कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बैतडीमा टेलिकम टावरको उपकरणमा तोडफोड

भाद्र १९, २०८१

दार्चुला — बैतडीको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकममा जडान गरिएका उपकरणमा तोडफोड भएको छ । स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दूरीमा रहेको टेलिकमको टावरमा तोडफोड भएको हो ।

सिगास गाउँपालिका–१ का वडा अध्यक्ष रामचन्द्र ऐरीकाअनुसार नेपाल टेलिकमको टावर अज्ञात समूहले तोडफोड गरिएको बताए ।

उक्त समूहले नेपाल टेलिकमको टावरमा कृषि विकास बैंक प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री, तार र सोलारपातामा तोडफोड तथा नेपाल टेलिकमको तारमा पनि क्षति गरेको छ । उक्त क्षतिबारे प्रहरीलाई जानकारी गराई अहिले टावर रहेको क्षेत्रमा प्रहरी गएको उनले जानकारी दिए ।

टेलिकमको टावरको कन्ट्रोल रुममा बैंक प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री र सोलारपातामा तोडफोड गरिएको कृषि विकास बैंक गाजरी शाखाका प्रबन्धक सुदीप चन्दले जानकारी दिए । सोलारको माध्यमबाट चल्ने गरेको उक्त टावरमा बैंक प्रयोजनको लागि छुट्टै पावर सप्लाईका लागि बैंकको तर्फबाट राखिएका छुट्टै ब्याट्री र सोलारमा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुर्‍याएको उनको भनाई छ ।

टावरमा राखिएको कृषि विकास बैंकको सर्भर उपकरण समेत तोडफोड गरिएको छ । भदौ १५ गतेबाट बैंकमा इन्टरनेट नचलेपछि बैंकका कर्मचारी टावर हेर्न जादा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो । इन्टरनेट नचलेपछि गाजरीमा रहेको कृषि विकास बैंकले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना टास्नु परेको बैकले जनाएको छ ।

टावर क्षति भएको बारेमा बुधबार बिहान जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । टावरमा तोडफोड गर्ने व्यक्ति वा समूहलाई खोजिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ १३:३५
x
×