजवानलाई बोल्ड र अन्तिम ब्याटर मोहम्मद अलीलाई शून्यमा एलबीडब्लू आउट गरेर बंगलादेशलाई ऐतिहासिक विजय दिलाए ।

बंगलादेशका कप्तान नाजमुल हुसैन शान्टोले यस विजय हालै ढाकामा प्रदर्शनका क्रममा मृत्यु भएका आफ्ना देशका नागरिकप्रति समर्पित गरे । आफ्नो २६ औं जन्मदिनका दिन बंगलादेशले पाकिस्तानलाई पराजित गर्नु झन् विशेष भएको उनले बताए । टेस्ट क्रिकेटमा खासै जित्न नजानेको भनेर बंगलादेशको आलोचना हुँदैं आएको छ । तर अहिले टोलीले अस्ट्रेलिया, इंग्ल्यान्ड र पाकिस्तानलाई पराजित गरिसकेको छ । १ सय ४३ टेस्ट खेल्नेक्रममा बंगलादेशले छैटौं टेस्ट विजय हात पारेको हो ।

पाकिस्तानका कप्तान शन मसुदले हार निराशाजनक भएको जनाए । उनले भने, ‘हामीले बंगलादेशलाई कमजोर आँकेका थिएनौं, तर पिचले सोचेअनुरूपको व्यवहार देखाएन ।’ पहिलो चार दिनको खेलमा कुनै मुभमेन्ट नदेखाएको पिच पाँचौं दिनमा चर्किएपछि त्यसले बंगलादेशका स्पिनरहरूलाई सहयोग गरेको थियो ।

जबकी पाकिस्तानले आफ्नो टोलीमा एउटै मुख्य स्पिनर पनि राखेको थिएन । पाकिस्तानले घरेलु मैदानमा खेलेको पछिल्ला ९ टेस्टमा ५ मा पराजय भोगेको छ भने ४ बराबरीमा रोकिएको छ । पाकिस्तानले बंगलादेशविरुद्धको यसअघिका १३ मध्येको १२ टेस्ट जितेको थियो, त्यसमा ६ टेस्ट इनिङ्सका आधारमा जितेको थियो । एउटा टेस्ट बराबरी भएको थियो ।

प्रमुख ब्याटर बाबर आजमले २२ र कप्तान मसुदले १४ रन बनाए । पहिलो इनिङ्समा शतक बनाएका साउद सकिल ४ बल खेली शून्यमा आउट भए । पहिलो इनिङ्सका आधारमा १ सय १७ रनले पछाडि परेको पाकिस्तानले आइतबारको खेल २३–१ को स्थितिमा सुरु गरेको थियो र दिनको खेलको दोस्रो ओभरमै मसुदलाई हसन महमुदले बोल्ड गरेका थिए । तीब्र बलर सोरिफुल इस्लामको बलमा विकेटकिपर लिटोन दासले आजमको नियमित क्याच नछाडेको भए पाकिस्तान २८–३ को स्थितिमा पुग्ने थियो । आजमले ३ चौका प्रहार गर्दै पाकिस्तानलाई खेलमा फर्काउने आशा देखाएका थिए । तर उनी तीव्र बलर नहिद रानाको बलमा एज लागेर आउट हुन पुगे ।

यस पराजयपछि पाकिस्तान ९ टोली सम्मिलित विश्व टेस्ट च्याम्पियनसिपमा आठौं स्थानमा झरेको छ भने बंगलादेश छैटौं स्थानमा आएको छ । दोस्रो तथा अन्तिम टेस्ट शुक्रबारदेखि रावलपिन्डीमै हुनेछ ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:०६
x
×