कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

लुम्बिनी प्रदेशमा संविधान दिवस ३ दिन मनाइने

भाद्र ३०, २०८१
लुम्बिनी प्रदेशमा संविधान दिवस ३ दिन मनाइने

दाङ — लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई  असोज २, ३ र ४ गते  प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकले संविधान दिवसलाई नागरिक स्तरबाट भव्य रुपमा मनाउन आह्वान गरेको छ ।

असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने र प्रदेश सरकारी निकायका वेबसाइडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउनेबारेमा सूचनाहरु सार्वजनिक गर्ने निर्णय गरेको छ ।

संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयविज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसका लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गरिने भएको छ । आमनागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दीपावली गर्न पनि आह्वान गरिएको छ ।

असोज ३ गते संविधान दिवसको मूल समारोह आयोजना गरिनेछ । विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आमसञ्चारका माध्यमबाट गर्न आह्वान गरिएको छ । यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गरिने सरकारका प्रवक्ता दिनेश पन्थीले बताए ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:०३
x
×