कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पुनःस्थापित भइनसक्दै बाढीले फेरि विस्थापित

भाद्र ३०, २०८१
पुनःस्थापित भइनसक्दै बाढीले फेरि विस्थापित

कञ्चनपुर — गत असारको बाढीले घरमा क्षति पुर्‍याएपछि विस्थापित भएका दोधारा चाँदनी–३ पटेराखल्लाका बासिन्दा फेरि बिचल्लीमा परेका छन् । असारमा क्षति भएको घर मर्मत गरेर जेनतेन फर्किरहेका पटेराखल्लावासी राम्ररी पुनःस्थापित हुन पाउँदै शुक्रबार फेरि विस्थापित भएका हुन् । 

असार अन्तिम साताको भीषण वर्षासँगै जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि पटेराखल्लाका २७ परिवार विस्थापित भएका थिए । करिब एक महिनासम्म उनीहरू नजिकैको जमुना आधारभूत विद्यालयमा बसे । बाढीले भत्केका घर मर्मत गरेर र हिलो हटाएर उनीहरू घरमा बस्न थालेका थिए । पानी पर्दा भने फेरि उनीहरू विद्यालयमै बास बस्थे ।

शुक्रबार जोगबुडाको बाढी फेरि बस्ती पसेपछि दोधारा चाँदनी–३ पटेराखल्लाका सबै परिवार विस्थापित भएका हुन् । उनीहरू अहिले नजिकैको जमुना आधारभूत विद्यालयमा बसिरहेका छन् । ‘पटेराखल्लाका बासिन्दा फेरि विस्थापित भएका छन्, यो ठाउँ नै जोखिममा छ,’ वडा ३ का अध्यक्ष हरिसिंह धनाडीले भने, ‘यो बस्तीलाई सुरक्षित स्थानमा सार्ने विषयमा पनि छलफल भइरहेको छ ।’ उनका अनुसार असार अन्तिम साताको बाढीले खाद्यान्नसँगै लुगाकपडा र खेतीपाती सबै नोक्सान भएको थियो ।

पहिलेको बाढीले विस्थापन गरेको बेला बर्खे बिदा भएका कारण विद्यालय बन्द थियो । तर अहिले विद्यालय सञ्चालनमा भएका कारण लामो समयसम्म त्यहाँ आश्रय लिन सक्ने अवस्था छैन । पटेराखल्लासँगै जिल्लाका अन्य स्थानमा पनि ठूलो संख्यामा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबारको बाढीले जिल्लाभर ३ सय ७ परिवार विस्थापित भएका छन् । दोधारा चाँदनी–१० कुतियाकभर, शान्तिटोल, निशानी टोल र वडा–८ को सुन्दरनगर बस्ती डुबानमा परेका थिए । उक्त क्षेत्रमा एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

भुजेला खोला बस्तीमा पस्दा भीमदत्त नगरपालिका–११, १२ र १३ का ५० परिवार विस्थापित भएका छन् । बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा पनि विस्थापित अझै घर फर्किन नसकेको जिल्ला प्रहरीका प्रहरी निरिक्षक ईश्वर थापाले बताए । वर्षा रोकिएसँगै महाकालीलगायत अन्य नदीको बहाव घटेको छ । तर अझै पनि बस्तीको डुबान कम भइसकेको छैन । प्रहरीका अनुसार शुक्रबार ४ लाख ६१ हजार क्युसेक पुगेको महाकालीको बहाव शनिबार २ लाखमा झरेको छ ।

महाकाली नदीमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बगेका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीका दुई किशोर दाउरा निकाल्ने क्रममा शनिबार महाकालीमा पसेका थिए । उनीहरूमध्ये १८ वर्षीय सौरभ दमाईको शव भेटिएको प्रहरी निरीक्षक ईश्वर थापाले बताए । उनका अनुसार बेपत्ता रहेका १५ वर्षीय अभि दमाईको खोजी भइरहेको छ । नदीछेउका बासिन्दा बर्खामा नदी बढेका बेला दाउरा संकलन गर्छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ ०६:००
×