कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

साफ यू-२० च्यापियनसिप : श्रीलंकाको दोस्रो हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा

साफ यू-२० च्यापियनसिप : श्रीलंकाको दोस्रो हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा

काठमाडौँ — बंगलादेशले मंगलबार श्रीलंकामाथि सहज जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपमा सुखद् सुरूवात गरेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ए को खेलमा बंगलादेशले श्रीलंकामाथि २–० को जित निकालेको हो ।

श्रीलंकाको हारसँगै यो समूहबाट बंगलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन् । तीन राष्ट्र सम्मिलित समूहमा श्रीलंकाले लगातार दोस्रो हार व्यहोरेपछि सेमिफाइनलमा पुग्ने टोली तय भएको हो । श्रीलंकाले पहिलो खेलमा घरेलु टोली नेपालसँग १–० को हार व्यहोरेको थियो ।

अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीबार खेल हुनेछ । मंगलबार बंगलादेशले श्रीलंकालाई पहिलो हाफ पूर्ण दबाबमा राखेर खेल्यो ।

खेलको सुरुवातदेखि नै बंगलादेश लगातार अवसर बुनेपनि सफल हुन सकेन । तर १८ औं मिनेटमा बंगलादेशले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै अग्रता लियो ।

रवि हुसेन राउलले लेफ्ट साइडमा दिएको बललाई पेनाल्टी बक्समा एक्लै रहेका मिराजुल इस्लामले वान टच गोल गरे । २९ औं मिनेटमा रोस्तम इस्लाम डुखु मियाले अग्रता दोब्बर बनाउने अवसर गुमाए ।

उनले नजिकैबाट गरेको प्रहार आकासिन पुग्यो । बंगलादेशका चन्दन रोयले ३८ औं मिनेटमा करिब २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार श्रीलंकाका गोलकिपर अहमेद फुलैलले सहजै रोके ।

पहिलो हाफको इन्जुरी समयमा बंगलादेशका स्ट्राइकर मिराजुल इस्लाम श्रीलंकाका गोलकिपर फुलैलसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भए । श्रीलंकाले पहिलो हाफमा खासै राम्रो अवसर बुन्न सकेन । यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५९ औं मिनेट पर्खनुपर्‍यो । स्यान मोहम्मद साहिलले राइट कर्नरबाट गरेको सशक्त प्रहार बंगलादेशका गोलकिपरले पन्च गर्दै आफ्नो टोलीको अग्रता जोगाइराखे । बंगलादेशले ६३औं मिनेटमा कर्नरबाट गरेको प्रहार श्रीलंकाका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

८५ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । पियास अहमेद नोभाले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै पेनाल्टी बक्सबाटै उत्कृष्ट गोल गरे । त्यसपछि पनि बंगलादेशले केही अवसर बनाए पनि सफल हुन नसके पनि श्रीलंकामाथि २–० को जित निकाल्यो । बुधवार भूटान र माल्दिभ्सबीच खेल हुनेछ ।

प्रकाशित : भाद्र ४, २०८१ १७:३४
x
×