कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिक्षण अस्पताल कोहलपुरमा ‘क्यान्सर अस्पताल’को शिलान्यास

भाद्र २९, २०८१
शिक्षण अस्पताल कोहलपुरमा ‘क्यान्सर अस्पताल’को शिलान्यास

नेपालगन्ज — बाँकेको कोहपुर लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजले आफ्नो सेवा विस्तार गर्दै आइरहेको अस्पतालले शिक्षण अस्पताल कोहलपुरमा ‘क्यान्सर अस्पताल’ भवनको शिलान्यास गरेको छ ।

विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनताका लागि विशेषज्ञ स्वास्थ्य सेवासहित गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको यस कलेजले शुक्रबार एक विशेष कार्यक्रमका बीच शिक्षण अस्पताल कोहलपुरमा ‘क्यान्सर अस्पताल’ भवनको शिलान्यास र भूमि पूजन सम्पन्न गरेको हो ।

लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका अवसरहरू प्रदान गर्ने उद्देश्यले सन् १९९६ मा स्थापना भएको लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उप–निर्देशक श्यामकुमार शर्माका अनुसार यो क्यान्सर अस्पताल पश्चिम नेपालमा निजी क्षेत्रबाट सुरु गरिएको पहिलो अस्पताल हो, जसले यस क्षेत्रका क्यान्सरपीडित बिरामीलाई अत्याधुनिक सेवा उपलब्ध गराउनेछ ।

नेपालगन्ज मेडिकल कलेजले हाल एमबीबीएस, एमडी, एमएस, बीएस्सी नर्सिङलगायत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएकामा यसै शैक्षिक सत्रदेखि थप बीडीएस (दन्त चिकित्सा), बीएमएलटी (मेडिकल ल्याब टेक्नोलोजी) र बीएमआइटी (मेडिकल इमेजिङ टेक्नोलोजी) कोर्सहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसले क्षेत्रीय विद्यार्थीहरूलाई विभिन्न शैक्षिक अवसरहरू प्रदान गर्ने उद्देश्य राखेको शर्माले बताए ।

स्वास्थ्य सेवाको क्षेत्रमा थप सुधार र विस्तार गर्न, नेपालगन्ज मेडिकल कलेजले नेपालगन्ज अस्पतालमा मुटुरोगसम्बन्धी विशिष्ट सेवा, क्याथ ल्याब सेवा र इन्टरभेस्नल रेडियोलोजी सेवा आगामी महिनादेखि सुरु गर्ने योजना बनाएको छ ।

यसका साथै कोहलपुर अस्पतालमा ओन्कोलोजी विभाग स्थापना गरेर क्यान्सर उपचार सेवाको सुरुआत गरिने भएको छ । यसै अवसरमा क्यान्सर अस्पतालको भवन शिलान्यास गरिएको छ, जसले पश्चिम नेपालमा पहिलो पटक क्यान्सर उपचारको लागि सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य सुरु गरेको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बीएनले पश्चिम नेपालका जनताका लागि थप सेवा विस्तारका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : भाद्र २९, २०८१ १२:५२
×