रहरै रहरले ओलम्पिकको यात्रा

पेरिस ओलम्पिक २०२४ मा राष्ट्रिय कीर्तिमान तोड्दै उत्कृष्ट प्रदर्शन गर्ने सुटिङकी सुस्मिता नेपालको लक्ष्य

श्रावण ३, २०८१

ध्रुव तुलाधर

Journey to the Olympics with passion

काठमाडौँ — सुस्मिता नेपालले सुटिङ खेलको राइफलबाट निसाना लगाउन थालेको आठ वर्ष पुग्ने क्रममा छ । यस अवधिमा उनले आफूलाई ओलम्पियन खेलाडीका रूपमा उभ्याएकी छन् । आसन्न पेरिस ओलम्पिकमा नेपालबाट भाग लिने सात खेलाडीमध्ये उनी एक हुन् ।

ओलम्पिक खेल्नु हरेक खेलाडीको सपना हो । विश्व खेलकुदको महाकुम्भमा भाग लिने यही सपना पूरा गर्ने क्रममा छिन्, २४ वर्षीया सुम्मिता । यही जुलाई २६ देखि फ्रान्सको पेरिसमा ३३ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । 

सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा पेरिस ओलम्पिक उद्घाटनको पर्सिपल्ट जुलाई २८ मा हुनेछ । अहिले उनी ओलम्पिकका लागि सातदोबाटोस्थित सुटिङ रेञ्जमा अन्तिम तयारी जुटिरहेकी छन् । अनुभवी सुटिङ प्रशिक्षक प्रदीप खातीको निगरानीमा उनको प्रशिक्षण भइरहेको छ । 

कस्तो छ त ओलम्पिक तयारी ? सुस्मिताले फ्याट्टै जवाफ दिइन्, ‘राम्रो । आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयासमा केन्द्रित छु ।’ त्यो उत्कृष्ट भनेको राष्ट्रिय कीर्तिमान तोड्दै अगाडि बढ्नु हो । उनले थपिन्, ‘मेरो लक्ष्य पेरिसमा प्रारम्भिक चरण पार गर्नेछ । राम्रो स्कोर गर्न सकें भने त्यो लक्ष्य पूरा गर्न सक्छु भन्ने आशा छ ।’

Journey to the Olympics with passionट्रेनिङमा हानेको स्कोरका कारण सुस्मिताको आत्मविश्वास बढेको हो । अहिले ट्रेनिङमा आफूले ६२३ देखि ६२८ सम्म स्कोर गरिरहेकी उनी सुनाउँछिन् । ६२८ भन्दा बढी स्कोरका खेलाडी सन् २०२१ मा भएको टोकियो ओलम्पिकमा फाइनल चरण पुगेका थिए । त्यो चरण भनेको सुटिङमा शीर्ष आठको यात्रा हो । टोकियोमा नेपालकी कल्पना परियारले ६१६.८ स्कोर गरेकी थिइन् । उनी ५० प्रतिस्पर्धीमा ४६ औं स्थानमा थिइन् । जुन उनको राष्ट्रिय कीर्तिमान पनि थियो ।

अहिलेसम्म ओलम्पिकमा नेपाली सुटिङ खेलाडी कोही पनि अघिल्लो चरण पुगेका छैनन् । तर, सुस्मिता त्यो इतिहास तोड्नुपर्छ भन्ने ध्येयमा छिन् । यस ओलम्पिक यात्रासम्म आइपुग्दा सुस्मिताले दर्जन जति अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छन् । त्यसमा दुई एसियाली खेलकुद, एक दक्षिण एसियाली खेलकुद र एसियन च्याम्पियनसिपहरू छन् । 

