कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

प्रहरीसम्बन्धी नयाँ कानुन पहिलो प्राथमिकता : गृहमन्त्री

भाद्र २०, २०८१
प्रहरीसम्बन्धी नयाँ कानुन पहिलो प्राथमिकता : गृहमन्त्री

धनगढी — गृहमन्त्री रमेश लेखकले प्रहरीसम्बन्धी नयाँ कानुन निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । विभिन्न समयमा संशोधन हुँदै आएको २०१२ सालको प्रहरी ऐन पर्याप्त नभएको उनले बताए ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी नयाँ कानुन निर्माण पहिलो प्राथमिकतामा राखेका छौं,’ गृहमन्त्री लेखकले भने, ‘सय दिन भित्र मैले गर्नुपर्ने कामको पहिलो प्राथमिकतामा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धित कानुन निर्माणलाई राखेको छु । सय दिनभित्र सम्बन्धित कानुन संसद्मा पेस गर्छु ।’

नेपाल प्रहरीसम्बन्धी कानुन निर्णय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उनले बताए । नयाँ कानुनमा नेपाल प्रहरीका जवान र हवाल्दारसम्मलाई १६/१८ वर्षमा स्वेच्छिक अवकासको व्यवस्था गर्न लागिएको उनले बताए । त्यस्तै बेग्लाबेग्लै अवस्थामा रहेका निर्वाचनसम्बन्धी कानुनलाई पनि एकीकृत बनाएर ल्याउन लागिएको उनले बताए ।

मंगलबार सुदूरपश्चिम आएका गृहमन्त्री लेखक मंगलबार र बुधबार आफ्नो गृहजिल्ला कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएर बिहीबार कैलाली आएका छन् । बिहीबार धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा निर्मित पेट्रोल पम्पको उनले उद्घाटन गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०८१ १५:०६
x
×