कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त 

श्रावण २१, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त 

धनगढी — आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ । 

यसपटक अघिल्ला सरकारमा जस्तो भागबन्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भएन । सबै मन्त्रालय र अझ राज्यमन्त्रीसहित भागबन्डा मिलाएर आफूसँगै शपथ गराउन मुख्यमन्त्री शाह सफल भएका छन् ।

सुदूरपश्चिम यसपटक नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् । साझेदार दलहरुमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय भागबण्डा गरेका छन् । सबैको आकर्षण मानिने आर्थिक मामिला कांग्रेस र भौतिक पूर्वाधार मन्त्रालय एमालेले रोजेका छन् ।

नेपाली कांग्रेसले आर्थिक मामिला मन्त्रालयमा कञ्चनपुरका बहादुरसिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का नियुक्त गरेको छ भने कैलालीका प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र डडेलधुराकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा एमालेबाट बैतडीका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारीमा कञ्चनपुरका वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरकै हिरा सार्की नियुक्त भएका छन् ।

डोटीकी निर्मला साउँद भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी छिन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी कैलालीका हुन् ।

प्रकाशित : श्रावण २१, २०८१ १६:३८
×