ओलम्पिक छात्रवृत्तिमा रहेर ट्रेनिङ गरेकी खेलाडी हुन् उनी । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक सोलिडारिटीको सहयोगमा टोकियो ओलम्पिकलगत्तै विभिन्न खेलका १० खेलाडीलाई छात्रवृत्तिमा राखेको थियो । त्यसका लागि उनीहरूले मासिक ७५० अमेरिकी डलर पाएका थिए । छात्रवृत्तिको उद्देश्य खेलाडीलाई ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन र प्रशिक्षण गर्न सहज होस् भन्ने हो । सुस्मितालाई पनि त्यसले प्रशिक्षणदेखि प्रतियोगिताहरूमा भाग लिन ठूलो सघाउ पुग्यो । तिनै छनोट प्रतियोगिताहरू गरेको प्रदर्शनका आधारमा उनले ओलम्पिक छनोट हुन चाहिने आवश्यक न्यूनतम स्कोर (आईक्यूएस) पूरा गरेकी थिइन् । जसले गर्दा उनी युर्निभर्सालिटी कोटाको हकदार भइन् । 

Journey to the Olympics with passionसुस्मितासहित छात्रवृत्तिमा रहेका ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले पनि पेरिस ओलम्पिक खेल्नेछन् । पेरिसमा भाग लिने अन्य खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा हुन् ।

सुस्मिताको सुटिङ यात्रा

सुस्मिताको जन्म काभेको मण्डनदेउपुरमा भएको हो भने हुर्काइ र पढाइ ललितपुर ढोलाहिटीबाट । जतिबेला उनी कान्तिपुरी बोर्डिङको कक्षा ९ मा पढ्दै थिइन् । त्यो सन् २०१६ मा हो । नेपाल सुटिङ संघले अन्तरस्कुल सुटिङ प्रतियोगिता गर्न स्कुल–स्कुलमा विद्यार्थी खोज्न थाल्यो ।

त्यही खोजीमा परेकी खेलाडी हुन् सुस्मिता । त्यति बेलासम्म उनलाई सुटिङ खेल कसरी खेलिन्छ भन्ने थाहा थिएन । राइफल (बन्दुक) चलाउन पाइन्छ भनेपछि सुस्मिताको पनि रहर जाग्यो । संघले विभिन्न स्कुलबाट खेलाडी छनोट गरी साताव्यापी प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराएको थियो ।

Journey to the Olympics with passionसोचेभन्दा राम्रो स्कोर गर्दै पहिलो स्थान हात पारिन् । त्यो पहिलो स्थान उनका लागि सुटिङ खेलाडी बन्न ‘टर्निङ प्वाइन्ट’ भयो । जुन प्रतियोगिता सातदोबाटोकै सुटिङ रेन्जमा भएको थियो । अहिलेका गुरु प्रदीपले उनीभित्रको प्रतिभा चिनिहाले । सुस्मितालाई सुटिङमै रत्याउन सके भविष्यमा राम्रो खेलाडी बन्ने प्रदीप गुरुको दिमागमा ‘क्लिक’ भयो । त्यसपछि सुस्मितालाई सुटिङ खेलाडी बन्न प्रोत्साहित गरिरहे । अनि सुस्मिताको पनि राइफल चलाउने हुटहुटी खेलाडी बन्ने दिशामा अग्रसर बन्यो । ट्रेनिङ गर्दै गइन्, खेल्दै गइन्, झन्–झन् उनको रुचि बढ्दै गयो । 

सुस्मिता भन्छिन्, ‘त्यो बेला मेरो राइफल चलाउने रहरमात्र थियो, सुटिङ खेलाडी हुन्छु भन्ने थिएन । गुरुहरूको प्रेरणा र मार्गनिर्देशनले सिक्दै गएँ, खेल्दै गएँॅ, मिहिनेत गरें, अहिले राष्ट्रिय खेलाडीको स्थानमा छु ।’ 

सुटिङ खेल्न थालेपछिको पहिलो आधिकारिक प्रतियोगिता राखेप च्याम्पियनसिप २०७४ मा १० मिटर एयर राइफलको टिम इभेन्टमा कांस्य जितेकी सुस्मिता उत्कृष्ट सुटर पनि भइन् । त्यसपछि उनको सुटिङ निसाना थप बलियो बन्यो । उनी कुवेतमा भएको एसियाली युथ क्याम्पमा परिन् । त्यसपछि १० औं एसियन एयर गन जुनियर च्याम्पियनसिप खेल्न जापान पुगिन् । २०१७ मा भएको त्यो प्रतियोगिता उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । 

