कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

गौरिकाको राष्ट्रिय कीर्तिमान

श्रावण ९, २०८०
गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौँ — नेपालकी पौडीवाज गौरिका सिंहले २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा गौरिकाले महिला १०० मिटर ब्याकस्ट्रोकको हिट चरणमा १ मिनेट ०६.८० सेकेन्डबाट दूरी पार गरी राष्ट्रिय कीर्तिमान बनाइन् । उक्त इभेन्टमा ६१ खेलाडीले सहभागिता जनाएकोमा गौरिका ५१ औं स्थानमा रहिन् ।

गौरिकाको यसअघि १ मिनेट ७.३१ सेकेन्डको कीर्तिमान उनको नाममा थियो । उनले उक्त कीर्तिमान १२ औं दक्षिण एसियाली खेलकुदमा गुवाहाटीमा बनाएकी थिइन् । १२ औं सागमा १ रजत र तीन कांस्य जितेकी गौरिकाले १३ औं सागमा ४ स्वर्ण जितेकी थिइन् ।

अर्का पौडीवाज नासिर हुसेनले राष्ट्रिय कीर्तिमानलाई निरन्तरता दिएका छन् । उनले सोमबार २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७.२६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाए । यसअघि उनकै नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नासिरले उक्त कीर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

हिट चरणमा ७२ प्रतिस्पर्धीमा नासिर ५९ औं स्थानमा रहे । नासिरले आइतबार पुरुष ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित गरेका थिए । मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालका चार खेलाडीले भाग लिइरहेका छन् ।


प्रकाशित : श्रावण ९, २०८० ०७:०५
×