कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बझाङमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध, सदरमुकाममा खानेपानीको हाहाकार

भाद्र ३०, २०८१
बझाङमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध, सदरमुकाममा खानेपानीको हाहाकार

बझाङ — पाँच दिनदेखि अवरुद्ध भएको बझाङको विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन । विद्युत् अवरुद्ध भएसँगै सदरमुकाम चैनपुरमा खानेपानीको समेत हाहाकार हुन थालेको छ ।

बुधबार जयपृथ्वी नगरपालिकाको तमैलनजिक आएको पहिरोले पोलमा क्षति पुर्‍याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । पाँच दिन भैसक्दा पनि सुचारु हुन नसक्दा अत्यावश्यक सेवाहरूसमेत प्रभावित हुन थालेका छन् । विद्युत् अभावमा पानी तान्ने मोटर संचालन हुन नसक्दा सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको हो ।

सेती नदीको पानी मोटरले तानेर घरघरमा वितरण गर्दै आएको चैनपुर सहरी खानेपानी आयोजनाले विद्युत अभावका कारण पानी वितरण गर्न नसकेको बताएको छ । धारामा पानी आउन छोडेपछि स्थानीय सेती नदी र बाहुलीगाड खोलाको प्रदूषित पानी पिउन बाध्य भएका छन् ।

तमैलमा पहिरोले बिगारेको विद्युत्को पोल र तार मर्मत गरेलगत्तै बैतडीको भालुमारेमा दुई वटा पोल ढलेको र आइतबार बिहान छविस पाथीभेरा गाउँपालिकाको बालुवाटारमा आएको पहिरोले अर्को पोलमा क्षति पुर्‍याएपछि विद्युत् सेवा सुचारु हुन नसकेको नेपाल विद्युत् प्राधिकरणको बझाङ वितरण केन्द्रले जानकारी दिएको छ ।

विद्युत् नहुँदा मोबाइल समेत चार्ज गर्न नपाएर स्थानीयको सञ्चार सम्पर्क पनि टुटेको छ भने बन्द व्यापारदेखि कार्यालय र घरायसी कामकाजमा समेत समस्या आउन थालेको छ । लामो समयसम्म बिजुली नआउँदा होटल, मासु पसल र दुग्ध व्यवसाय गर्नेहरूलाई बढी मर्का परेको छ । विद्युत् नभएका कारण बिक्री नभएको मासु भण्डारण गर्न नपाउँदा अधिकांश मासु पसलले घाटा व्यहोर्नु परिरहेको छ । यस्तै दुधजन्य पदार्थ पनि भण्डारण गर्न समस्या भएकाले डेरी संचालकहरूले समस्या भइरहेको बताएका छन् ।

विद्युत् अवरुद्ध भएका कारण यहाँका ग्रिल उद्योग, कुटानी पिसानी मिल, फर्निचर उद्योग, बेकरी उद्योगको काम ठप्प भएको छ । ‘पहिरोले क्षति पुर्‍याएको ठाउामा नयाा पोल गाडेर तार तान्ने काम भइरहेको छ,’ वितरण केन्द्रका कर्मचारी राम कुँवरले भने, ‘एकपछि अर्को ठाउामा पहिरोले क्षति गर्दा यो समस्या भएको हो । आइतबार सााझसम्म विद्युत् सुचारु हुन्छ भन्ने आशा छ ।’ आइतबार सबेरैदेखि पोल गाड्ने काममा वितरण केन्द्रका कर्मचारी खटिरहेको उनले बताए ।

प्रकाशित : भाद्र ३०, २०८१ १५:५६
×