कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बझाङमा तीन दिनदेखि विद्युत अवरुद्ध

भाद्र २९, २०८१
बझाङमा तीन दिनदेखि विद्युत अवरुद्ध

बझाङ — वर्षाका कारण विद्युत सेवा अवरुद्ध हुँदा बझाङ तीन दिनदेखि अन्धकारमा छ । राष्ट्रिय प्रशारण लाइनमा समस्या आएपछि जिल्लाको विद्युत सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । लामो समयदेखि विद्युत अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवनका साथै व्यापार व्यवसाय र सरकारी कामकाज समेत प्रभावित भएको छ ।

विद्युत नहुँदा मोबाइल समेत चार्ज गर्न नपाएर स्थानीयको संचार सम्पर्क टुटेको छ भने बन्द व्यापारदेखि लिएर कार्यालय र घरायसी कामकाज समेत समस्या आउन थालेका छन् ।

लामो समयसम्म विजुली नआउँदा होटल, मासु पसल र दुग्ध व्यवसाय गर्नेलाई मार्का परेको छ । यस्तै, दुधजन्य पदार्थ पनि भण्डारण गर्न समस्या भएका कारण खेर फाल्नु परेको डेरी संचालक सावित्री सिंहले बताइन् । बझाङ सदरमुकाम चैनपुरमामात्र ३० भन्दा बढी मासु पसल र ८ वटा डेरी छन् ।

यस्तै विद्युत अवरुद्ध भएका कारण यहाँका ग्रिल उद्योग, कुटानी पिसानीमिल, फर्निचर उद्योग, बेकरी उद्योगको काम ठप्प भएको छ । एक ग्रिल उद्योग संचालक रमेश जोशीले विजुली नहुँदा उद्योग बन्द गरेर बस्नु परेको बताए ।

बुधबार जयपृथ्वी नगरपालिकाको तमैलनजिक आएको पहिरोले पोलमा क्षति पुर्याए पछि विद्युत सेवा अवरुद्ध भएको थियो । त्यो समस्या समाधान गर्नु अगावै बैतडीको भालुमारेमा दुई वटा पोल ढलेको र शनिबार तमैलमा पनि फेरि समस्या आएका कारण लामो समय विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रले जानकारी दिएको छ ।

‘दुवै ठाउँमा मर्मतको काम भैरहेको छ । शनिबार साँझसम्म सेवा सुचारु हुन सक्छ,’ वितरण केन्द्रका कर्मचारी राम कुँवरले भने । शुक्रबार दिनभर अवरुद्ध रहेको बझाङको टेलिफोन सेवा भने शनिबार बिहानबाट सुचारु भएको छ । लगातारको झरीका कारण रिपिटर टावरमा भएको सौर्य उर्जा प्रणाली चार्ज हुन नपाउँदा जिल्लाको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

प्रकाशित : भाद्र २९, २०८१ १४:५०
×