कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

प्रगतिपथमा लम्किरहेको भुटानविरुद्ध नेपाल

भाद्र ९, २०८१
प्रगतिपथमा लम्किरहेको भुटानविरुद्ध नेपाल

Highlights

  • साफ यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आइतबार पुराना प्रतिद्वन्द्वी नेपाल र भुटान आमनेसामने

काठमाडौँ — फुटबलमा नेपालको प्रिय प्रतिद्वन्द्वी भुटान हो भन्ने गरेको तथ्य नै हो । खेल्यो कि जित्यो । तर, अब यी पुराना कुरा भए । भुटान अचेल दक्षिण एसियाली फुटबलमा दरिलो चुनौती पेस गर्ने टिम भइसकेको छ ।

नेपाली फुटबलमा आजभोलि सुन्न पाइन्छ, भुटानमा फुटबलका यति मैदान छन् कि एसियाली फुटबल महासंघ (एएफसी) मा भुटानी पकड बलियो बन्दै छ । यसमा ईर्ष्या धेरै देखिन्छ, त्यसबाट पाठ सिक्ने इच्छा भने कम ।

साफ यू–२० च्याम्पियनसिपको आइतबार हुने पहिलो सेमिफाइनलमा यिनै दुई टिम नेपाल र भुटान भिड्दैछन् । साँच्चै नेपाल र भुटानी फुटबलको प्रतिद्वन्द्विताबारे धेरै कथा सुन्न पाइन्छ । जतिबेला सेमिफाइनलको नतिजा आउने छ, त्यो एउटा अर्को कथा हुनेछ । सोमबार दोस्रो सेमिफाइनल हुनेछ । त्यसमा भिड्नेछन् भारत र बंगलादेश । भारत डिफेन्डिङ च्याम्पियन भइहाल्यो । प्रतियोगिताको पछिल्लो संस्करणको फाइनलमा भारतले कसलाई हराएको याद छ त ?

यो अरू नभएर बंगलादेश नै थियो । त्यसैले यो खेलमा बदला लिने जस्तो भाव हुनेछ । दशरथ रंगशालाको मैदानी स्थितिलाई लिएर जसरी सुरुमै प्रतियोगिताबारे अन्योल र अनिश्चित थियो, त्यो अब रहेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै भइरहेर यो प्रतियोगिता नकआउट चरण पुगेको छ । जतिबेला फुटबलले मैदानमा गति पाउँछ, जित यो खेलकै हुन्छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगितामा अब के हुनेछ, त्यसले अबको केही वर्षसम्म यो क्षेत्रको फुटबल निर्भर हुनेछ ।

यी सबै पृष्ठभूमिमा अब हेरौं, सेमिफाइनल पुगेका चार टिम के कस्ता छन् :

नेपाल

एक अर्थमा नेपाललाई समूह ‘ए’ जित्न गाह्रो भएन । अर्कोतर्फ यो समूह जित्दै गर्दा टिममा समस्या पनि त धेरै देखिए । नेपालले सुरुमा श्रीलंकालाई १–० ले हराएको थियो, त्यसपछि बंगलादेशमाथि २–१ को जित रचेको थियो । विशेषतः बंगलादेशविरुद्धको खेलमा नेपालले सुरुमै दुई गोल त गरेको थियो । त्यसपछिको समयमा दबाबमै आएर खेल्यो । बंगलादेशी टिमले नेपाललाई आत्तिएर खेल्न बाध्य पारेको थियो । यसको स्पष्ट एउटा कारण थियो, नेपालले बलमाथि आफ्नो नियन्त्रण कायम राख्न सकेन ।

नेपाली टोलीका प्रशिक्षक हुन्, उर्जन श्रेष्ठ । मिडियासँग कुरा गर्दा उनी प्रायः प्रसन्न मुद्रामा देखिन्छन् । जस्तै नतिजामा पनि हाँसेर जवाफ फर्काउन सक्छन् । यिनै प्रशिक्षक पनि गम्भीर भएर भन्छन्, ‘बंगलादेशमाथि हामी दबाबमै रह्यौं ।’ त्यसैले उनको अबको प्रयास हो, नेपाली टिममा रहेका कमजोरी सच्याएर खेल्ने । सेमिफाइनल समीकरण तय भएयता उनले भुटानका दुवै खेल ध्यानपूर्वक हेरेका छन् । त्यस टिमको एक खाले खाका तयार पारेका छन् ।

