कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

राष्ट्रिय एमेच्योर बुद्धिचालमा पुरुषोत्तम र रिसोनको अग्रता

राष्ट्रिय एमेच्योर बुद्धिचालमा पुरुषोत्तम र रिसोनको अग्रता

काठमाडौँ — छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सीएम पुरुषोत्तम चौलागाईं र १८६२ रेटेड खेलाडी रिसोन थापाल ३ अंक जोडर अगाडि छन् ।

नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा झापाको मेचीनगरमा सञ्चालन भइरहेको प्रतियोगितामा सीएम पुरुषोत्तमले १८१० रेटेड विश्व विजय घिमिरे,१७९६ रेटेड निलम बस्नेत र पूर्वनेपाल च्याम्पियन १८८५ रेटेड सीएम नवीन तण्डुकारलाई पराजित गरेका थिए ।

युवा खेलाडी रिसोनले क्रमशः १७१४ रेटेड नारायण राई, महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशी र १८१७ रेटेड चूडामणि कुलुङमाथि जित पाए । चौथो चरणमा रिसोनले कालो गोटीबाट पुरुषोत्तमसँग आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

एमेच्योर च्याम्पियन बनेर दुबईमा हुने एसियन एमेच्योर प्रतियोगितामा भाग लिने दौडमा रहेका १८९१ रेटेड विकास मैनाली, पूर्व विजेता १८८५ रेटेड सीएम कृष्ण थापा र १८९६ रेडेट आशिष फुयाल २ जित र एक बराबरी खेल्दै २.५ अंक जोडेर संयुक्त दोस्रो स्थानमा छन् ।

सोही समूहमा प्रतिस्पर्धा गरिरहेकी महिला नेपाल च्याम्पियन सिन्दिराको खेल सन्तोषजनक रहन सकेन । सेप्टेम्बरमा हंगेरीमा हुने चेस ओलम्पियाडका लागि ग्रान्ड मास्टरसँग प्रशिक्षण लिएकी महत्त्वपूर्ण खेलाडी पराजित भएकी हुन् ।

चेस ओलम्पियाड टोलीका १६८७ रेटेड महिला खेलाडी पूजा भण्डारीले भने औसत खेल प्रदर्शन गरेकी छन् । उनले १७०० रेटिङमुनि तेस्रो चरणमा युवा उदीयमान खेलाडी एरिना क्यान्डिडेड मास्टरमाथि रोमाञ्चक जित पाइन् । उनले दोस्रो चरणमा अर्का युवा खेलाडी विष्णुलाल लिम्बूसँग बराबरी खेलेकी छिन् । पूजाको २.५ अंक छ ।

१७०० रेटिङमुनि चौथो चरणपछि १६९९ रेटेट रञ्जित राई, १६२६ रेटेड कपिल गुरुङ र १६४८ रेटेड शिवकुमार बिकले समान ४ अंक बनाएर संयुक्त अग्रता लिएका छन् ।

१६९४ रेटेट गोविन्दमान श्रेष्ठ र १५९८ रेटेड कृष्णप्रसाद सिग्देलले ३ जित र १ बराबरी खेल्दै ३.५ अंक जोडेर संयुक्त दोस्रो स्थान लिए ।

प्रतियोगिताका प्रमुख निर्णायक सिनियर राष्ट्रिय आर्बिटर सोराज ताम्राकारका अनुसार छैटौं राष्ट्रिय एमेच्योर चेस समूह ‘क’ को खेल ७ चरणको हुनेछ भने १७०० मुनिको समूह ‘ख’ को खेल ९ चरणको हुनेछ । उनले विजेता खेलाडीले २ लाख ८२ हजार पुरस्कार प्राप्त गर्ने जानकारी गराए ।

प्रकाशित : भाद्र ८, २०८१ २०:४७
x
×