कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

जुलियन बनिन् नयाँ ‘स्प्रिन्ट क्विन’

श्रावण २१, २०८१
जुलियन बनिन् नयाँ ‘स्प्रिन्ट क्विन’

Highlights

  • अमेरिकाको २० वर्षको खडेरीलाई रिचर्डसनले तोड्ने विश्वास गरिएको थियो तर दिन जुलियनको थियो

पेरिस — ‘मलाई पहिलो हुन खुबै मन लाग्छ ।’ क्यारेबियन आइल्यान्ड सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले आफ्नो देशका लागि पहिलो पदक जित्ने सम्भावनालाई इंगित गर्दै यस्तै भनेकी थिइन् । 

शनिबार उनले पेरिस ओलम्पिक २०२४ मा महिला सय मिटर दौडमा स्वर्ण जितेर यही सपना पूरा गरेकी छन् । सबैको ध्यान अमेरिकाकी सा क्यारी रिचर्डसनले तानेकी थिइन् । स्वाभाविक नै थियो, त्यो किनभने उनी विश्व च्याम्पियन पनि हुन् । त्यसैले रिचर्डसनलाई यस पटक बलियो प्रत्याशी मानिएको थियो ।

जस्टिन ग्याटलिनले २००४ को एथेन्स ओलम्पिकमा पाएको सफलतायता कुनै अमेरिकी खेलाडीले महिला र पुरुषको १ सय र २ सय मिटर दौडमा स्वर्ण जितेका छैनन् । अमेरिकाको २० वर्षको खडेरीलाई रिचर्डसनले तोड्ने विश्वास गरिएको थियो । अल्फ्रेड फरक अन्दाजमा थिइन् र उनले १०.७२ सेकेन्डको नतिजा निकाल्दै सनसनीपूर्ण ढंगले स्वर्ण जितिन् । रिचर्डसनले १०.८७ सेकेन्डको समय मात्र निकाल्न सकिन् । अमेरिकाकै मेलिसा जेफरसन १०.९२ सेकेन्डका साथ तेस्रो भइन् ।

ओलम्पिकको पोडियमसम्मको यात्रा २३ वर्षीया जुलियनका लागि सजिलो रहेन । उनी इसाई धर्मको पक्कापक्की अनुयायी हुन् । उनको खेल हेर्न मात्रै ६९ हजार दर्शक रंगशालामा उपस्थित थिए । यो त सेन्ट लुसियाको पूरा जनसंख्याभन्दा १ लाख १० हजार मात्रै कम हो ।

उनी भर्खर १२ वर्षकी थिइन्, आफ्नो बुबा जुलियन ह्यामल्टनलाई गुमाइन् । त्यसको पाँच वर्षपछि उनले सन् २०१८ मा ब्युनर्स आयर्समा भएको युथ ओलम्पिक गेम्सको सय मिटर दौडमा रजत पदक जितिन् । उनको जीवनमा काकी करेन अल्फ्रेडको पनि ठूलो भूमिका छ । उनले नै जुलियनलाई हुर्काएकी थिइन् । उनको पनि निधन भयो । त्यति बेला जुलियनले भनेकी थिइन्, ‘मेरो बुबाले पनि यो पदक जितोस् भन्ने चाहन्थे होला । बुबा यो अवसरमा हुन चाहन्थे होला पनि ।’

जुलियन के मान्छिन् भने यो रजत पदक नै उनको खेल जीवनको निर्णायक मोड थियो । उनको दाबी थियो, ‘यहींबाट मेरो वास्तविक खेल जीवनको सुरु भयो । यही बेला मैले आफ्नो भविष्य कता छ भनेर निर्णय गरें । यो मेरा लागि निकै गज्जबको अनुभव पनि रह्यो ।’ सम्भवतः त्यहीं ब्युनर्स आयर्समै भविष्यको ओलम्पिक च्याम्पियनको जन्म भएको थियो । नत्र उनी आफ्नो बुबालाई गुमाएपछि कति धेरै हतास भएकी थिइन् भने एथलेटिक्स नै छाड्ने मनस्थिति बनाएकी थिइन् ।

१४ वर्षको उमेरमा उनले पढाइका लागि जमैका जाने निर्णय गरिन् । यो त्यो देश थियो, जहाँबाट उनको आदर्श युसेन बोल्ट खेल्थे । जमैका जान जुलियनले आफ्नो घर र परिवार छाडिन् । यो साताको सुरुमै उनले भनेकी थिइन्, ‘म भर्खर १४ वर्षकी थिएँ र यो सजिलो समय थिएन । तर, मैले जमैका जाने मौका पाएँ र यो ठूलो अवसर थियो । मेरी आमाले पनि यसका लागि स्वीकृति दिनुभयो । आमाले पर्दैन भन्नु भएन । मलाई जाने इच्छा नै छ भने जानु भन्नुभएको थियो ।’

यो यस्तो निर्णय थियो, जसले कालान्तरमा जुलियनलाई परिपक्व बनायो र उनी समयभन्दा पनि चाँडै परिपक्व भइन् । उनी पुरानो दिन सम्झेर भन्छिन्, ‘आफ्नो परिवार र साथीबिना हुर्किन सजिलो हुन्न । मलाई परिस्थिति आफ्नो अनुकूल बनाउन निकै गाह्रो भएको थियो ।’ जुलियनलाई मायाले ‘जुजु’ पनि भन्ने गरिन्छ । उनलाई त्यति बेला पनि लागेको थियो, सायद उनीसँग बोल्टले जस्तै स्वर्ण जित्ने क्षमता छैन ।

तर, उनको जीवनमा अर्को मोड आयो, उनको खेल जीवनको जिम्मेवारी युनिभर्सिटी अफ टेक्सासका एडरिन फ्लोरियलले उठाए । उनी त्यही प्रशिक्षक हुन्, जसले सय मिटरकी युरोपेली च्याम्पियन डिना एसर स्मिथ र आयरल्यान्डकी रसिडाट एडेलेकेलाई प्रशिक्षण दिने गर्छन् । आफ्नो नयाँ प्रशिक्षकको रेखदेखमा उनी उत्कृष्ट स्प्रिन्टरमा परिणत भइन् । उनी अहिले भन्छिन्, ‘फ्लोरियल मेरा लागि बुबा, प्रशिक्षक र मेन्टर सबै हुन् ।’

उनी थप्छिन्, ‘खेल जीवनको यो स्थितिमा दबाब निकै हुन्छ । मलाई प्रशिक्षकले खेलाडीभन्दा पनि एक छोरीका रूपमा व्यवहार गरिन् ।’ यी प्रशिक्षक पनि मान्छन्, जुलियनले पछिल्लो समय आफूलाई जुनियर खेलाडीबाट उच्चकोटिको एथलेटमा परिणत गरेकी छन् । त्यसैले पनि जुलियनले सय मिटर दौडमा १०.७२ सेकेन्डको समयमा दौड पूरा गरिन् र यस क्रममा स्वर्णका लागि सबैभन्दा बलियो प्रत्याशी साकारी रिचर्डसनलाई दोस्रो स्थानमा पछाडि छोड्न सफल रहिन् ।

सेन्ट लुसियाकी जुलियन अल्फ्रेड सय मिटर दौड पूरा गरेपछि । तस्बिर : एएफपी

प्रकाशित : श्रावण २१, २०८१ ०५:५९
×