कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

सुदूरपश्चिममा पहाडी जिल्लामा यातायात अवरुद्ध

भाद्र २८, २०८१

धनगढी — पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा अवरुद्ध भएको छ । बिहीबारदेखि सुरु भएको लगातारको वर्षाका कारण डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा खसेको पहिरोका कारण भीमदत्त राजमार्गको सडक यातायात पूर्ण रूपमा अवरुद्ध रहेको डडेलधुरा प्रहरीले जनाएको छ । 

साहुखर्कमा बिहीबार साँझदेखि नै पहिरो खस्न थालेको हो । साहुखर्क सडकमा गएको पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराईको गन्तव्यका लागि छुटेका र तराईबाट सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि हिडेका सवारी साधन साहुखर्कमै रोकिएका प्रहरीको भनाई छ । विहीबार साँझतिर डोजरले पहिरो पन्छाउने प्रयास भए पनि राति ठूलो पहिरो खसेको छ ।

डडेलधुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खसेपछि केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । उता डडेलधुराकै आलितालमा खसेको पहिरोले जोगबुढा–बुडर सडक समेत अवरुद्ध भएको डडेलधुरा प्रहरीले जनाएको छ । डडेलधुरा प्रहरीले सूचना जारी गर्दै वर्षा नरोकिएको र पहिरो खस्ने क्रम जारी रहेकाले सतर्क रहन भनेको छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०८:४७
×