कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

सर्पका असल साथी

भाद्र १८, २०८१
सर्पका असल साथी

Highlights

  • १२ सयभन्दा बढी सर्पको उद्धार गरेका यमबहादुर

कञ्चनपुर — स्कुल पढ्ने बेलामै सर्प समाउने र खेलाउने उनको बानी थियो । न हातमा पन्जा, न सुरक्षाका कुनै अन्य उपाय । रिस उठेमा सर्पलाई समातेर भुइँमा पछारेर मारिदिन्थे । कसैको घरभित्र सर्प देखिए गाउँले उनलाई नै बोलाउँथे । ९/१० कक्षामा पढ्दासम्म त यिनले गाउँमा धेरैका घरभित्रबाट सर्प थुतेर मारे । कोहलपुर नगरपालिका–३ बाँकेका उनै ३२ वर्षीय यमबहादुर रावत अहिले भने सर्पका असल साथी बनेका छन् ।

एसएलसी उत्तीर्ण गरेपछि जब उनी वन विज्ञानमा अध्ययन गर्न थाले, त्यसपछि मात्रै यमबहादुर सर्प संरक्षण तथा उद्धारमा लाग्न उत्प्रेरित भए । त्यसपछि नै उनले सुरक्षित तरिकाले उद्धारका लागि हुक, हुप ब्याग, चिम्टा, ग्लोब्स र चस्मा लगायतका रक्षात्मक सामग्रीको आवश्यक पर्ने थाहा पाए ।

वन विज्ञानबाट स्नातकसम्म अध्ययन गरेका उनी अहिले सर्प उद्धारमा मात्रै खटिएका छैनन्, सर्प उद्धारका लागि आवश्यक तालिम दिन विभिन्न ठाउँमा समेत पुगिरहेका छन् । २०७२ सालदेखि करिब ६ वर्षसम्म बाँके राष्ट्रिय निकुञ्जमा रेञ्जर पदमा कार्यरत रहँदा यमबहादुरले १२ सयभन्दा बढी सर्पको उद्धार गरिसकेको दाबी गर्छन् ।

‘सानोमा धेरै सर्प मारें, त्यतिबेला संरक्षण गर्नुपर्छ भन्ने कुनै जानकारी थिएन,’ उनले भने, ‘जब फरेस्ट्री अध्ययन गरें, अनि पढाइसँगै अग्रजबाट पनि सर्पको संरक्षण र उद्धारबारे थाहा पाएँ ।’ सानोमा सर्प समातेको र मारेकामा अहिले पछुतो लाग्ने गरेको उनी बताउँछन् । एकातर्फ आफ्नै ज्यानको जोखिम, अर्कोतर्फ सर्प मार्न नहुने भन्ने थाहा पाएपछि पछुतो लाग्ने गरेको रहेछ ।

अध्ययनकै क्रममा सर्प संरक्षणमा रुचि बढेपछि उनले स्नातक तहको थेसिस पनि बाँके राष्ट्रिय निकुञ्जमा अजिंगरको अवस्थाबारे अध्ययन गरेका थिए । अध्ययनकै क्रममा पनि डेढ सयजति अजिंगरको उद्धार गरेका उनी त्यही बेलै जिल्ला वन कार्यालय बाँकेमा फरेस्टर थिए । अध्ययन र काम सँगसँगै भएकाले पनि आफूलाई सर्प उद्धारमा सहज भएको उनले बताए ।

यमबहादुरलाई सर्पबारे राम्ररी चिन्ने र उद्धार गर्ने थलो बन्यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज । उनले निकुञ्जमा रातो सर्प (कोरल स्नेक) को पनि उद्धार गरे । निकुञ्ज नजिकै रहेको रानाथारू सामुदायिक होमस्टे र दक्षिणी क्षेत्रमा रहेको बेलडाँडीबाट बेलौरी जाने बाटोमा गरी दुई स्थानबाट रातो सर्पको उद्धार गरेका थिए । ‘त्यही बेला सर्पले डस्यो कि भनेर मनमनै डराएर एक रात अस्पताल पनि बसें,’ सर्प उद्धारका क्रममा भोगेको जोखिमबारे उनले भने, ‘धन्न डसेको रहेनछ ।’ रातो सर्प नेपालमा निकै कम संख्यामा पाइन्छ । उनका अनुसार हालसम्म चितवन राष्ट्रिय निकुञ्ज, बाँके, बर्दिया र शुक्लाफाँटामा देखिएको छ । यसको आकार अन्य सर्पभन्दा सानो हुन्छ, यो विषालु सर्प भने होइन ।

शुक्लाफाँटा निकुञ्ज छेउछाउ बसोबास गर्ने बासिन्दाले सर्पलाई पूजा गर्ने भएकाले उद्धारमा सजिलो भएको उनी बताउँछन् । ‘त्यस क्षेत्र आसपासका बासिन्दा सर्पलाई मार्दैनन्, नाग देउता मानेर पूजा गर्छन्, त्यही भएर धेरैको उद्धार गर्न सकियो,’ यमबहादुर भन्छन्, ‘उद्धार गर्दा मलाई पनि भेटीका रूपमा रुपैयाँ दिन्थे, सर्पलाई पनि जौ, तिलले पुजेर भेटी चढाउँथे ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै कार्यरत रहेका बेला उनले निकुञ्जभन्दा निकै टाढा भीमदत्त नगरपालिका–१० जिमुवाबाट १५ फिट लामो अजिंगरको उद्धार गरेका थिए । जुन उनले उद्धार गरेकामध्ये सबैभन्दा ठूलो थियो । उनले सर्प उद्धारकै क्रममा धेरै मानिसको ज्यान पनि जोगाएका रहेछन् ।

सर्प भन्नेबित्तिकै सबै विषालु हुँदैनन् । त्यसकारण सर्पले डसिहाले पनि धेरै आत्तिनु नपर्ने वा डराउन नहुने उनी सल्लाह दिन्छन् । तीन वर्षअघि शुक्लाफाँटामा उनले गरेको अध्ययनअनुसार ५६ प्रजातिका सरिसृपमध्ये १५ प्रजाति मात्रै विषालु भेटिएका थिए । जिल्ला वन कार्यालय बाँकेमै कार्यरत हुँदा उनले नेपालकै लागि नयाँ प्रजातिको माउसुलीसमेत भेट्टाएका थिए । काठ छपानका लागि जंगलमा गएका बेला २ वटा फरक खालका छेपारो देखेपछि उनले घरमा ल्याए, जुन नेपालकै लागि नयाँ प्रजाति रहेको थाहा पाए ।

यमबहादुर अहिले पनि सर्प उद्धारमा त्यत्तिकै खटिन्छन् । उद्धारसँगै यसबारे तालिम दिन पनि त्यत्तिकै दौडिन्छन् । पछिल्लो पटक धनगढी उपमहानगरपालिकाका नगर प्रहरीहरूलाई पनि सर्प उद्धारसम्बन्धी तालिम दिएका थिए । अहिले नगर प्रहरीले नगरका विभिन्न ठाउँबाट दिनहुँजसो सर्पको उद्धार गरिरहेका छन् । बाँके निकुञ्जमा गएपछि पनि उनले ७० भन्दा बढी सर्पको उद्धार गरेको बताए ।

प्रकाशित : भाद्र १८, २०८१ १५:३४
x
×