कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु

भाद्र २७, २०८१
खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु

जुम्ला — जिल्ला सदरमुकाम खलंगालाई व्यवस्थित, सुन्दर र पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर निर्माण सुरु भएको छ । करिडोर निर्माणको लागि रेखाकंन सुरु गरिएको छ ।

चन्दननाथ नगरपालिकाको आग्रहमा नापी कार्यालयका कर्मचारीले जुगाडखोलाको क्षेत्र छुट्याउन थालेका छन् । बिहीबार चन्दननाथ–५ मा रहेको खलंगाको खानेपानी उपभोक्ता समिति कार्यालय नजिकैदेखि रेखांकन सुरु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘खलंगा आफैमा धेरै पहिचानले परिचित भूगोल हो । पछिल्लो समयमा अव्यवस्थित बनिरहेकाले जुगाडखोला करिडोर बन्नेबित्तिकै पर्यटकीय सहरका रुपमा विकसित हुने छ,’ उनले भने ।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजनाअन्तर्गत २० करोड रुपैयाँको लागतमा करिडोर बन्न लागेको हो । जुगाडखोलालाई स्वच्छ र हराभरा बनाउने र खलंगालाई पर्यटकीय सहरका रुपमा स्थापित गर्ने हेतुले करिडोरको अवधारणा अघि बढाइएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत पहिलोपटक ६ करोड रुपैयाँ लागतको ठेक्का आह्वान भएर निर्माण अघि बढ्न लागेको हो । पहिलो वर्ष १२ सय मिटर सडक बनाउन रकम विनियोजन गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले पहिलो चरणमा चन्दननाथ–४ मालाभिड जाने पुल र रेडक्रस कार्यालयसम्म करिडोर निर्माण हुने बताए । करिडोरले अतिक्रमित जुगाडखोला पहिलेकै अवस्थामा फर्किने उनले बताए । ‘जुगाडखोलाको दायाँबायाँ दुई/दुई मिटर चौडा करिडोर निर्माण हुनेछ,’ नगरप्रमुख कठायतले भने, ‘खोलाको दुई मिटर दूरीभित्र पर्ने घरटहरा हटाउनु पर्ने छ । पहिलो चरणमा रेखाकंन गर्ने, सार्वजनिक क्षेत्रमा परेका घरटहरा हटाउन ताकेता गर्ने र अटेर गरे नगरप्रहरी र डोजर लगाएर भत्काइने छ ।’ करिडोरको लम्बाइ तीन किलोमिटर हुनेछ ।

अहिले जुगाडखोला फोहोर फाल्ने स्थान जस्तो बनेको छ । खोला अतिक्रमण गरेर घरटहरा बनिरहेका छन् । नगरप्रमुख कठायतले भने, ‘अबको केही वर्षमा जुगाडखोला आफ्नै आकारमा कञ्चन पानी बग्ने छ । वारिपारिको क्षेत्रमा पर्यटक खेल्ने, रमाउने र मर्निङ जान उपयुक्त हुने स्थान बन्नेछ ।’ तिला नदीदेखि नै करिडोर सुरु हुने भए पनि पहिलो चरणमा खेतीयोग्य जमिनमा प्रभावित नगर्ने नीति नगरपालिकाले लिइएको छ । करिडोर ‘टी’ आकारको हुनेछ । करिडोरमा सडक बत्ती, सिसी क्यामेरा, बीचमा आकर्षक पुलहरु र आरामदायी बेन्च राखिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । यहाँ पछिल्लो समयमा जनसंख्या वृद्धिसँगै खेतीयोग्य जमिन मासेर धमाधम क्रंक्रिटका घर ठडिने र व्यवसाय गर्ने नाममा खोला अतिक्रमण गरेर टहरा निर्माण भइरहेका छन् । ‘पहिले जुगाडखोलामा सफा पानी बग्थ्यो । खोलाका बीचबीचमा कुटानीपिसानी गर्ने घट्ट थिए । अहिले जुगाडखोला भेटिनेबित्तिकै नाक थुन्नुपर्ने अवस्था छ,’ नगर प्रमुख कठायतले, ‘करिडोर बनेपछि खोला र नगरको मुहार फेरिनेछ ।’

जुगाडखोला करिडोरको रेखांकन गर्दै । तस्बिर : डीबी/कान्तिपुर

प्रकाशित : भाद्र २७, २०८१ २१:१४
×