कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य

भाद्र २९, २०८१
चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य

परासी — हुलाकी सडक निर्माणमा ढिलाई भएको भन्दै आमरण अनसनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन् ।

हुलाकी सडक निर्देशनालय , ठेकेदार पक्ष र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकालले काम तत्काल सुरु गर्ने र आवश्यक समन्वय गर्ने सहमतिपछि यादवले अनशन तोडेका हुन् । जिल्लाका स्थानीय तहका प्रमुख , जिल्ला समन्वय समिति लगाएत राजनीतिक दलका नेताका रोहबरमा भौतिकमन्त्री ढकालले अनशन तोडाएका थिए ।

रबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गर्नुभएको छ । उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनशन तोडाउनु भएको थियो ।

सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ ।

साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ । सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइनेछ ।

त्यसैगरी सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी-कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ । प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरुले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ ।

गाउँपालिका अध्यक्ष यादवले सडक निर्माणमा ढिलाई हुँदा स्थानीयले सास्ती भोग्नु परेको भन्दै भदौ २५ गतेदेखि रिले र भदौ २८ गतेदेखि आमरण अनशन बसेका थिए ।

प्रकाशित : भाद्र २९, २०८१ १०:१५
×