कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि

फाल्गुन ९, २०८०
सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि

पोखरा — सूर्य नेपाल वेस्टर्न ओपन बुधबार हिमालयन गल्फ क्लबका सुरु हुँदैछ । तीन दिन चल्ने यो स्पर्धा सूर्य नेपाल गल्फ टुर २०२३–२४ को चौथो प्रतियोगिता हो ।

प्रतियोगिता ५४ होलमा हुनेछ । काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्ये एक सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले सहभागी हुने छैनन् । गत महिना धरानमा इस्टर्न ओपन जितेर शुक्र भारतीय गल्फ टुरमा गएका हुन् । पूर्व नम्बर एक एमेच्योर गल्फर सुवासले भर्खरै भारतीय गल्फ टुर २०२४ सिजनका लागि कार्ड पाएका छन् ।

यस प्रतियोगितामा सूर्य नेपाल एनपीजीए म्याच प्ले विजेता दिनेश प्रजापतिसहित भुवन नगरकोटी, रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धनबहादुर थापा दाबेदार रहने छन् । राष्ट्रिय गल्फ टिमका एमेच्योर सदभाव आचार्य पनि दाबेदार छन् । सदभावले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।

३६ होल समाप्तिमा कट लागू हुनेछ । त्यसबाट १८ प्रोफेसनल खेलाडीले अन्तिम १८ होलमा स्थान बनाउने छन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलमा भाग लिन पाउने छन् ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिता विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार पुरस्कार प्राप्त गर्नेछन् । चौथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार जित्नेछन् । अन्तिम दिन शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०६:४३
×