कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

धानमा काँडेदार खपटे किराको प्रकोप

श्रावण २३, २०८१
धानमा काँडेदार खपटे किराको प्रकोप

सल्यान — शारदा करिडोर आसपासमा रहेका खेतमा धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । शारदा नगरपालिकाका विभिन्न वडाका श्रीनगर, जोगदेखोला, रेसमज्युला, स्यालपानी, शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाको सीमानामा पर्ने चैबाङ्गज्युला, छत्रेस्वरी गाउँपालिका ४ दारिमज्युलाका किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको हो । 

किराको प्रकोपका कारण अहिले ५ सय बढी किसान प्रभावित भएका छन् । गत वर्ष काँडेदार खपटे किराले धानबालीमा ठूलो क्षति पुर्‍याएकाले यो वर्ष बाली सखाप हुने हो कि भनेर किसानहरु चिन्तित छन् ।

किसानले किरा नियन्त्रणका लागि सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् । शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाका किसानले सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको कृषि विकास कार्यालयका नि. प्रमुख यामबहादुर रानाले बताए । दुई पालिकाको धेरै स्थनामा किराको प्रकोप देखिएपनि अहिलेसम्म खासै क्षति भने नभएको उनले जानकारी गराए ।

उनका अनुसार खपटे किराको लार्भाले हरियो भाग खादा धानपातहरु सुक्दै जाने र बयस्क किराले धानको टुप्पा खाएर क्षति पुर्‍याउने गर्छ । अहिले कतै कतै मात्र धानको पातमा सेतो देखिएको छ । अन्य त्यस्तो समस्या देखिएको छैन । किराको प्रकोप नियन्त्रणका लागि कार्यालयले दुई पालिकाका प्रभावित ४० किसानलाई बिषादी उपलब्ध गराएको छ । किराको प्रकोप महामारीकै रुपमा नफैलिएकाले धान उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ ।

खेतमा लगाएको धानबालीका गत वर्षजस्तै किराको प्रकोप देखिएपछि क्षति पुर्‍याउन नपाओस् भनेर किरा नियन्त्रणका लागि पालिकाबाट केही किसानलाई विषादी उपलब्ध गराउनुका साथै विभिन्न सल्लाह दिएको शारदा नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश खड्काले बताए । काँडेदार खपटे किरा ह्वात्तै नबढेकाले बिषादी छरेमा नियन्त्रणमा आउने उनले जानकारी दिए ।

छत्रेस्वरी गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश भण्डारीले छत्रेस्वरीको लान्ती, दारिमज्युला र केही स्थानका झन्डै २० हेक्टर जग्गामा लगाएको धानमा किराको प्रकोप देखिएको बताए । काडेदार खपटे किराले हल्का क्षती पुर्‍याएको उनले बताए । उनका अनुसार किरा नियन्त्रणका लागि पालिकाले ४ सय किसानलाई बिषादी उपलब्ध गराएको छ ।

प्रकाशित : श्रावण २३, २०८१ १६:०४
×