कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

प्रदेश राजधानी जोड्ने सडक कालोपत्रमा ठेकेदारको लापरबाही

भाद्र २७, २०८१
प्रदेश राजधानी जोड्ने सडक कालोपत्रमा ठेकेदारको लापरबाही

Highlights

  •  ४ वर्षमा ४ किलोमिटर कालोपत्र

सल्यान — कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–जयतपानी–बालुवासंग्रही खण्ड अन्तर्गतको बाबियाचौरदेखि ढोरपिपलसम्मको सडक कालोपत्रको काममा ढिलासुस्ती भएको छ । विभिन्न कारण देखाउँदै ठेकेदारले लापरबाही गर्दा कालोपत्रमा ढिलाए भएको हो ।

कर्णाली प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत ढोरपिपलदेखि बाबियाचौरसम्म १३ किलोमिटर सडक कालोपत्रको लागि २०७७ मा २० करोड विनियोजन गरेको थियो ।

१८ करोड १८ लाख ३६ हजारमा योजनाको काम गर्ने जिम्मेवारी पाएको गाल्वा निर्माण सेवा धुलिखेलले २०७७ मंसिर २२ गते सम्झौता गरी निर्माणको काम सुरु गरेको थियो । कालोपत्रको काम २०७९ चैत २९ मा सक्नु पर्ने थियो । समयमै काम सम्पन्न गर्न नसक्दा पूर्वाधार विकास कार्यालय सल्यानले दुई पटक म्याद थप गरिसके पनि काम अहिलेसम्म सकिएको छैन ।

निर्माणको काम सुरु गरेको चार वर्ष बितिसक्दा पनि कम्पनीले अहिलेसम्म चार किलोमिटर मात्र सडक कालोपत्र गर्न भ्याएको छ । निर्माण कम्पनीकै लापरबाहीका कारण राजधानी वीरेन्द्रनगर जोड्ने सडकको काम समयमै सम्पन्न हुन नसकेको गाईदुवाका स्थानीय निर्मल बुढाले बताए ।

निर्माण कम्पनीले अहिले मजदुर परिचालन गरेर काम गर्दै आए पनि झारा टार्ने मात्र भएको उनले बताए । उनले भने, ‘समयमै काम सम्पन्न नहुँदा बर्षातको समयमा आउजाउ गर्न कठिनाई भएको छ । हिउँदमा धुलोले हैरान हुन्छ ।’

बन्गाडकुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले सडक कालोपत्रका लागि बारम्बार सम्बन्धित कार्यालय र ठेकेदारलाई आग्रह गर्दै आए पनि सबैले बेवास्ता गरिरहेका बताए । पर्याप्त मजदुर तथा निर्माण सामग्रीको अभावमा कालोपत्रको कामले तीब्रता लिन नसकेको उनले बताए ।

उनका अनुसार सदरमुकाम खलंगादेखि बाबियाचौरसम्म ३३ किलोमिटर सडक केही वर्षर्अघि सडक डिभिजन कार्यालय दाङद्वारा १८ किलोमिटर र पूर्वाधार विकास कार्यालय सल्यानले दुई किलोमिटर कालोपत्रको गरेको थियो । बाँकी १३ किलोमिटरमा गाल्वा निर्माण सेवा कम्पनी धुलिखेलले काम गरिरहेको छ तर काममा नियमितता छैन । नियमति काम गरेको भए दुई पटक म्याद थप गर्नु पर्दैनथ्यो ।

ठेकेदारकै लापरबाही र बेवास्ताले गर्दा २०७७ मंसिर २२ देखि सुरु गरेको योजना अहिलेसम्म सम्पन्न हुन नसकेको पूर्वाधार विकास कार्यालय सल्यानका ईन्जिनियर भरतकुमार शर्माले बताए । २०७९ मंसिरमा सकिनु पर्ने योजनाको दुई पटक म्याद थप गर्दा पनि ४ किलोमिटर कालोपत्र र ५ सय मिटर स्ल्याब ढलानको काम भएको उनले बताए ।

‘निर्माण कम्पनीले अझै ८ किलोमिटर कालोपत्र गर्न बाँकी छ । काम सम्पन्न गर्ने अबधि अब पुषसम्म मात्र छ । पुषभित्रै काम सक्ला जस्तो देखिदैन,’ उनले भने, ‘हामीले ताकेता गरिरहेका छौं ।’

ठेकेदार प्रमोद श्रेष्ठले कहिले निर्माण सामग्री अभाव, कहिले अन्य समस्याले काममा ढिलाई भएको र आफै नखटिई अरुलाई जिम्मा दिदा समयमा सम्पन्न गर्न नसकेको स्वीकारे छन् । तोकेको समयमा काम सम्पन्न गर्ने उद्देश्यका साथ अहिले कामलाई तीब्र रुपमा अगाडि बढाएको बताए ।

जिल्लाका पश्चिम क्षेत्रका स्थानीयलाई आउजाउमा सहज होस भन्दै कर्णाली प्रदेश राजधानी जोड्ने खलंगा–जयतपानी–बालुवासंग्रही सडक २०४२/०४३ प्रधानमन्त्री रहेका स्वर्गिय मरिचमान श्रेष्ठको पालामा जिल्लावासीले श्रमदान गरेर ट्रयाक खनेका थिए ।

बीचैमा लामो समय अलपत्र परेको सडक २०६४/०६५ मा एक करोड बढी खर्चेर विस्तार गरिएको थियो । बीचबीचमा तत्कालीन जिविसले बजेट बिनियोजन गरेर सडक मर्मत गर्दै आएको थियो । उक्त समयमा २०६५ देखि गाडी संचालनमा आएको थियो ।

प्रकाशित : भाद्र २७, २०८१ १८:२३
×