कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कमलको ह्‍याट्रिकमा आयरल्यान्ड उल्भ्स स्तब्ध

चैत्र २१, २०८०
कमलको ह्‍याट्रिकमा आयरल्यान्ड उल्भ्स स्तब्ध

काठमाडौँ — कमलसिंह ऐरीले हृयाटिक विकेटमा नेपाल ‘ए’ ले पहिलो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड उल्भस (ए) लाई सानो स्कोरमा अलआउट गरेको छ । कमलले अन्तिम ३ विकेट लगातार बलमा लिएपछि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

३९ औं ओभरमा आफ्नो सातौं ओभर लिएर आएका कमलले सो ओभरको पहिलो बलमा लिएम म्याकर्थीलाई मिडविकेटमा शाहव आलमबाट क्याच गराए । त्यसपछिको लगातार बलमा कमलले म्याथ्यु हम्फ्रेज र बेन हृवाइटलाई बोल्ड गरी हृयाट्रिक विकेट पुरा गरेका थिए ।

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड उल्भसविरुद्ध नेपाली खेलाडीको यो दोस्रो हृयाट्रिक विकेट हो । सोमपाल कामीले नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आयरल्यान्ड उल्भसविरुद्धको दोस्रो खेलमा पनि आफ्नो लगातार तीन बलमा विकेट लिएका थिए ।

कमलले ६.३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । शाहव र मौसम (श्याम) ढकालले २–२ विकेट लिए । शाहवले ९ ओभरमा १ मेडन राख्दै २१ र मौसमले १० ओभरमा ५० रन खर्चेका थिए । अर्को एक विकेट रिजनले लिए ।

आइरिस टोलीबाट केड केरमाइकलले सर्वाधिक ५१ रन बनाए । उनले ७७ बल खेली ४ चौका प्रहार गरे । कप्तान निल रकले ३२ बल खेली २ चौका र ३ छक्कासहित ३९ रन बनाए । पिटर मुर २१ तथा जेम्स म्याकलम र स्टेफन डहनीले समान १२ रन बनाए ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीन एकदिवसीय शृंखला खेलिरहेको हो । आयरल्यान्ड ‘ए’ ले यसअघि नेपाली राष्ट्रिय टोलीसँगको दुबै ट्वान्टी २० खेल हारेको थियो भने नेपाल ‘ए’ सँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो ।

प्रकाशित : चैत्र २१, २०८० १३:१४
×