कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

साँफेबगर विमानस्थल पाँच महिनादेखि बन्द

भाद्र ७, २०८१
साँफेबगर विमानस्थल पाँच महिनादेखि बन्द

अछाम — साँफेबगर विमानस्थल ५ महिनादेखि पूर्णरुपमा बन्द छ । २०७५ जेठमा परीक्षण उडान सफल भएर केही समय नियमित रुपमा चलेको विमानस्थल फेरि बन्द भएको हो । चैतको अन्तिम साता समीट एयरको अन्तिम उडान भएपछि ५ महिनादेखि एयरपोर्ट पूर्णरुपमा बन्द छ ।

समीट एयरलाइन्सले ठेक्का प्रक्रियामा गएर करिब ५ वर्षदेखि साँफेबगर-धनगढी र साँफेबगर-नेपालगंज उडान गरिरहेको थियो । तर चैतबाट पहिले ठेक्का लिएर चलाएकोले छोडेपछि अर्को ठेक्का लिन मान्छे नभेटिएकाले नियमित उडान हुन नसकेको समीट एयरलाइन्स साँफेबगरका सम्पर्क व्यक्ति विजय कुवँरले बताए ।

‘समीट एयरले चार्टर फ्लाइटबाट उडान गरिरहेको थियो । कुनै व्यक्तिले ठेक्कामा लिने र उसैले उडाउने गरेर यहाँ चलिरहेको थियो,’ उनले भने , ‘अहिले ठेक्का लिने व्यक्ति नपाएकाले रोकिएको छ । ’ समीट एयरलाइन्सले साँफेबगरदेखि धनगढीसम्मको १७ मिनेटको हवाइ दुरीमा प्रति व्यक्तिबाट ५ हजार भाडा लिने गरेको थियो ।

नेपाल एयरलाइन्सले साँफेबगरमा कार्यालय स्थापना गरेर केही समय धनगढी र नेपालगञ्जसम्म हवाइसेवा दिए पनि नियमित हुन सकेन । अहिले साँफेबगरमा रहेको नेपाल एयरलायन्सले कार्यालय नै उठाइसकेको छ । नेपाल एयरलायन्स र समीट यएरलाइन्स गरी दुई वटा संचालन भएका बेला यात्रुले पनि सस्तोमा यात्रा गर्न पाएको साँफेबगरका स्थानीय डण्डी भट्टले बताए ।

'समीट एयर र नेपाल एयरलाइन्स दुवै चलिरहेको बेला साँफेबगरदेखि धनगढीसम्म भाडादर पनि घटेको थियो । समीट यएरले धनगढीसम्म ३५ सय ५० भाडा कायम गर्‍यो । त्यही समयमा नेपाल एयरलाइन्सले २८ सय ५० भाडा कायम गरेको थियो,' उनले भने ,‘त्यो बेला यात्रुहरुलाई सहज पनि भएको थियो । दुई एयरलाइन्सको प्रतिस्पर्धा नै देखिन्थ्यो । त्यसपछि समीट एक्लैले उडान गर्न थालेपछि भाडा पाँच हजार पुग्यो ।’

साँफेबगरबाट समीट एयरले यसअघि उडान गरे पनि सर्वसाधारणले टिकट पाउन नसकेको मंगलसेन –५ का स्थानीय प्रेम भाटले बताए । ‘समीट यएरलाइन्सबाट सर्वसाधारणले यात्रा गर्न पाउने कुरा सपना जस्तै हो । केही निश्चित व्यक्तिहरुको आफ्नो कब्जामा लिएका थिए, अहिले त त्यही पनि बन्द भएको छ,' उनले भने ,‘टिकट पाउनका लागि ठूलाबडाको पावर लगाउनु पर्ने, नेताको मान्छे हुनुपर्ने अवस्था थियो ।'

दुर्गमका सर्वसाधारणको लागि नेपाल एयरलाइन्सले उडान गर्नु पर्ने र टिकट लिनका लागि खुला गर्नु पर्ने उनले बताए । ‘ध्वस्त भएको एयरपोर्ट त्यत्रो खर्च भएर बनाएको छ । जनताले सेवा पाउँदैनन् । सरकारी जहाज आउँदैन । जिल्लामा एयरपोर्ट छ भनेर मात्रै हुँदैन,' उनले भने ।

साँफेबगर विमानस्थलबाट नेपाल यएरलाइन्सको जहाज नियमित उडान गराउनका लागि विभिन्न निकायमा धाएपनि कसैले वास्ता नगरेको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुवँरले बताए । ‘समीट यएरलाइन्सले उडान भरिरहेको थियो । अहिले त्यो पनि बन्द छ । निजी क्षेत्रले चलाउँदा महंगो पनि भयो । नेपाल एयरलाइन्सको जहाज उडाउनका लागि भनेर पटक-पटक पर्यटनमन्त्रीसँग पनि कुरा गरेका छौं,’ उनले भने ।

एयरपोर्ट पाँच महिनादेखि बन्द भएपनि नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना कर्मचारीले भने नियमित तलब खाइरहेका छन् । स्रोतका अनुसार एक जना कार्यालय सहयोगी तुलसी कुवर र प्रमुख कृष्ण शाहले एयरपोर्ट बन्द भएपनि तलब भने साँफेबगर विमानस्थलको कर्मचारीको रुपमा लिइरहेका छन् ।

‘कार्यालय प्रमुख कृष्ण शाह लामोसमयदेखि बिदामा बसेका छन् । सायद एयरपोर्टमा काम नभएपछि उहाँ बिदामा बस्नु भएको होला । एक जना कार्यालय सहयोगी कार्यालय खोल्नुहुन्छ,’ एक स्थानीयले भने, 'सरकारले एयरपोर्ट चलाउनलाई जहाज नपठाउने, कर्मचारीलाई बिना काम तलब दिइराख्ने व्यवस्था देख्दा पनि अचम्म लाग्छ ।’

०५८ फागुन ४ मा तत्कालीन नेकपा माओवादीले सदरमुकामसंगै साँफेबगरमा आक्रमणपछि विमानस्थलको टावर पूर्णरुपमा ध्वस्त हुँदा बन्द विमानस्थल बन्द थियो । उडान बन्द भएको १३ वर्षपछि २०७५ जेठ ११ गते साँफेबगर विमानस्थलमा समीट एयरले परीक्षण उडान गरेको थियो । अमर कन्ट्रक्सनले ११ करोड १७ लाखमा विमानस्थल कालोपत्रे गर्ने कामको जिम्मा पाएको थियो ।

त्यसभन्दा अघि साँफेबगर हवाइ मैदान खेलुकद सञ्चालन गर्ने मैदानमा परिणत भएको थियो ।

प्रकाशित : भाद्र ७, २०८१ १८:५८
x
×