कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

साहसिक पर्यटनको सम्भावना खोज्न गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव

भाद्र १७, २०८१
साहसिक पर्यटनको सम्भावना खोज्न गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिकाले प्याराग्लाइडिङ महोत्सव गर्ने भएको छ । यही भदौ २५ देखि ३० गतेसम्म गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गर्न लागेको हो ।

जुम्लादेखि डोल्पा जोड्ने सडक छेउमै रहेको गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गरेर साहसिक पर्यटनको सम्भावना भएको क्षेत्रकारुपमा सन्देश फैलाउने प्रयास रहेको अध्यक्ष दानबहादुर बुढाले बताए ।

उनका अनुसार जुम्लादेखि डोल्पाको से-फोक्सुण्डो जाने आन्तरिक तथा बाहृय पर्यटकहरु गुठिचौर पाटन हुँदै जाने भएकाले पनि प्याराग्लाइडिङ उडान उपयुक्त हुने देखिएको छ । प्याराग्लाइडिङ उडानको लागि चालक र प्याराग्लाइड पोखरादेखि आउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा गुठिचौरलाई दर्ज गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।

यसअघि नौ वटा प्याराग्लाइडिङ उडाएर परीक्षण गरिसकिएको छ । चालकहरुका अनुसार गुठिचौर प्याराग्लाइडिङ उडानको लागि उपयुक्त क्षेत्र मानिएको छ ।

'यो महोत्सवले गुठिचौरमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडानको लागि लगानीकर्ताहरुको ध्यान खिच्ने अपेक्षा गरिएको छ,' सुचना अधिकारी प्रेमबहादुर शाहीले भने, ‘लगानीकर्ताहरु भेटिए भने निरन्तर व्यवसायिक उडानको सुरुवातको प्रयास हुनेछ ।'

आगामी वर्षदेखि प्याराग्लाइडिङ चालक उत्पादन गर्ने र पालिकाको आफ्नै प्याराग्लाइडिङ खरिद गर्नेबारे समेत छलफल भइरहेको उनले बताए । महोत्सव अवधिमा प्याराग्लाइडिङ चढ्न चाहनेहरुले पालिकाले तयार पारेको टिकट बुकिङ गर्नुपर्ने छ । पालिका भित्रलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ र बाहिरका आगन्तुकहरूलाई चार हजार रुपैयाँको टिकट दर निर्धारण गरिएको छ ।

दुई सय जनाले बुकिङ गरेको खण्डमा १० प्याराग्लाइडिङ बोलाउने तयारी भइरहेको सुचना अधिकारी शाहीले बताए । गुठिचौरको डाब र लाग्न डाँडादेखि प्याराग्लाइडिङ उडाउने रुट निश्चित गरिएको छ । प्याराग्लाइडिङ उडानको लागि नागरिक उड्ययन मन्त्रालयमा अनुमतिको लागि पत्र पठाइसकिएको छ ।

हवाइरुट नपर्ने भएकोले प्याराग्लाइडिङको लागि उपयुक्त क्षेत्र देखिएको गाउँपालिकाको दाबी छ । महोत्सव सफल बनाउन सुरक्षा निकाय, राजनीतिक संयन्त्रदेखि सबैसंग छलफल चलिरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । साथै सो अवसरमा भलिबल प्रतियोगिता र देउडा गीत प्रतियोगिता समेत आयोजना हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ १९:००
x
×