कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई महिनाअघि बाढीले भत्काएको कल्भर्ट अझै बनेन

भाद्र २५, २०८१
दुई महिनाअघि बाढीले भत्काएको कल्भर्ट अझै बनेन

कञ्चनपुर — गत असार अन्तिम साताको भीषण वर्षासँगै आएको बाढीले बेदकोट नगरपालिका–६ सुडामा रहेको पूर्वपश्चिम रामार्गको कल्भर्ट भत्कायो । कल्भर्ट भत्किएपछि केही दिन वैकल्पिक मार्ग प्रयोग भयो । एक सातापछि सडक डिभिजन कार्यालयले डाइभर्सन बनाएर राजामार्गमा यातायात सञ्चालन भयो ।

बाढीले कल्भर्ट भत्काएको दुई महिना बितिसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । जसका कारण बेलाबेलामा सवारी साधन आउजाउमा समस्या हुने गरेको छ ।

सुडामा मात्रै होइन, बाढीले भीमदत्त नगरपालिका–६ ऐठपुरमा भत्काएको कल्भर्ट पनि पुन निर्माण हुन सकेको छैन । सडकको बीचमा रहेको कल्भर्ट भत्किएपछि दायाँ र बायाँबाट आउजाउ भइरहेको छ । ‘कल्भर्ट निर्माण नहुँदा बेला बेलामा दुर्घटना भइरहेका छन्,’ स्थानीय जयराज पन्तले भने, ‘भत्काएको दुई महिनासम्म पनि कुनै सुरसार छैन ।’ उनका अनुसार रातिको सयममा डाइभर्सन नदेखिने गरेका कारण सवारी साधन दुर्घटना हुने गरेका छन् ।

उक्त क्षेत्रमा कल्भर्ट निर्माणका लागि कन्सल्ट्यान्टमार्फत डिजाइन र इस्टमेट निर्माण भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारा सिग्देलले बताए । उनले डिजाइन र इस्टमेट निर्माण सकिएपछि दसैं तिहारसम्म ठेक्का प्रक्रियामा जाने बताए ।

‘दसैं तिहारभित्र ठेक्का प्रक्रियाको काम सकिएपछि माघभित्रै निर्माण सम्पन्न हुन्छ,’ उनले भने, ‘हाम्रो नियमित बजेटबाट कल्भर्ट निर्माण गर्न सकिँदैन, यसका लागि थप बजेट माग गरेका छौं ।’ उनका अनुसार उक्त स्थानमा डबल सेल बक्स कल्भर्ट निर्माण गरिनेछ । जसका लागि २ करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

असार अन्तिम साताकै बाढीले भत्काएको भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित कल्भर्ट निर्माण पनि अझै सुरु हुन सकेको छैन । उक्त स्थानमा दुवैतर्फ कल्भर्ट निर्माण भएका छन् । सडक चौडा पार्ने योजनाअन्तर्गत उक्त क्षेत्रमा दुवैतर्फ कल्भर्ट निर्माण भएका छन् । तर बीचको कल्भर्ट बाढीले भत्काएपछि आउजाउमा समस्या भएको हो । ‘साइडका दुई कल्भर्ट निर्माणकै क्रममा यसको पनि पुन:निर्माण गर्ने ठेक्का भएको हो,’ सूचना अधिकारी सिग्देलले भने, ‘अब निर्माण कम्पनीले छिट्टै काम सुरु गर्छ ।’ यहाँ साइडतिर दुई कल्भर्ट भएका कारण त्यति धेरै समस्या छैन । तर बीचको बाटो अवरुद्ध हुँदा केही अलमल हुने गरेको छ ।

असार अन्तिम साताको बाढीले यस क्षेत्रमा पूर्व-पश्चिम राजमार्गमा पनि ठूलो क्षति पुर्‍याएको छ । दुईवटा कल्भर्ट भत्काउनुका साथै ठाउँ ठाउँमा सडक पनि कटान गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्र र कैलालीको अत्तरियाभन्दा पूर्वको क्षेत्रमा धेरै कटान गरेको छ । अहिले उक्त क्षेत्रमा सामान्य मर्मतको काम भइसकेको सिग्देलले बताए ।

‘कटान त धेरै ठाउँमा भएको छ, तर ठूलो क्षति तीन/चार ठाउँमा भयो,’ उनले भने, ‘बर्खा सकिएपछि सबै क्षेत्रमा मर्मतको काम सुरु गरिनेछ ।’

प्रकाशित : भाद्र २५, २०८१ १८:००
×