नेपाली खेलाडीका लागि ओलम्पिक खेल्न पाउनु नै ठूलो उपलब्धि भएको सुनाउने सुस्मिता भन्छिन्, ‘खेलाडी भएपछि ओलम्पिक खेल्ने त सबैको सपना हुँदो रहेछ । मेरो पनि सपना बन्दै आयो । अहिले त्यो पूरा गर्ने अवसरमा छु । पेरिसमा राम्रो प्रदर्शन गर्न सकें भने त्यो मेरा लागि अर्को विशेष उपलब्धि हुनेछ ।’

प्रशिक्षक खाती पनि विगतभन्दा यसपालि ओलम्पिकमा सुटिङले राम्रो गर्ने अपेक्षा राख्छन् । उनी भन्छन्, ‘यसपालि हामी दबाबरहित छौं । सामग्रीका लागि विगतमा जस्तो चिन्ता लिनुपरेको छैन । एक वर्षअघि मात्र नयाँ राइफल, गोली, ड्रेसहरू ल्याइएको छ । त्यसमै ट्रेनिङ गराइरहेका छौं । खेलाडीले पनि अन्तर्राष्ट्रिय म्याच अनुभवहरू बटुल्न पाएका छन् । त्यसले गर्दा सुस्मिताले राम्रो गर्छिन् भन्ने अपेक्षा छ ।’

उनले थपे, ‘खेलाडीलाई दबाब महसुस नहोस् भनेर नयाँ टेक्निकमा खेलाइरहेका छौं, त्यहीअनुसार सुस्मिताले पनि टार्गेट पूरा गरिरहेकी छन् । आशा छ, उनले राम्रो गर्नेछिन् ।’ प्रशिक्षकको रूपमा खाती पनि पेरिस जानेछन् । उनको यो दोस्रो ओलम्पिक यात्रा हो । यसअघि २००८ मा उनको प्रशिक्षकत्वमा फूलमाया क्यापछापीले बेइजिङ ओलम्पिक खेलेकी थिइन् । 

हाङचाउ एसियाडपछि नै सुस्मिताले दक्षिण कोरियामा भएको एसियाली सुटिङ च्याम्पियनसिप र इन्डोनेसियामा एसियन राइफल/पेस्तोल च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् भने पाकिस्तानमा एक साताको प्रशिक्षणमा पनि भाग लिइन् । त्यसले आफूलाई अझ खारिने अवसर प्रदान गरेको उनी सुनाउँछिन् । गत जनवरीमा इन्डोनेसियामा ६१६.२ स्कोर गरेकी थिइन् । 

तीन पटक एनएनआईपीए वर्ष खेलाडी भएकी सुटर सुस्मिताले खेलसँगै पढाइ पनि अगाडि बढाइरहेकी छन् । पिनाकल एकेडेमीमा ब्याचलर्स तेसो वर्षमा अध्ययनरत उनको विषय भने बिजनेस स्टडिज छ । एक वर्षअघि विवाहबन्धन बाँधिएकी उनी परिवारबाट पनि खेललाई निरन्तरता दिलाउन पूरा सहयोग रहेको सुनाउँछिन् । 

ओलम्पिकमा नेपाली सुटिङ

नेपालले सन् १९८८ को सोल ओलम्पिकदेखि सुटिङमा सहभागिता जनाउन थालेको हो । त्यसयता रियो २०१६ बाहेक सबै ओलम्पिकमा भाग लिएको छ । एउटाबाहेक सबैमा नेपाली महिला खेलाडीले सहभागिता जनाएको इतिहास छ ।

सोल ओलम्पिकमा पार्वती थापाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् । बार्सिलोना ओलम्पिक १९९२ मा अनिता श्रेष्ठ, एटलान्टा ओलम्पिक १९९६ मा विभाश्वरी राई, सिड्नी ओलम्पिक २००० मा भगवती केसी, एथेन्स ओलम्पिक २००४ मा टीकाराम श्रेष्ठ, बेइजिङ ओलम्पिक २००८ मा फूलमाया क्यापछाकी, लन्डन ओलम्पिक २०१२ मा स्नेह राज्यलक्ष्मी राणा र टोकियो ओलम्पिक २०२० मा कल्पना परियारले नेपाली सुटिङको प्रतिनिधित्व गरेका थिए ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully