कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

कुसंस्कार र पारिवारिक बन्धनले छात्राको पढाइ प्रभावित

भाद्र ९, २०८१
कुसंस्कार र पारिवारिक बन्धनले छात्राको पढाइ प्रभावित

अछाम — पञ्चदेवल विनायक नगरपालिका-१ कुइकास्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएको समयमा न छात्रा स्कुल जान्छन् न शिक्षिकानै । महिनावारी भएको समयमा ५ दिन शिक्षिका र छात्रा विद्यालय अनुपस्थित हुने गरेको बारे बालिकाहरु नै विरुद्धमा बोले पनि गाउँका कसैको साथ नपाएको बताउँछन् ।

गाउँभरिका मान्छेले मान्ने सबैभन्दा ठूलो देउताको मन्दिर विद्यालय क्षेत्रमा भएकाले महिनावारीको समयमा विद्यालय जान बन्देज गरिएको पञ्चदेवल विनायक–१ की १६ वर्षीया रिता ढकालले बताइन् ।

‘म पनि ५ कक्षासम्म यही स्कुलमा पढेकी हुँ । हाम्रो पढाइ नै छुट्ने भएपछि पटक-पटक वडाअध्यक्षलाई पनि यो विषयमा सहजीकरण गरिदिन भन्यौं । उहाँले पनि चाँसो देखाउनु भएन,’ उनले भनिन्, ‘गाउँमा सबैले मानिरहेकै कुरा हो । हामीले तोड्न मिल्दैन भनेर वडाअध्यक्षले भन्नुभयो । उहाँले पनि महिनावारी भएको समयमा यो स्कुलमा गए देउता लाग्छ भन्नेमा विश्वास गर्नुहुन्छ ।’

पञ्चदेवल विनायक–२ की १३ वर्षीया धुर्वा अधिकारी विद्यामन्दिर मावि विनायकमा कक्षा ९ मा पढ्छिन् । विद्यालय गएको बेला महिनावारी भएपछि उनी त्यहाँ बसेर पढ्न सक्दिनन् ।

‘स्कुलबाट प्याड दिन्छन् । तर प्रयोग गरेपछि फाल्ने ठाउँ छैन । कहाँ कसरी फाल्ने भन्ने धेरै तनाव हुन्छ,’ उनले भनिन्,‘खुला ठाउँमा प्याड फाल्ने बनाइएको छ । सहज रुपमा त्यता फाल्न सकिँदैन ।’ महिनावारी भएको समयमा छात्राहरुले भोग्नु परेका समस्याको बारेमा धेरै पटक जानकारी गराउँदा पनि समाधान नभएको बाल क्लबमा आबद्ध भएकी धुर्वाले बताइन् ।

‘बालक्लबमा जोडिएका छात्राहरु धेरै पटक यस्ता विषयमा बोल्ने गरेका छौं । तर हाम्रा कुराको सुनुवाइ हुदैँन,’ उनले भनिन्,‘महिनावारीका कुरा, यौन तथा प्रजनन् स्वास्थ्य जस्ता विषयमा हामी अन्य ठाउँमा तालिम लिएर बुझ्छौं । तर स्कुलमा यी विषयको बारेमा सामान्य जानकारी पनि दिइदैन ।’

महिनावारीको समयमा पढाइ प्रभावित हुने गरेको उनले बताइन् । ‘एक महिनामा पाँच दिन विद्यालयमा प्याड चेन्ज गर्ने, कहाँ फाल्ने, पेट दुखे के गर्ने भन्ने तनावमा बित्छ,’ उनले भनिन्,‘पढाइमा ध्यान नै जान सक्दैन । कति पढाइ त छुटिरहेको हुन्छ ।’

