कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

तीव्र प्रतिस्पर्धामा १०० मिटरको स्वर्ण

श्रावण २२, २०८१
तीव्र प्रतिस्पर्धामा १०० मिटरको स्वर्ण

Highlights

  • स्प्रिन्टर नोह लायल्सले सन् २००४ यता पहिलो पटक पुरुष १०० मिटर दौडको स्वर्ण अमेरिकालाई दिलाए

पेरिस — यो आधुनिक ओलम्पिकमै सबैभन्दा नजिकको १०० मिटर दौड रह्यो । त्यसमा अमेरिकी स्प्रिन्टर नोह लायल्स पहिलो भएका छन् । त्यससँगै सन् २००४ यता पहिलो पटक पुरुष १०० मिटर दौडको प्रतिष्ठित स्वर्ण अमेरिकामा नाममा गएको छ । लायल्सले जित फोटो फिनिसमा भएको थियो ।

यसले पुरुष १०० मिटर दौडको स्वर्णका लागि अमेरिकाले गरेको २० वर्षको प्रतीक्षामा पूर्णविराम लागेको छ । एथेन्स ओलम्पिकमा अमेरिकी धावक जस्टिन ग्याटलिनले १०० मिटरमा स्वर्ण जितेका थिए ।

स्टेड डे फ्रान्समा भएको दौडमा फ्लोरियाका २७ वर्षीय धावकले जमैकाका किसन थोम्पसनलाई दोस्रो स्थानमा छाडे । अन्तर रह्यो, एक सेकेन्डको ५ हजार भागको एक अंश । अमेरिकी धावकले ९.७८४ सेकेन्ड र थोम्सनले ९.७८९ सेकेन्डमा दौड पूरा गरेको मानिएको छ । आधिकारिक समयका रूपमा ९.७९ सेकेन्ड लेखिनेछ ।

ओलम्पिकमा इलेक्ट्रोनिक टाइमिङ प्रयोग भएयता यो नै अहिलेसम्मको सबैभन्दा तीव्र प्रतिस्पर्धा रह्यो । लायल्सका अमेरिकी खेलाडी फ्रेड केरली तेस्रो भए । उनको समय रह्यो, ९.८१ सेकेन्ड । पूरा दौड नै कति धेरै प्रतिस्पर्धात्मक रह्यो भने इलेक्ट्रोनिक बोर्डले लामो समय तस्बिर मात्रै देखाइरहेको थियो । केही समयको पर्खाइपछि लायल्सले स्वर्ण जितेको निश्चित भएको थियो । यससँगै १०० मिटर र २०० मिटरका विश्व च्याम्पियन खेलाडी लायल्सले खुसीयाली मनाएका थिए ।

‘मलाई स्वर्ण पदक नै चाहिएको थियो,’ लायल्सले दौडपछि भने, ‘यो दौड असाध्यै तीव्र प्रतिस्पर्धाको रह्यो । सबैले सक्दो दौडिएर आफूलाई प्रमाणित गर्न खोजे । यसमध्ये मलाई आफू नै अब्बल रहेको निश्चित गर्नु थियो । सबैभन्दा तीव्र गतिमा दौडिने धावकमध्ये म नै उत्कृष्ट भएको छु ।’ उनले के माने भने दौडपछि आफू नै विजेता रहेकामा केही समय दुविधा भने रहेको थियो । उनले इमान्दारितापूर्वक माने, जित जस्को पनि हुनसक्ने स्थिति थियो ।

उनले थपे, ‘मलाई लागेको थियो, कतै थोम्सनको नाम विजेताका रूपमा आउने त होइन ? तर, विजेताको नाम मेरै रह्यो ।’ यो सफलतापछि लायल्सको तीन वर्षको उचारचढावपूर्ण यात्रामा पूर्णविराम लागेको छ । उनका लागि तीन वर्षअगाडिको टोकियो ओलम्पिक सुखद रहेन र उनी मानसिक स्वास्थ्य बिग्रेको स्थितिमा प्रतियोगिता नै छाड्न बाध्य भएका थिए । त्यो पनि भावविह्वल भएर । विश्व च्याम्पियनसिप भने उनका लाागि सुखद रह्यो ।

अब लायल्सले २०० सय मिटर दौडमा पनि स्वर्ण जित्नका लागि प्रयास गर्नेछन् । उनको अर्को लक्ष्य पनि छ । त्यो छ, जमैकन धावक उसेन बोल्टको नाममा रहेको दुवै विधामा नयाँ कीर्तिमान बनाउने । बोल्टले सन् २०१७ मा संन्यास लिइसकेका छन् । लायल्ससामु ओलम्पिक रिलेमा थप दुई स्वर्ण जित्ने अवसर पनि रहनेछ ।

प्रकाशित : श्रावण २२, २०८१ ०७:५३
×