कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

क्याटीले बनाइन् नयाँ इतिहास

श्रावण २१, २०८१
क्याटीले बनाइन् नयाँ इतिहास

पेरिस — जति बेला प्रत्येक वर्ष अगस्ट ३ आउने गर्छ, क्याटी लुडेकी आफूले त्यही दिन ओलम्पिकको पहिलो स्वर्ण जितेकी थिइन् । त्यति बेला उनी भर्खर १५ वर्षकी थिइन् । हाईस्कुलमा पढिरहेकी थिइन्, अविश्वसनीय रूपमा अमेरिकी टिममा परिन् र लन्डन ओलम्पिकमा पुगिन् । 

त्यहाँ पनि सबैलाई आश्चर्यमा पार्दै महिला आठ सय मिटर फ्रि स्टाइलमा स्वर्ण जितिन् । यो भयो, १२ वर्ष अगाडिको कुरा । क्याटीले यस्तै काम फेरि एकपल्ट गरेकी छन् । यसपल्ट कोही पनि आश्चर्यमा परेनन् र यो रह्यो, उनले जितेको ओलम्पिकको नवौं स्वर्ण । पेरिस ओलम्पिक २०२४ मा चुमेको यस सफलतापछि उनी लगातार चार संस्करणको ओलम्पिकमा स्वर्ण जित्ने खेलाडी बनेकी छन् । यस्तो उपलब्धि चुम्ने उनी महिलातर्फकी दोस्रो खेलाडी मात्रै हुन् । पेरिसमा भने उनले जितेको दोस्रो स्वर्ण पनि ।

यसक्रममा उनले नयाँ इतिहास बनाइन् । यसरी उनी नौ स्वर्ण जित्ने छैटौं ओलम्पियन मात्र भएकी छन् । यस्तो उपलब्धि चुम्ने अन्य महान् खेलाडी हुन्, अमेरिकाका पौडीका मार्क स्पिट्ज र एथलेटिक्सका कार्ल लुइससँगै सोभियत संघकी जिम्न्यास्टिक लारिसा लाटनिना र फिनल्यान्डकी धाविका । उनीहरूभन्दा बढी स्वर्ण जित्ने त एकै खेलाडी छन्, अमेरिकी पौडीबाज माइकल फेल्प्स । उनले भने २३ स्वर्ण जितेका छन् ।

आफ्नो खेल जीवनले तय गरेको यात्राको महत्त्वबारे क्याटी आफैं पनि अनभिज्ञ रहेकी छैनन् । उनी भन्छिन्, ‘कहीं न कहीं मैले पहिलो स्वर्ण जित्दाको भिडियो रिप्ले देख्ने गर्छु । अनि जति–जति बेला यसलाई हेर्छु, आफूले आफैंलाई फेरि यस्तै प्रदर्शन गर्नुपर्छ भनेर प्रेरित गर्छु ।’ यसपल्टको स्वर्णका लागि उनले आठ मिनेट ११.०४ सेकेन्डको समय निकालिइन् । लगभग पूरा समयमा उनी एरिआर्ने टिटमुसभन्दा पछाडि थिइन् ।

तर, अन्तिम सय मिटरमा उनी निर्णायक अग्रता लिन सफल रहिन् । फेल्प्सले मात्रै एउटा स्पर्धामा लगातार ओलम्पिकमा स्वर्ण जितेका थिए । अब क्याटीले त्यसको पनि बराबरी गरिन् । टिटमुस पनि क्याटीको प्रशंसा गर्न कन्जुस्याइँ गर्दिनन् । उनी भन्छिन्, ‘जति बेला क्याटीले पहिलो स्वर्ण जितेकी थिइन्, म भर्खर प्राइमरी स्कुलमा पढ्दै थिएँ । उनले अहिलेसम्म कति धेरै मिहिनेत गरेकी छन्, यसले पनि प्रस्ट पार्छ ।’ यी दुई खेलाडीबीच एकआपसको प्रतिस्पर्धाले दुवैलाई फाइदा पनि गरेको छ ।


प्रकाशित : श्रावण २१, २०८१ ०६:०१
×