महिनावारीको समयमा गोठमा बस्नु पर्ने कारणले पनि पढाइबाट बञ्चित हुन परेको पञ्चदेवल विनायक–३ की हरिकला अधिकारीले बताइन् । ‘पहिले छाउगोठ भत्काउने अभियान सुरु भयो । त्योबेला घरमा बस्नुको सट्टा त्रिपाल टाँगेर बस्नु पर्‍यो,’ उनले भनिन्,‘गोठ भत्काउने अभियान रोकियो । फेरि ती छाउगोठ बने । यसको मारमा हामी नै पर्‍यौँ ।’

रातभरि गोठमा बस्नु पर्ने, दिनभरि विद्यालयमा पनि वातावरण अनुकुल नभएकाले छात्राहरुको पढाइ प्रभावित हुने गरेको हरिकला बताउँछिन् । ‘रातभर गोठमा बसेर पढ्न जाने छात्रा मानसिक रुपमा पनि कमजोर हुन्छ,’ उनले भनिन् ।

छात्र जस्तै छात्रा पढाइमा अब्बल हुन नसक्नुको कारण घरको वातावरण रहेको कमलबजार नगरपालिका–६ विरपथमा रहेको कालिका माविमा कक्षा १० मा अध्ययनरत छात्रा सरिता नेपालीले बताइन् ।

‘बाहिरबाट हेर्दा सामान्य कारण देखिन्छन् । तर हरेक दिन घरबाट पारिवारिक यातना बुवाले मदिरा सेवन गरेर छोरीमाथि हातपात गर्ने घटनाहरु पनि हाम्र्रै वरपर छन्,’ उनले भनिन्,‘घरभित्रको तनाव सहन नसकेर हामीसँगै पढ्ने एक जना साथीले अघिल्लो वर्षनै बिहे गरिन् । त्यसपछि उनको स्कुल पनि छुट्यो । अहिले उनको बहिनी पनि यस्तै तनाव झेलिरहेकी छन् ।’ छोरीहरुको पढाइ र भविष्यको लागि अभिभावकले चासो नलिनु, घर र विद्यालयको वातावरण जस्ता कारणले पढाइ प्रभावित हुने गरेको उनले बताइन् ।

मेलापात, घाँसदाउरा, पानी पँधेरो, खेतबारीको काम सकेपछि मात्रै विद्यालय जान पाउँछिन् ढकारी गाउँपािलका–१ की राधिका रिमाल । कालिका मावि हिच्मामा कक्षा १२ मा अध्ययन गर्ने राधिका विद्यालयमा सधैं नियमित हुन सक्दिनन् । ‘गाइवस्तु, घाँस दाउरा, पानी पँधेरो, खेतबारीको काम सकेपछि मात्रै विद्यालय जान पाउछु । यती काम समयमै नभ्याएको दिन त स्कुल छुट्छ,’ उनले भनिन् ‘केही वर्ष पहिले छोरीलाई विद्यालय पठाउने, लेखपढ गर्न नदिने चलन थियो भने अहिले विद्यालय पठाउनुपर्छ भन्ने मानसिकता सबैमा बढेको छ । तर औपचारिकतामा मात्रै सिमित छ ।’ उनका अनुसार अझै पनि छोरीलाई आफ्नो अधिकार के के हो भन्ने थाहा छैन । चेतना फैलिएसँगै छोरीलाई विद्यालयमा पठाउने गरे पनि नियमित नपठाउने हुनाले साक्षर मात्र बन्ने गरेका छन् ।

ढकारी–३ की कल्पना शाही बिहानै उठेर घाँसदाउरा ल्याएपछि मात्र स्कुल जान पाउँछिन् । सानै उमेरमा उनले पाएको पारिवारिक जिम्मेवारी हो यो । आफू छोरी भएकाले सबै काम आफैँले गर्नुपर्ने मात्र उनले बुझेकी छन् । ‘दाइ काठमाडौँमा पढ्छन् । घरमा आमालाइ सघाउनु पर्छ । बिहान घाँसदाउरा ल्याएपछि मात्रै मैले स्कुल जान पाउँछु’, उनले भनिन्,‘म जस्ता धेरै साथी बिहानभरी घरको काम गरेर मात्रै स्कुल जान पाएका छौँ ।’

कालिका मावि हिच्मामा ८ मा पढ्ने कल्पनाको पढाई सामान्य छ । उनी औसत विद्यार्थीका रुपमा ८ कक्षामा पुगिन् । आफु पढ्ने स्कुलमा प्रथम, द्धितिय, तृतीय सबै केटाहरुमात्र हुने गरेको उनले बताइन् । ‘७४ जना विद्यार्थी छौं । २५ जना मात्रै केटा छन् । तर पढाइ राम्रो केटाहरुकै छ । हामी नियमित स्कुल आउनै पाउदैनौं ।’

उनका अनुसार गाउँमा केटाहरुको संख्या कम भने छैन । आर्थिक अवस्था राम्रो भएका परिवारका छोरा सदरमुकाम मंगलसेन, धनगढी काठमाडौं, नेपालगन्जलगायतका सहरमा पढ्छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका छोराहरु बीचमै पढाइ छोडेर कामको खाजीमा भारत गएका छन् ।

सोही ठाउँकी मैना साउद अहिले भुवनेश्वरी आधारभूत विद्यालयमा ५ कक्षामा पढ्छिन् । कक्षामा सबैले उनलाई दिदी भन्छन् । पढाइ पनि उनको समान्य छ । आफूभन्दा ३ वर्ष कान्छो भाइ सोही स्कुलको ७ कक्षामा पढ्छन् । भाइ ७ कक्षामा पढ्ने, दिदी ५ कक्षामा पढ्ने भनेर साथीहरुले जिस्काउँदा चित्त दुख्छ । तर पनि घरमा आफ्ले पाएको जिम्मेवारी पूरा गरेर सकेसम्म विद्यालय जान्छिन् ।

‘भाइलाई समयमै स्कुल पठाए । उतिखेर म पनि जान्छु भन्दा बुवा, आमा सबैले तिमी छोरी मान्छे स्कुल जानु पर्दैन भने,’ उनले सुनाइन्, ‘गाउँमा विद्यालय भर्ना अभियान सुरु भएपछि २ वर्ष अगाडि मलाई सिधै ३ कक्षामा भर्ना गरिएको हो ।’ उनले तीन कक्षामै पुगेर अक्षर चिनेकी हुन् । ‘मैले ३ कक्षामा क, ख सिकेकी हुँ । छोरी भएकै कारण समयमा स्कुल जान पाइएन,’ उनले पीडा सुनाइन्, ‘घरको काम छोरीले गर्नैपर्छ । अझै पनि सबै घरको काम सकेर मात्र स्कुल आउँछु ।’

शिक्षा तथा मानव विकास स्रोत केन्द्रको प्रतिवेदन २०८० अनुसार सुदूरपश्चिम प्रदेशमा कक्षा ९ देखि १२ सम्म भर्ना भएका १ लाख ८९ हजार ८ सय ९५ जना जम्मा विद्यार्थी रहेका छन् । यसमा ९७ हजार २ सय ५ छात्रा मध्ये एक वर्षमा ९ देखि १० का २.४ प्रतिशत र ११ देखि १२ कक्षाका १.१ प्रतिशत छात्राले पढाइ छोड्ने गरेका छन् ।

पुनः कक्षा दोहोरिनेमा ९ र १० का २.५ र ११ र १२ का ५.३ प्रतिशत छात्रा रहेका छन् । गरिबी, अशिक्षा, अन्धविश्वास र छोरीलाई धेरै पढाउनु नहुने गलत सोचका कारण धेरै छात्राहरुले पढाइबाट बञ्चित हुनुपरेको मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत रावलले बताए । ‘छात्राहरुको पढाइ प्रभावित मात्रै कमजोर पनि देखिन्छ । यसका लागि स्थानीय तहले ठोस योजना नल्याएसम्म अवस्थामा सुधार हुन गाह्रो देखिन्छ ।’

प्रकाशित : भाद्र ९, २०८१ १९:५३
x
×