कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

सुर्खेत बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

भाद्र ९, २०८१
सुर्खेत बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

सुर्खेत — विगतमा भएका सहमति पालना नभएपछि सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।

सरोकार पक्षसँगको सहमतिविपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले आइतबार अवैधानिक तवरबाट व्यवस्थापन संकायका २ जनाको मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ । व्यवस्थापन संकायलाई मात्र करार गर्ने निर्णयलाई यथाशीघ्र रद्द गरी विभिन्न समयमा सरोकार पक्ष तथा आंशिक प्राध्यापक संघसँग भएको सहमति पालना गर्न आंशिक प्राध्यापकहरुको जोडदार माग छ ।

‘हामी कुनै आंशिक प्राध्यापकहरुलाई करार गर्नुहुन्न भन्दैनौं तर क्याम्पसमा लामो समयदेखि शिक्षाशास्त्र र व्यवस्थापन संकायमा प्राध्यापनरत आंशिक प्राध्यापक मध्येबाट आवश्यक भएका विषयहरुमा त्रिवि कार्यकारी र आंशिक प्राध्यापकहरुको बीच भएको सहमति अनुसार विज्ञापन गरी करार गर्नुपर्छ,’ पेसागत संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, नेपाल आंशिक प्राध्यापक संघ क्याम्पस एकाइ समितिले पनि विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमति उल्लंघन नगर्न क्याम्पस प्रमुखलाई चेतावनी दिएको छ । त्रिवि कार्यविधि विपरीतका उम्मेदवारहरुलाई विधि र प्रक्रिया पूरा नगरी क्याम्पस प्रमुखले एकलौटी गरेको भन्दै संघले आपत्ति जनाएको हो । संघका अध्यक्ष कृष्णराम रास्कोटी र सचिव रिदेश गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यदि क्याम्पस प्रमुख उक्त कदमबाट पछि नहटे त्यसबाट निम्तिने परिणामको जिम्मेवारी स्वयंले लिनुपर्ने हुन्छ ।’

प्रकाशित : भाद्र ९, २०८१ २०:५५
x
×