कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुटवल स्वास्थ्य हब बन्छ : मुख्यमन्त्री आचार्य

भाद्र २९, २०८१
बुटवल स्वास्थ्य हब बन्छ : मुख्यमन्त्री आचार्य

देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक रुपमा समृद्ध सहर र स्वास्थ्य हब बनाउन लागिएको बताएका छन् । उनले १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।   

भदौ १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री आचार्यले भवनको संयुक्त शिलान्यास गरेपछि काम सुरु भएको छ । यो आयोजना लुम्बिनी प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ पनि हो । प्रदेश सरकारको ६ अर्ब १८ करोड लागतका देशकै ठूलो अस्पताल निर्माण हुन लागेको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको सम्मान एवं औषधि व्यवसायीहरुको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अस्पतालले पूर्णता पाएर सञ्चालन भएपछि औषधि व्यवसायी फस्टाउने र होटलदेखि कृषकसहित सबै क्षेत्रमा आर्थिक कारोबार फस्टाउने उनले बताए । ‘अस्पताल सञ्चालनपछि धेरै चहलपहल र आर्थिक कारोबार बढ्छ,’ उनले भने, ‘बुटवलमा उद्योग, कलकारखानालगायत थुप्रै बिजनेसले गर्दा भविष्यमा राम्रो आर्थिक हब नै बन्छ । प्रदेश सरकारले बुटवललाई आर्थिक रुपमा समृद्ध र स्वास्थ्य हब बनाउन विशेष प्राथमिकतामा राखेको छ ।’

आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताए । सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्दै निजी क्षेत्रका अस्पताललाई समेत कानुनी दायराभित्र ल्याएर सेवा प्रवाहलाई चुस्त बनाइने उनले बताए ।

मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको बताउँदै औषधि व्यवसायको नाममा हुने लागू औषधको कारोबार र औषधि विभागले स्वीकृति नदिएका औषधि बिक्री वितरणमा कडाई गरिने बताए ।

प्रकाशित : भाद्र २९, २०८१ १७:४४
×