त्यसकै आधारमा उनले शनिबार आफ्ना खेलाडीलाई भेला गराएर सैद्धान्तिक पक्ष सुनाए । त्यसअघि उनले भने, ‘जतिबेलासम्म हामीले ठोस केही जित्न सक्दैनौं, त्यतिबेलासम्म यस्तै हो भने ठूलो दाबी गर्दैनौं ।’ उनी के मान्छन् भने भुटानी टिम अब पहिले जस्तो रहेन, अहिले काठमाडौंमा रहेको टिम राम्रो छ । त्यसैले यो भुटानी टिमलाई सजिलो प्रतिद्वन्द्वी त मान्नै सक्दैनौं ।

भुटान

भुटानी टोलीका प्रशिक्षक हुन्, जापानका हिदेहारु ताकाहासी । जति बेला उनी मिडियासामु प्रस्तुत हुन्छन्, उनको पहिलो भनाइ नै हुने गर्छ, आफ्नो अंग्रेजी राम्रो छैन । धेरै अर्थमा उनका कुरा ठ्याक्कै बुझ्न गाह्रै छ । तर जतिबेलादेखि जापानले भुटानी फुटबललाई प्राविधिक सहयोग गर्न थालेको छ, स्तरले उकाली चढिरहेको छ । यति बुझ्न चाहिँ गाह्रो छैन । त्यसकै नमुना त हो भुटान सेमिफाइनल पुग्नु । भुटान समूह ‘बी’ को उपविजेता रह्यो । माल्दिभ्सविरुद्ध प्राप्त जितले टोलीलाई सेमिफाइनल पुर्‍याएको थियो ।

भारतलाई पनि गाह्रै पारेको थियो भुटानले । अहिलेको प्रतियोगिता खेलिरहेको भुटानी टिमको सबैभन्दा बलियो पक्ष भनेकै टिम प्राविधिक रूपमा बलियो देखिन्छ । फुटबलको ‘टेक्स्ट बुक’ जस्तो पाठ सिकाइएको हुन्छ, त्यसै अनुसार शृंखलाबद्ध पास दिएर खेल्ने गर्छन् । त्यस अर्थमा भुटानी टिमको खेल हेर्दा मज्जा आउँछ । प्रशिक्षक ताकाहासीले के भनेका छन् भने आफ्नो टिम सेमिफाइनल त यसअघि नै पुगिसकेको छ, अबको लक्ष्य भनेको त्योभन्दा अगाडि जाने हो ।

त्यसका लागि भुटानीले काट्नुपर्ने भनेकै नेपालको चुनौती हो । यो खेल त्यही पृष्ठभूमिमा हुन लागेको छ, जसमा पारो एफसीले एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइजलाई हराएको थियो । यसअघि दुई देशबीचको राष्ट्रिय टोलीको भिडन्त पनि बराबरीमा टुंगिएको थियो । यहाँनिर भुटानी कप्तान पेमा जाङ्पोको भनाइ फेरि दोहोर्‍याएर सुन्नुपर्ने हुन्छ । उनले सुरुमै भनेका थिए, ‘भुटान खेल्नकै लागि मात्र नेपाल आएको होइन ।’

भारत

एउटा तथ्य स्पष्ट छ, जसरी राष्ट्रिय टोलीका खेलमा भारतको वर्चस्व रहँदै आएको छ, दक्षिण एसियाली फुटबलको उमेर समूहका प्रतियोगितामा पनि यही टिम हाबी हुने गरेको छ । त्यसैले त भारत यो प्रतियोगिताको दुईपल्टको डिफेन्डिङ च्याम्पियन हो । भारतले समूह ‘बी’ पनि सजिलै जित्यो भन्दा हुन्छ । भलै, माल्दिभ्सविरुद्धको खेलमा टोलीलाई प्रतियोगिताबाटै बाहिरिने डर थियो । सेमिफाइनल पुगेका टिममध्ये सबैभन्दा कम गोल गर्ने टिम भारत नै हो ।

