कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ — विश्वकप छनोट क्रिकेट सातौं स्थानको प्लेअफमा मंगलबारले आयरल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । जिम्बावेको हरारेमा टेस्ट राष्ट्र आयरल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । 

यसै प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध खेलेको थियो । टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो । समूह चरणमा वेस्ट इन्डिजसँगको प्रतिस्पर्धा नेपाली क्रिकेट इतिहासमा अर्को बहुप्रतीक्षित खेल रह्यो । आयरल्यान्डसँगको खेल टेस्ट मान्यता राष्ट्रसँग नेपालको तेस्रो खेल हुनेछ ।

आयरल्यान्डले सन् २०१७ मा टेस्ट मान्यता पाएको थियो । तर, पछिल्लो विश्वकप छनोटमा टोली पाँचौं मात्र हुन सकेपछि विश्वकपमा पुग्न असफल भयो । आयरल्यान्डविरुद्ध विजय हात पारेमा नेपालले आफ्नो विश्वकप छनोट यात्राकै सबैभन्दा ठूलो सफलता हात पार्नेछ ।

नेपालले विश्वकप छनोटमा चौथोपल्ट खेलिरहेको छ । आठौं स्थान यसअघिको उत्कृष्ट सफलता हो । सन् २०१८ मा जिम्बावेमै भएको पछिल्लो संस्करणमा आठौं स्थान हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । आयरल्यान्डलाई पराजित गर्न सके नेपाल ५ वर्षअगाडिको नतिजाभन्दा एक स्थान माथि उक्लने छ ।

आयरल्यान्ड भने विश्वकप छनोटको आफ्नो इतिहासमै कमजोर प्रदर्शन गरेका कारण सातौं स्थानको प्लेअफ खेलमा खेल्न बाध्य भएको छ । सन् २००७, २०११ र २०१५ को विश्वकपमा खेलेको आयरल्यान्ड २०१९ को विश्वकपमा छनोट हुन असफल रह्यो । २००७ मा टोलीले पाकिस्तानलाई हराएको थियो भने २०११ मा इंग्ल्यान्डमाथि स्मरणीय विजय पाएको थियो ।

नेपालले अघिल्लो खेलमा सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईमाथि ३ विकेटको सानदार पाएको थियो । त्यसअघि समूह चरणको पहिलो खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भयो । अमेरिकालाई ६ विकेटले पराजित गरे पनि त्यसपछि वेस्ट इन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि नेपाल सुपर सिक्स पुग्न असफल भएको थियो ।

आयरल्यान्ड भने पहिलो ३ खेलमा पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएपछि स्तब्ध आयरल्यान्ड त्यसपछि स्कटल्यान्डसँग १ विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित भयो । समूह चरणको अन्तिम खेलमा यूएईलाई १ सय ३८ रनले पराजित गरेर सान्त्वना बटुलेको आयरल्यान्डले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

प्रकाशित : असार १९, २०८० १२:४३
×