यहाँनिर के भुल्नुहुन्न भने भारत नै त्यस्तो एकमात्र टिम हो, जसले गोल पनि त खाएको छैन । लिग चरणका दुवै खेलमा भारत क्लिनसिट राख्न सफल रह्यो । भुटान र माल्दिभ्सविरुद्ध समान एक गोलको जित । एकाध अवसरबाहेक भारतको रक्षापंक्ति मबजुत देखिएको छ । हो, भारतको आक्रमण भने निर्णायक हुन सकेको छैन । लगातारको आक्रमण हेर्दा भारतीय टिमको स्तर एक पाइला अगाडि नै देखिन्छ । भारतीय खेलाडीमा एक खाले परिपक्वता पाइन्छ ।

प्रशिक्षक रञ्जन चौधरी भन्छन्, ‘निश्चित रूपमा हामीले धेरै गोल गर्न सकेका छैनौं, त्यसलाई सच्चाएर अब खेल्नेछौं ।’ निकै अनुभवी प्रशिक्षक हुन्, चौधरी । भारतीय घरेलु फुटबलमा उनले अनेकन टिम हेरिसकेका छन् । उनले त्यसैको अनुभव आधार मानेर भनेका छन्, ‘यसपल्ट सेमिफाइनल पुग्ने चारै टिम राम्रा छन्, यसमा कुनै दुईमत छैन । हामी बंगलादेशलाई पनि बलियो प्रतिद्वन्द्वी नै मान्छौं ।’ उनको फुटबल सिद्धान्तमा लेखिएको छ, खेल जित्नैका लागि खेलिन्छ, त्यसैले आक्रामक हुनुपर्छ ।

बंगलादेश

यो प्रतियोगिता खेलेका ६ टिममध्ये सबैभन्दा अनुभवी र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी बोकेर आएको छ बंगलादेश । कप्तान मेहदी हसन स्राबोनले बंगलादेशबाट त एकभन्दा बढी अवसरमा खेलिसके, त्यसबाहेक उनी बसुन्धरा टिमका खेलाडी हुन् । यो कुरा बेग्लै हो कि उनकै भुलका कारण नेपालले बंगलादेशविरुद्ध पहिलो गोल निकालेको थियो । बंगलादेशी टिम एउटा समस्याबाट पनि गुज्रिएको थियो । त्यहाँ चलेको राजनीतिक परिवर्तनका कारण टिमले धेरै अभ्यास र प्रशिक्षण गर्न पाएन ।

त्यसैले खेलाडीको फिटनेसलाई लिएर समस्या छ । तर, प्रशिक्षक मारुफुल हक असाध्यै धेरै सकारात्मक छन् । उनले पनि बंगलादेशको राष्ट्रिय टिम हेरिसकेका छन् । उनी बंगलादेशी घरेलु फुटबलमा एक दर्जनभन्दा बढी उपाधि जितिसकेका प्रशिक्षक हुन् । असाध्यै धेरै कूटनीतिक कुरा गर्न सिपालु छन् उनी । भन्छन्, ‘हाम्रो टिमले अहिलेसम्म जति खेलेको छ, त्यसमा सन्तुष्ट छु । टिमले अझ राम्रो गर्न सक्ने ठाउँ छँदै छ ।’

सेमिफाइनलमा भारत प्रतिद्वन्द्वी पाउनु अगाडि नै उनले भनेका थिए, ‘अब हामीले नकआउट चरणमा कोसँग खेल्ने हो, त्यो ठूलो कुरा भएन । उपाधि जित्ने हो भने त्यो टिमले आफूले सामना गरेका प्रत्येक टिमलाई हराउनुपर्ने हुन्छ । बंगलादेशी टिमले पनि यही गर्ने प्रयास गर्नेछ ।’ एउटा छुटाउनै नहुने तथ्य, बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण यो टिम असाध्यै उत्साही छ । यो उत्साहलाई बंगलादेशी टिम फुटबल मैदानमा पनि उतार्न चाहन्छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:१७
x
×